
भूपरिेवेष्ठित देश नेपाल । विशाल देश चीन र भारतको बीचमा रहेको छ नेपाल । तर सैनिक गठबन्धन छ अमेरिका साथमा । हालै अमेरिकासँग १० बँुदे एसपीपी संझौता प्रस्तावित गरिएको छ ।
परमादेशको गठबन्धन सरकार छ यही मौका पारेर अमेरिकाले नेपाल सरकारसमक्ष एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) सहमती गरेर दुनियाँलाई चकित पारेको छ । नेपाललाई दोस्रो युक्रेन बनाएर यहाँका बहुमूल्य प्राकृतिक संपदा लूट गर्ने योजना बनाएको छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै नेपालमा परमादेशी गठबन्धनको सरकार भएको मौका पारेर अमेरिकाले सैनिक गठबन्धन गरेको छ । ईन्डो प्यासिफिक क्षेत्रका सैनिक कमाण्डर समक्ष दुई पक्षीय सैनिक गठबन्धन गरेको छ ।
गठबन्धनका लागि सन् २०१९ मा नै नेपालले निवेदन दिएको बुझिन्छ । अहिले चारैतिरबाट विरोध आएपछि नेपालले सैनिक गठबन्धन गरेको होइन भन्ने झूठको खेती गरेको छ । तर अमेरिकन दूतावासले भने एसपीपीको १० बुँदे संझौता भएको बताएको छ । नेपाल र अमेरिकाको सम्बन्ध ७० वर्ष पुरानो छ । अमेरिकाजस्तो ठूलो देशसँग सम्बन्ध राख्नु गौरवको कुरा होला तर यस प्रकारको सैनिक गठबन्धन गर्नु भनेको आत्मदाह गर्नु बराबर हो । अमेरिकाले नेपाललाई हात लिएर चीनलाई हिर्काउन चाहन्छ । यो कुरा चीनलाई सैह्य हुने छैन ।
नेपाल चीन र अमेरिकाको युद्द मैदान हुन्छ । अमेरिकी सेनाले नेपालमा बुट बजारी रहेछन् । पाँच हजार सेना नेपालका विभिन्न भागमा रहेको बताइन्छ । नेपालका ठूला राजनैतिक दललाई यो कुराले छोएको छैन । रातारात ध्वनी मतले एमसीसी पासगर्ने नेतालाई यसको पिरलो छैन । उनीहरु अरबौं पैसा भागबण्डा गर्न ब्यस्त रहन्छन् । मलको हाहाकार छ । नेताहरु भने कमिशनको खेलमा लागेका छन् । जनयुद्धको जुन सपना थियो त्यो घात प्रतिघात भएको छ । महंगीले आकाश छोएको छ । बेरोजगारीले दैनिक हजारौं युवाहरु अरबको खाडीतिर धकलिएका छन् । राष्ट्यितामा ह्रास आएको छ । लिपु लेख, लिम्पिया धुरा,कालापानीमा भारतीय सेनाहरुले बुट बजारिरहेका छन् । सुस्ता आदि ठाउँहरुमा अतिक्रमण यथावत छ । वर्षा लाग्यो । डुवानमा ज्यान जाने जोखिम बढेको छ । पहिरोले नारायणघाट मुग्लिंगमा २–३ दिन रोकिनुपर्छ । जनतासगँ उत्तरदायी सरकार छैन । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो ।
अहिलेको संवेदनशील समयमा प्रमले अमेरिका जान खुट्टा उचालेको बुझिन्छ । स्टेट पार्टनरको योजनामा हुनसक्छ भन्ने जानकारहरु बताउँछन् । असंलग्न देश नेपाललाई सैनिक गठबन्धन चाहिदैन । नेपाल पेन्टागनको सदस्य भएर बाँच्न चाहदैन । नेपालीलाई आफ्नै स्वाभिमान चाहिएको छ । नेपालीले नेपालमा अमेरिकाले बुट बजारेको देख्न चाहदैनन् । अमेरिकी सेनाले आफ्ना चेलीबेटी लतारेको देख्न चाहदनन् स्वाभिमानी नेपालीहरु ।
अचेतना भनौ वा अबचेतना नेपालीहरुले एउटा रोग पालेका छन् । रोग मुक्त हुने थोरै छन् । आफूले भोट हालेको पार्टीले जे गरे पनि हुन्छ ? दुई चोक्टा मासु र एक गिलास रक्सीमा जे गरे पनि हुन्छ ? त्यसैले नेतालाई छुट दिएको छ । देश ठूलो कि नेता ? सबभन्दा ठूला भनेका जनता हुन् । अब जनताले एमसीसी पक्षका नेतालाई होस् वा एसपीपी पक्षका दलाल नेताहरुलाई खबरदारी गर्नसक्नुपर्छ । के संसदीय थलो भनेको कमाउने भाँडो हो ? त्यस्तै भएको छ । यो व्यवस्थामा संसदीय दलदलमा फसेका मानिसहरु फर्केर आउन सक्दैनन् ।
यही रोगले नेपाललाई बिगारेको छ । पाँच पाँच पटक प्रम हुनुपरेको छ शेरबहादुर देउबालाई । आफ्नै पार्टीका स्व सुशील कोईरालाले ‘काण्डै काण्ड मच्चाउने नेता हो शेरबहादुर देउबा भन्थे, उनी आफू पनि सकिन्छन् देश पनि सक्छन् भन्ने कोईरालाको भनाई थियो । मलाई लाग्छ यस्तो पेचिलो सवालमा हाम्रा कम्युनिष्ट नेताहरु किन बोल्दैनन् ? एक पटक फेरि धक्का दिनुपर्छ । अहिले देश दुखेको बेला देशभक्त स्वाभिमानी नेपालीहरु मस्त निद्राबाट उठ्रनुपर्छ । देश रहे नेपाली रहन्छौ । नेपाली रहे देश रहन्छ ।
अहिले पश्चगमनको गठबन्धन छ भने अब अग्रगमनको मोर्चा बनाएर राष्ट्रिय स्वाधिनता, जनजीविका र जनतन्त्रका लागि एक जुट भएर अगाडि बढ्नुपर्छ । खुद्रा पसल थापेरेर मात्र काम छैन । वामपन्थीहरु, प्र्रजातन्त्रप्रेमी मजदुर, किसान विद्यार्थी, शिक्षक, संघ–संंस्थाको बृहत मोर्चा बनाएर अगाडि बढ्नुको विकल्प छैन ।







