फ्रेडरिक एंगेल्सको मृत्युबारे लेख्दै लेनिनले उनलाई ‘तर्कको उत्कृष्ट मशाल र उत्पीडितहरूका लागि अतुलनीय हृदय’ भनेर वर्णन गरेका छन् । आज उनको मृत्युको १२६ वर्ष बितिसक्दा पनि उनको विचार मशालको रुपमा बलिरहेको छ ।

एंगेल्सको जन्म २८ नोभेम्बर १८२० मा आजको ‘युपरटाल’ जर्मनीको ‘तत्कालीन प्रसिया’ मा भएको थियो । विद्यार्थी जीवनदेखि नै उनले राजनीतिक गतिविधिमा भाग लिन थाले । माक्र्सजस्तै एंगेल्स पनि शुरुमा तत्कालीन ‘लेफ्ट हेगेलियन समूह’का सदस्य थिए । यस अवधिमा एंगेल्सले माक्र्सद्वारा सम्पादन गरिने अखबार ‘रेनिस्चे जेइतुङ’ मा धेरै लेख लेखे । तर, त्यो समय एंगेल्सले माक्र्सलाई भेटेका थिएनन् ।

एक सम्पन्न मध्यमवर्गीय परिवारमा जन्मेका एंगेल्सका बुबा मिल मालिक थिए । स्पष्टतः उनले एंगेल्सको राजनीतिक गतिविधिलाई पटक्कै मन पराएनन् । अन्तत, आफ्नो बुबाको दबाबमा, सन् १८४२ मा एङ्गेल्स म्यानचेस्टर बेलायतमा सरे, जहाँ उनले आफ्नो बुबाको सह–स्वामित्वको रुपमा कारखानाको व्यवस्थापन गर्न थाले । यहाँ उनको कारखानामा काम गर्ने आयरिश मजदुर मेरी बन्र्ससँग भेट भयो । त्यो मित्रता चाँडै प्रेममा परिणत भयो । तर, उनीहरुले औपचारिक रुपमा बिहे गरेनन् । दुवैले विवाहको पुँजीवादी संस्थालाई विश्वास गरेनन् । विवाहको औपचारिक बन्धनमा बाँधिएका कारण माक्र्सले एंगेल्स र मेरीको सम्बन्धको महत्व बुझेका थिएनन् । त्यसैले सन् १८६३ मा मेरी बन्र्सको मृत्युको जानकारी पाएपछि पनि माक्र्सले एंगेल्सलाई लेखेको पत्रमा यसबारे केही लेखेनन् । यसले एंगेल्सलाई दुःखी बनायो । यद्यपि, माक्र्सले पछि यो बुझे र एंगेल्ससँग माफी मागे ।

एंगेल्सको जीवनमा मेरी बन्र्सको निर्णायक प्रभाव थियो । मेरी बन्र्स राजनीतिक रूपमा सचेत महिला र मजदुर ‘चार्टिस्ट आन्दोलन’की कार्यकर्ता थिइन् । मेरी बन्र्सले एंगेल्सलाई चार्टिस्ट आन्दोलनका नेताहरूसँग परिचय गराएकी थिइन् । यसपछि एंगेल्सले चार्टिस्ट आन्दोलनको ‘नर्दन स्टार’ पत्रिकाका लागि निरन्तर लेख्न थाले । मेरी बन्र्सले एंगेल्सलाई त्यहाँका मजदुरहरूको फोहोर र साँघुरो बस्ती अनि तिनीहरूको दैनिक संघर्षसँग परिचित गराएकी थिइन् । यो पक्षलाई राउल पेकको चर्चित फिल्म ‘द योंग कार्ल माक्र्स’ मा निकै राम्रोसँग देखाइएको छ । मेरी बन्र्सले एंगेल्सलाई मजदुर बस्तीमा धेरै पटक कुटपिट हुनबाट पनि बचाइन् । किनभने मजदुरहरूले सुरुमा एंगेल्सलाई शंका गरे कि यी मान्छे मजदुरहरूमा केही स्वार्थका कारण मात्र बस्तीमा आएका हुन् । वास्तवमा, एंगेल्सको उत्कृष्ट कृति ‘द कन्डिसन अफ द वर्किंग क्लास इन इङ्गल्याण्ड’ सन् १८४४ मा लेखिएको थियो, एंगेल्सको यही प्रत्यक्ष अनुभवमा आधारित थियो र यो अनुभव प्रस्तुत गर्ने श्रेय मेरी बन्र्सलाई जान्छ । मेरी बन्र्ससँगै एंगेल्स आयरल्याण्ड गए । यस भ्रमणले आयरिश राष्ट्रियताको प्रश्नलाई बुझ्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

सन् १८४२ मा माक्र्ससँग एंगेल्सको छोटो भेट भयो । तर सन् १८४४ मा दुवै जना पेरिसमा (१० दिनसम्म माक्र्स यहाँ निर्वासनमा बसिरहेका थिए) सँगै बसे र दिनरातको छलफलपछि दुवै जना बलियो वैचारिक एकताको आधारमा उभिए, जसलाई आज हामी माक्र्सवाद भनेर चिन्छौँ । प्रसिद्ध जर्मन समाजवादी फ्रान्ज मेहरिङ फ्रान्ज मेहरिङेले लेखेका छन् कि एंगेल्सको विनम्रताको बावजुद, यो सत्य हो कि एंगेल्सले नै माक्र्सलाई अर्थशास्त्रका धेरै महत्वपूर्ण पक्षहरूको परिचय गराए ।

तसर्थ, संसारले सर्वहारा वर्गका लागि माक्र्स र एंगेल्सलाई संसारको कमाण्डर र मार्गदर्शकको रूपमा भेट्टायो ।

एंगेल्सले माक्र्ससँग मिलेर पहिलो पटक ‘होली फैमिली’ पुस्तक सन् १८४५ मा लेखे । तर अर्को महत्वपूर्ण पुस्तक सन् १८४६ मा ‘जर्मन विचारधारा’ पुस्तक लेखे । यो पुस्तकबाट क्रान्तिकारी द्वन्द्वात्मक भौतिकवादी दर्शनले पहिलो पटक ‘जर्मन विचारधारा’ को व्यवस्थित रूप देख्यो । पुँजीवादमा सर्वहारा वर्ग पुँजीवादको झुठो चेतनाको बन्दी बन्छ । उनले सो जर्मन विचारधारामा यो उल्लेख गरे, “मान्छेको भौतिक स्थितिले उसको चेतनालाई निर्धारण गर्दछ, न कि उसको चेतनाले’ । यो पुस्तकले त्यो बेलाको व्याप्त आदर्शवादी कुहिरोलाई हटाउने काम गर्यो । ‘परिस्थितिले मान्छेलाई बनाउँछ र बदलामा मान्छेले पनि परिस्थिति सिजर्ना गर्छ ।’ यो सान्दार द्वन्द्वात्मक सिद्धान्त यस पुस्तकमा उल्लेख गरिएको छ । एङ्गेल्सले घोषणा गरे कि ‘मुक्ति कुनैं मानसिक कार्य होइन बरु एक ऐतिहासिक कार्य हो’ । तार चाखलाग्दो कुरा के छ भने यो पुस्तक प्रकाशित हुन रुसको अक्टोबर क्रान्तिपछि मात्र पर्खनु पर्यो । सन् १९३५ मा पहिलो पटक रूसमा प्रकाशित भएको थियो ।

सन् १८४६ मा माक्र्स–एंगेल्सले समान विचारधारा भएका मानिसहरूसँग एकता सिर्जना गर्न ‘कम्युनिस्ट पत्राचार समिति’ गठन गरे । सोही प्रक्रियामा ‘द लिग अफ द जस्ट’ हुँदै दुवैजना ‘कम्युनिष्ट लिग’मा सामेल भए । यसको तर्फबाट घोषणापत्र तयार गर्ने काम माक्र्स र एंगेल्सको काँधमा परेको थियो । यो घोषणापत्र फरअरी १८४८ मा प्रकाशित भएको थियो । ‘कम्युनिस्ट घोषणापत्र’मा संसारको सबैभन्दा सुन्दर र क्रान्तिकारी नारा ‘विश्वका मजदुर एक होऔं, मजदुरसँग हारे एउटा सिक्री छ, जिते सिंगो सारा संसार छ’ भन्ने आयो । ‘कम्युनिस्ट घोषणापत्र’ ले दर्शनलाई दार्शनिकहरुको टाउकोबाट हटाएर मजदुरहरुको बीचमा स्थापित गर्यो । उनीहरुले घोषणा गरे– ‘अहिलेसम्म दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, तर वास्तविक प्रश्न यसलाई बदल्नु हो’ । दर्शनको करिब २००० वर्षको इतिहासमा पहिलो पटक दुनियाँ बदल्ने प्रश्न दर्शनको केन्द्रीय प्रश्न बन्यो । मानव समाजको सम्पूर्ण इतिहास (त्यतिबेला आदिम साम्यवादबारे थाहाँ थिएन) ‘वर्गसंघर्षको इतिहास’ भनी लेखिएको थियो । भौतिक विज्ञानमा आइन्स्टाइनको E= mc2 जस्तै सामाजिक विज्ञानमा यो सूत्रीकरणको महत्व छ ।

एंगेल्स एक्लैले ‘कम्युनिस्ट घोषणापत्र’ को सह सिद्धान्तको रुपमा ‘साम्यवादको सिद्धान्त’ लेखेका थिए । एंगेल्सले साम्यवादको सिद्धान्तलाई एकदमै सरल तरिकामा व्याख्या गरे र पहिलो पटक हामीले भविष्यको वर्गविहीन समाजको स्पष्ट रूपरेखा पायौं । एंगेल्सले सर्वहारा वर्गलाई स्वतन्त्र वर्गको रूपमा मान्यता दिए र जहाँ मुक्तिको लागि वैज्ञानिक आधार प्रस्तुत गरे । यहाँ एंगेल्सले अर्को महत्वपूर्ण प्रस्ताव पनि दिएका थिए कि सम्पूर्ण समाजलाई मुक्त नगरी सर्वहारा वर्गले आफूलाई मुक्त गर्न सक्दैन ।

‘कम्युनिष्ट घोषणापत्र’ छाप्नेबित्तिकै युरोपभर सामन्तवाद र राजतन्त्रविरुद्ध क्रान्ति सुरु भयो, जो एक महत्वपूर्ण संयोग थियो । माक्र्सले यसलाई ‘महादेशीय क्रान्ति’ भनेका छन् । जहाँ सिद्धान्तलाई व्यवहारमा उतार्ने बेला आयो, एंगेल्स र माक्र्स यहाँ पनि अग्रपंक्तिमा उभिए । दुवै तुरुन्तै यो क्रान्तिमा हामफाले । ‘कम्युनिस्ट घोषणापत्र’ को अडानअनुसार सर्वहारा वर्गले पहिलो पटक स्वतन्त्र राजनीतिक वर्गका रूपमा सङ्घर्ष सुरु गरेका थिए । एंगेल्सले लेखेका छन्– ‘हर क्षेत्रमा क्रान्ति मजदुर वर्गको कार्यवाही थियो, मजदुरहरूले ब्यारिकेडहरू खडा गरे, मजदुरहरूले यस क्रान्तिमा आफ्नो प्राण दिए ।’ एंगेल्स र माक्र्सले जर्मनीको कोलोनलाई आफ्नो द्वन्द्व क्षेत्र बनाएका थिए । पछि, एङ्गेल्स जर्मनीको राइन प्रान्तमा आए र बन्दुकका साथ ब्यारिकेडिङको युद्ध पनि लडे । कमैलाई थाहा छ कि एङ्गेल्स सैन्य मामिलाको सिद्धान्त र अभ्यास दुवैमा एक विशेषज्ञ थिए । एंगेल्सले सन् १८४१ मा केही समय प्रसियन सेनामा पनि सेवा गरे । माक्र्सको परिवारमा एंगेल्सलाई प्रायः स्नेहपूर्वक ‘मिस्टर जनरल’ भनेर सम्बोधन गरिन्थ्यो ।

तर, मजदुरहरूको यो स्वतन्त्र राजनीतिक पहलबाट पुँजीपति वर्ग डराएका थिए र क्रान्तिलाई अधुरो छोडेर सामन्ती शक्तिसँग हात मिलाएर आफ्ना पूर्व सहयोगी सर्वहारा वर्गतर्फ बन्दुक फर्काए । जुन महिनामा क्रान्तिको दिशा उल्टो भयो र देशद्रोही पुँजीपति वर्गले सामन्ती शक्तिसँग मिलेर मजदुरको नरसंहार गर्न थाले । माक्र्सले यसमा एकदमै तिखो टिप्पणी गरेका थिए र लेखेका थिए कि बुर्जुवा गणतन्त्र फरवरी क्रान्तिमा होइन बरु प्रतिक्रान्तिमा स्थापित भयो । त्यो बेला सम्पूर्ण युरोपमा प्रतिक्रियावादको युग थियो । एंगेल्स र माक्र्स आफ्ना विचार र क्रान्तिकारी गतिविधिका कारण युरोपभर कुख्यात भएका थिए । विशेषगरी जर्मनी र फ्रान्सका प्रहरीले उनको खोजी गरिरहेका थिए । अन्ततः दुबै इङ्गल्याण्ड भाग्नुप¥यो । जहाँ प्रतिक्रियावादको प्रभाव अपेक्षाकृत कम थियो ।

इङ्गल्याण्ड आएर एंगेल्सले आफ्नो इच्छा विरुद्ध जाने र म्यानचेस्टरमा आफ्नो बुबाको कपास मिलमा फेरि काम गर्ने निर्णय गरे । उनले आफ्ना प्रिय मित्र कमरेड माक्र्स र उनको परिवारलाई मद्दत गर्नका लागि मात्र यो गरे । यही सहयोगले माक्र्सले ‘पूँजी’ लेख्ने आफ्नो ऐतिहासिक लक्ष्य पूरा गर्न सके । यसलाई स्वीकार गर्दै माक्र्सले स्वयम् एंगेल्सलाई एउटा चिठ्ठीमा लेखेका थिए– ‘पूँजी लेख्ने काम सकियो, तिम्रो त्यागले नै यो सम्भव भएको हो ।’ पूँजीको भाग २ र ३ माक्र्सको मृत्युपछि एङ्गेल्सले माक्र्सका अधूरा र अस्तव्यस्त नोटहरूको आधारमा आफ्नो सबै काम पूरा गरेका थिए । लेनिनले त स्पष्टसँग घोषणा गरे कि ‘एंगेल्सले जसरी पुँजी भाग २ र ३ पूरा गरे, त्यसलाई माक्र्स र एंगेल्स दुवैको संयुक्त कार्य मान्नुपर्छ ।’

जर्मनी र फ्रान्सको प्रतिक्रियाबाट बच्न इङ्गल्याण्ड आएका निर्वासित राजनीतिक कार्यकर्ताहरूलाई सहयोग गर्नुका साथै एंगेल्सले माक्र्स र उनको परिवारलाई आर्थिक रूपमा पनि मद्दत गरेका थिए । सायद यही कारण लेनिनले उनलाई ’सबैका लागि धड्कनका अतुलनीय हृदय’ भनेका थिए । तर यी व्यस्तताको बीचमा, सन् १८५० मा एंगेल्सले अर्को ठूलो पुस्तक लेखे – ‘जर्मनीमा किसान युद्ध’ । यस पुस्तकमा उनले प्रोटेस्टेन्ट धार्मिक आन्दोलनको पछाडि रहेको सामाजिक–आर्थिक शक्तिहरूलाई अगाडि राखेका छन् र प्रोटेस्टेन्ट आन्दोलन वास्तवमा धर्मको आवरणमा पुँजीवादी आन्दोलन थियो भनेर प्रमाणित गरेका छन् । तर यस पुस्तकको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष यो थियो कि सर्वहारा वर्गले आफ्नो विजय सुनिश्चित गर्न किसानहरूसँग मिलेर जानुपर्छ । निस्सन्देह, यो लेख्दा सन् १८४८ को भर्खरको क्रान्तिको असफलता एंगेल्सको दिमागमा हुनुपर्छ ।

त्यो समयमा माक्र्स पुँजी लेख्ने काममा मात्र व्यस्त थिए र एंगेल्स आफ्नो कारखानामा व्यस्त थिए भन्ने सोच्नु गलत हुनेछ । बरु दुवै जना मजदुर आन्दोलनलाई आफ्नो खुट्टामा उभ्याउने निरन्तर प्रयासमा थिए । यसका लागि दुवैजनाले बेलायतका निर्वासित राजनीतिक कार्यकर्ता र मजदुर संगठनहरूसँग निरन्तर सम्पर्कमा रहेर मार्गदर्शन पनि गरिरहेका थिए । यस अवधिमा एङ्गेल्स र माक्र्सले संघर्षरत राष्ट्रियताहरू, विशेष गरी पोलिश र आयरिश जातिका लागि लडिरहेकाहरूलाई सम्पर्क गरे र उनीहरूलाई व्यापक मजदुर आन्दोलनको हिस्सा बनाउने प्रयास गरे । दुवैको अमेरिकाको गृहयुद्धमा गहिरो नजर थियो र दुवैले यी विषयमा निरन्तर लेखिरहेका थिए । अमेरिकी गृहयुद्धको सैन्य मामिलामा एंगेल्सका लेखहरू धेरै महत्वपूर्ण थिए । यी सबै प्रयासहरूको परिणाम हो, विश्वको पहिलो अन्तर्राष्ट्रिय (इन्टरनेशनल वर्किंगमेन एसोसिएसन’ वा पहिलो अन्तर्राष्ट्रिय) सने १८६४ मा स्थापना भयो । आज जसलाई हामी मार्क्सवाद भन्दछौं, त्यो सबै गैर–सर्वहारावादी प्रवृत्तिहरू (प्रुधोवाद, लासलवाद, अर्थवाद, ब्लांकीवाद, अराजकतावाद आदि)सँग लड्दै यस अन्तर्राष्ट्रियमा स्थापित भएको हो । र यी सबै वैचारिक लडाइहरूमा एंगेल्सले माक्र्सलाई धेरै समर्थन गरे । यद्यपि, एंगेल्स शारीरिक रूपमा आफ्नो दैनिक गतिविधिहरूमा कम संलग्न थिए । तर अन्तिम निर्णायक कांग्रेसमा एंगेल्सको भूमिका महत्त्वपूर्ण थियो, जहाँ उनले अन्तर्राष्ट्रियलाई अराजकतावादी बाकुनिनवादीहरूको हातमा पर्नबाट बचाए । यहाँ एङ्गेल्सले रणनीतिकारको भूमिका खेल्दै अन्तर्राष्ट्रियलाई बाकुनिनवादीहरूबाट बचाए र सन् १८७६ मा आफ्नो मुख्यालय अमेरिकामा सार्न सफल भए । तर, त्यहाँ गएपछि निष्क्रिय भयो ।

अन्तर्राष्ट्रिय कालमा सन् १८७१ मा पहिलो श्रमिक राज्य ‘पेरिस कम्युन’ अस्तित्वमा आएको थियो । एङ्गेल्सले ‘पेरिस कम्युन’ लाई प्रथम अन्तर्राष्ट्रियको सन्तान भनेका छन् । प्रसिद्ध फिल्म निर्माता पिटर वाटकिङले पेरिस कम्युनमा निकै महत्वपूर्ण फिल्म ‘ला कम्युन’ बनाएका छन् । पेरिस कम्युनको पराजयपछि फेरि युरोपमा दमनको चक्र बढ्यो । इङ्गल्याण्ड बाहेक युरोपभर अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो। (इंग्ल्याण्ड बाहेक) युरोपभरका प्रहरीले अन्तर्राष्ट्रिय सदस्यहरूलाई कुकुरलेजस्तै पछ्याए । फेरि एकपटक युरोपभरका क्रान्तिकारी कार्यकर्ता दमनबाट बच्न इङ्गल्याण्ड आउन थाले । एङ्गेल्सले यी मजदुरहरूको बस्ने र खानाको प्रबन्ध एक रातमा गरे र उनीहरूसँग राजनीतिक सम्बन्ध स्थापना गरे । सामान्यतया, एंगेल्सको यो मानववादी पक्षमा कम ध्यान दिइन्छ । तर त्यसबेलाको प्रतिक्रियावादी युगमा यो निकै महत्वपूर्ण थियो । तिनीहरूमध्ये कतिपयलाई माक्र्सजस्तै एङ्गेल्सले जीवनभर मद्दत गरेका थिए ।

त्यही बेला एंगेल्सकी आमाले एंगेल्सलाई एउटा भावुक पत्र लेखिकी थिइन्– ‘तिमी सधैं अपरिचितको कुरा मात्र सुन्छौ तर आफ्नो आमाको कुरा कहिल्यै सुन्दैनौ । यो समय मेरो के हालत छ, त्यो भगवानलाइै मात्र थाहाँ होला । अखबारहरू उठाउँदा मेरा हातहरू काँप्छन् किनभने तिनीहरूमा तिम्रो गिरफ्तारी र वारेन्टको समाचार मात्र छ ।’ यो पत्रले एंगेल्सको व्यक्तित्वको पनि झलक दिन्छ ।

सन् १८६३ मा मेरी बन्र्सको मृत्युको केही समयपछि, एंगेल्स मेरी बन्र्सकी कान्छी बहिनी लिडिया बन्र्ससँग समान सम्बन्धमा संलग्न भए । सन् १८७८ मा, लिडिया बन्र्सको मृत्युको केही घण्टा अघि, लिडिया बन्र्सको जिद्दीका कारण एंगेल्सले लिडियासँग विवाह गरे । लिडिया बन्र्सको मृत्युपछि, एङ्गेल्सले जर्मनीको अग्रणी समाजवादी अगस्ट बेबेलकी पत्नीलाई लेखेको पत्रमा लेख्छन्– ‘मेरी श्रीमती एक इमानदार आयरिस सर्वहाराको सन्तान थिइन्, जसको हृदय उनी जन्मेको वर्गको लागि धड्कन्थ्यो । ती सबै शिक्षित, संस्कारी आकर्षक मध्यमवर्गीय महिलाहरू भन्दा मेरो हृदयमा उनको धेरै सम्मान छ । र यो कुराले मलाई संकटको समयमा सधैं सान्त्वना दिएको छ ।’ माक्र्सकी कान्छी छोरी एलेनोर माक्र्सको लिडियासँग धेरै राम्रो मित्रता थियो । एलेनोर माक्र्सले लिडियाको बारेमा लेखेकी थिइन्– ‘लिडिया अशिक्षित थिइन् । उनी पढ्न र लेख्न सक्दिनन्, तर उनी सच्चा र इमान्दार थिइन्। उनी सन्त महिला थिइन् ।’

एंगेल्सका धेरै पूँजीवादी जीवनीकारहरूले मेरी बन्र्स र लिडियालाई एंगेल्सका समान साझेदारहरू मान्न अस्वीकार गर्छन् । उनका अनुसार दुवै एङ्गेल्ससँग घरमा काम गर्ने कामदारहरू थिए, जसलाई एङ्गेल्सले अलि राम्रो व्यवहार गर्थे । आफ्नो पूँजीवादी सोचका कारण उच्च मध्यम वर्गबाट आएका यस्तो शिक्षित संस्कारी व्यक्तिको श्रीमती वा साथी सर्वहारा वर्गबाट आएकी अशिक्षित महिला कसरी हुन सक्छ भन्ने कुरा उनीहरुले पचाउन सकेनन् । एंगेल्सले भविष्यको प्रतिनिधित्व गरिरहेका थिए भन्ने कुरा उनीहरूले बुझेनन् ।

सन् १८८३ मा उनका प्रिय मित्र र सह–वैचारिक योद्धा कार्ल माक्र्सको पनि मृत्यु भयो । एंगेल्सले लेखेका थिए– ’संसारको सर्वश्रेष्ठ दिमागले सोच्न छोड्यो ।’ उनकी श्रीमती लिडिया र त्यसपछि माक्र्सको मृत्युले एंगेल्सलाई भित्रैबाट टुक्राएको थियो, तर उनी सर्वहारा सेनाका सच्चा सिपाही थिए । शोकसँगैं एंगेल्स फेरि अगाडि आए । उनले माक्र्सको बहुमूल्य अधूरा कार्य पुँजीको भाग २ र ३ पूरा गर्नुपर्ने थियो । यो एंगेल्सको एकल प्रयासबाट क्रमशः सन् १८८५ र १८९४ मा प्रकाशित भएको थियो ।

यसैबीच जर्मनी, फ्रान्स, इङ्ल्यान्ड आदि देशहरूमा राष्ट्रिय स्तरमा सर्वहारा पार्टी बनाउने प्रयास थालियो । जर्मनीको सर्वहारा पार्टीका संस्थापक अगस्ट बेबेल, विल्हेल्म लेइबनेचहरु एंगेल्ससँग निरन्तर सम्पर्कमा रहे र उनीहरुबाट बहुमूल्य सुझावहरू लिए । जर्मनीको सर्वहारा पार्टी प्रारम्भदेखि नै अवसरवादले ग्रसित हुनु इतिहासको दुखद घटना हो । माक्र्सले सन् १८७६ मा जर्मनीको समाजवादी मजदुर पार्टी ृएसएपीडीको उही अवसरवादलाई आक्रमण गर्दै ‘गोथा कार्यक्रमको आलोचना’ लेखे । तर व्यवस्थित आक्रमणलाई एंगेल्सले सन् १८७८ मा आफ्नो पुस्तक ‘एन्टी–डुहरिङ’ मा लेखेका थिए । एङ्गेल्सले पहिलो पटक माक्र्सवादका तीन घटक तत्व दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको बारेमा सामान्य पाठकका लागि एकदमै सरल रूपरेखा प्रस्तुत गरेका थिए । उनको प्रसिद्ध पुस्तक ‘समाजवाद ः काल्पनिक वा वैज्ञानिक’ यसै पुस्तकको अंश हो ।

दोस्रो अन्तर्राष्ट्रियको स्थापना फ्रान्सेली क्रान्तिको क्रममा बास्टिल किल्लामा भएको आक्रमणको १०० औं वार्षिकोत्सवमा सन् १४ जुलाई १८८९ मा पेरिसमा भएको थियो । त्यतिन्जेलसम्म एङ्गेल्स निकै बूढो भइसकेका थिए, तर पनि वैचारिक स्तरमा आफ्नो बहुमूल्य सुझाव र निर्देशन दिन एंगेल्स कहिल्यै पछि परेनन् ।
यही क्रमममा सन् १९९८४ मा उनको पुस्तक ’परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ आयो । १९ औं शताब्दीमा सामान्यतया दुई पुस्तकहरू छलफल गरिन्छ जसले त्यस क्षेत्रमा सोचको सम्पूर्ण दिशा परिवर्तन गर्यो । पहिलो चाल्र्स डार्विनको ‘अन द ओरिजिन अफ स्पेसिज’ र दोस्रो कार्ल मार्क्सको ‘दास क्यापिटल’ हो । तर मलाई लाग्छ १९ औं शताब्दीको तेस्रो महत्त्वपूर्ण कृति एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ हो । जसरी मार्क्सको ‘पूँजी’ ले मजदुरी दासत्वका कारणहरूको खोजी गरी यसको मुक्तिको सम्भावनालाई वैज्ञानिक आधारमा स्थापित गरेको छ, त्यसैगरी एंगेल्सको यो उत्कृष्ट कृतिले पनि महिलाको दासत्व र त्यसको मुक्तिको सम्भावनालाई वैज्ञानिक आधारमा खोजेको छ । लेनिनले पनि यस पुस्तकलाई आधुनिक समाजवादको आधारभूत कृति मान्दछन् । यो किताबले नारीलाई आफ्नो पहिचान र आवाज दिएको छ । एंगेल्स आफैंले यसको विषयवस्तुको महत्व यसरी राखेका छन्–‘पितृ अधिकार अघि आमाको अस्तित्वको खोज’ जीवविज्ञानमा डार्विनको विकासको सिद्धान्त र माक्र्सको अतिरिक्त मूल्यको रूपमा उस्तै महत्व छ –राजनीतिक अर्थशास्त्रको सिद्धान्त’ ।

एंगेल्सको प्राकृतिक विज्ञानमा गहिरो चासो थियो । माक्र्स र एंगेल्स दुवैलाई आफ्नो समयका विज्ञानका सबै शाखाहरूको नवीनतम ज्ञान थियो । यो घटनाबाट बुझ्न सकिन्छ । जब १४ नोभेम्बर १८५९ मा चाल्र्स डार्विनको ’अन द ओरिजिन अफ स्पेसिज’ प्रकाशित भयो, त्यही दिन किन्ने पहिलो लाइनमा एंगेल्स थिए। केही दिनमा, यो पुस्तक पढेर र यसमा आफ्नो महत्त्वपूर्ण टिप्पणी लेखेपछि, एंगेल्सले यो पुस्तक मार्क्सलाई पठाए।

सन् १८७२–७३ सम्म एङ्गेल्सले एक धेरै महत्वाकांक्षी परियोजना शुरू गरे । त्यो ‘प्रकृतिको द्वन्द्ववाद’ लेख्ने परियोजना थियो । अर्थात् समाज बाहेक सबै प्रकृतिमा द्वन्द्ववाद लागू गर्नु । तर, उनको आयोजना पूरा हुन सकेन । यसको मुख्य कारण थियो कि उनले आफ्ना प्रिय साथी कार्ल माक्र्सको अधूरो पुँजी पूरा गर्नलाई आफ्नो प्राथमिकतामा राखेर आफ्नै परियोजना रोक्नु परेको थियो । एंगेल्सको मृत्युपछि जर्मन समाजवादी पार्टीका बर्नस्टाइनले महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई ‘डायलेक्टिक्स अफ नेचर’का लागि लिइएका नोटहरू देखाउँदा आइन्स्टाइनले आफ्ना सबै कमीकमजोरीका बाबजुद पनि यसले आफुलाई गहिरो अन्तरदृष्टिबाट गहिरो प्रभाव पारेको र त्यसलाई छाप्न आग्रह गरे । पछि यो पुस्तक सन् १९२५ मा सोभियत रूसबाट प्रकाशित भयो । प्रसिद्ध जीवविज्ञानी रिचर्ड लेभिन्स र रिचर्ड लेवोन्टिनले आफ्नो सन् १९८५ को पुस्तक ’द डायलेक्टिकल बायोलोजिस्ट’ फ्रेडरिक एंगेल्सलाई समर्पण गर्दै भनेका छन्– ‘फ्रेडरिक एंगेल्स, जो धेरै हिसाबले गलत भए पनि उनले हामीलाई आवश्यक पर्ने ठाउँमा सही साबित गरेका छन् ।’ यी दुवै वैज्ञानिकहरूले एंगेल्सको यस पुस्तकमा दिइएका प्रस्थान बिन्दुहरूलाई आफ्नो सबै अनुसन्धानको सुरुवात बिन्दु बनाए । अर्का प्रख्यात वैज्ञानिक स्टेफन जे गोल्डले सन १९७५ मा ‘नेचुरल हिस्ट्री’ लेख्दै ‘डायलेक्टिक्स अफ नेचर’ को एक अध्यायलाई ‘बाँदरदेखि मानवसम्मको प्रक्रियामा श्रमको भूमिका’ भनेर वर्णन गरेका छन् ।

आज विज्ञानको क्षेत्रमा एक प्रकारको कुहिरो छ । गणितमा भौतिकशास्त्र घटाइँदैछ, जबकि जीवविज्ञान र मनोविज्ञानमा ‘जीन’ घटाइँदैछ । यो कुहिरो घटाउनका लागि एंगेल्सको ‘प्रकृतिको द्वन्द्ववाद’ धेरै महत्वपूर्ण छ । र सत्य यो हो कि ‘प्रकृतिको द्वन्द्ववाद’ त्यो कुहिरो हटाउनको लागि सुरूवात बिन्दु हो । सामाजिक विज्ञानमा ‘उत्तर–आधुनिकता’ को जवाफमा एंगेल्सको यो महत्वपूर्ण कथन छ– ‘तर्क वितर्कभन्दा पहिले व्यवहार हो’ ।

सत्य यो हो कि ज्ञानको कुनै पनि क्षेत्र एंगेल्स र मार्क्सको क्रान्तिकारी विचारबाट निर्णायक प्रभावित नभई रहन सकेन ।

एंगेल्सको ७० औँ जन्मदिनमा मार्क्सकी छोरी एलेनोर मार्क्सले एंगेल्सको प्रशंसा गर्दै एंगेल्स कहिल्यै बूढो देखिँदैनन् भनी बताइएकी थिइन् । उनले लेखिकी छिन्, ‘विगत २० वर्षदेखि उनी दिन प्रति दिन जवान हुँदै गएका छन्’ । यो कुरा उनको प्रशंसामा हलुका ढंगले भनिएको हुन सक्छ, तर एंगेल्स र माक्र्सका विचारहरू पहिलेको तुलनामा युवा, जीवन्त र सान्दर्भिक बन्दै गएको अटल तथ्य हो । फासीवाद र पतनशील साम्राज्यवादको यस युगमा सबै विचारधाराहरू आमनेसामने भइरहेका बेला माक्र्सवादको मशाल आशाको दियोका रूपमा झन्झन् बलिरहेको छ । आज एंगेल्सको जन्मको ठ्याक्कै दुई सय वर्षपछि माक्र्सवाद छ भने आशा छ र आशा छ भने माक्र्सवाद छ भन्नु अतिरञ्जन हुनेछैन ।

मनिष आजाद
(गत वर्ष भारतको ‘दस्तक’ पत्रिकामा प्रकाशित)

अनुवाद : एमएल थापा

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार