
२०७१ साल मङ्सिर ८ गते मोहन वैद्य (किरण)सङ्ग औपचारिक रुपमा सम्बन्ध बिच्छेद पत्र बुझाएर कमरेड विप्लवले नयाँ पार्टी नेकपा माओवादी पुनर्गठन गरेर पार्टी निर्माण अभियानमा जुट्नु भएको थियो । त्यसको मुल मक्सद के थियो भने प्रचण्डको नेतृत्वमा संचालित १० वर्षे महान् जनयुद्धबाट आएको मुल नेतृत्व पङ्ति प्रतिक्रियावादी संसदीय भासमा चुर्लुम्म डुब्यो र क्रान्ति अधुरो रह्यो । त्यो नेतृत्वसँगै कमरेड किरणबाट पनि क्रान्ति अगाडि बढ्दैन, त्यसकारण नयाँ ढंगले एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई ध्वंश गरेर वैज्ञानिक समाजबाट स्थापना गर्नुपर्छ भन्ने मुल ध्येय थियो कमरेड विप्लवमा ।
माओवादी आन्दोलनले उद्घोष गरेका सबै एजेन्डाहरु रक्ष्यानमा पुग्यो र नेतृत्वले आफ्नो व्यक्तिगत सत्ता स्वार्थमा आन्दोलनका सबै म्यान्डेटलाई तिलाञ्जली दिएका कारण नेपाली जनताहरु यो नेतृत्व र व्यवस्थाप्रति असन्तुष्ट छन् भन्ने विप्लवलगायत मुल नेतृत्वको निस्कर्ष थियो । त्यो निस्कर्षअनुसार नेपालमा क्रान्तिको वस्तुगत आधार तयार भयो । अब क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र सही कार्यदिशा बनाएर अघि बढियो भने नेपालमा निकट भविष्यमा नै क्रान्ति सम्पन्न हुन्छ भन्ने विप्लवको बुझाइ थियो । त्यही बुझाइँअनुरुप नयाँ विचारको निर्माण, कार्यदिशाको निर्माण, पार्टीको आन्तरिक सङगठनात्मक संरचना, आर्थिक दृष्टिकोण, प्राविधिक पक्षलागायत क्रान्तिका लागि आवश्यक सबै आधारभुत संरचना निर्माणको कोर्षमा पार्टी अगाडि बढेको थियो ।
पार्टी पुनर्गठन गरेपश्चात २०७१ पौष ९ गते माओ दिवसको अवसरमा काठमाडौंको खुल्ला मंचबाट पहिलोचोटी कमरेड विप्लवले सम्बोधन गरेका थिए । उक्त सम्बोधन कार्यक्रममा धेरै नयाँ युवाहरु चासो र चिन्ताका साथ उपस्थित भएर सुनेका थिए । विप्लवको सबै हाउ भाउ-भाषणले नेपालमा छिट्टै नै हतियारबद्ध रुपमा प्रतिकृयावादी दलाल सत्ताका विरुद्ध विद्रोह हुन्छ भन्ने झल्को दिइरहेको थियो । खुल्ला मंचबाट विप्लवले दिएको हुङ्कारले सत्ताधारीहरु आतंकित थिए भने क्रान्तिकारी युवाहरु उत्साहित थिए । त्यस बेलाका सबैजसो पत्रपत्रिका, टेलिभिजन, अनलाइन, फेसबूकलगायत सन्चार माध्यामहरुमा विप्लवले अब राज्यकाविरुद्ध लडाइँ घोषणा गर्छ भन्ने खालको प्रचारबाजी देशैंभरि भैरहेको थियो । त्यही सेरोफेरोमा कमरेड विप्लव सुझ्बुझपूर्ण तरिकाले एकीकृत जनक्रान्तिको कार्यदिशा पेस गरेर अधुरो क्रान्तिलाई पूरा गर्ने संकल्प गर्दै जनतामाझ अगाडि बढे ।
उक्त परिवेशको तत्कालिन अवस्था यसप्रकारको थियो :
वस्तुगत परिस्थिति –
२०५२ साल फल्गुन १ गतेबाट सुरु भएर २०६३ को मङ्सिर ५ गतेसम्म संचालित महान् १० वर्षे जनयुद्धले नेपाली जनताको मन–मष्तिस्कमा पारेको प्रभाव के थियो भने माओवादी पार्टी सत्तामा पुग्यो भने सबै कुराको चमत्कारिक समाधान हुन्छ भन्ने आम बुझाइँ थियो । त्यही सिलसिलामा २०६५ साल असारमा प्रचण्ड पहिलो चोटी प्रधानमन्त्री भए । बाबुराम अर्थमन्त्री, बादल रक्ष्यामन्त्री भए । उनीहरु पुगेको सत्ता माओवादीले जनयुद्धताका गाउँ÷गाउँमा निर्माण गरेको जनसत्ता थिएन त्यो त पूरानै प्रतिकृयावादी दलाल संसदीय सत्ता थियो । त्यसकारण जनयुद्धमा गाउँ-गाउँमा सङ्चालित जनसत्ताले जस्तो क्षणभरमै परिणाम दिन सकिने सत्ता संरचना त्यहाँ थिएन । तर जनताले छिटो भन्दा छिटो युद्धबाट ध्वस्त भएको नेपालीको जनजीवनको मुहार फेर्ने आशा गरेका थिए । त्यो झुपडीमा बसेर जनयुद्ध लडेका उत्पीडित जनताको नयाँ मुहार फेर्ने आशा प्रचण्ड÷बाबुराम÷बादलहरुले सत्तामा पुगेर पूरा गर्न सकेनन् । किनकि त्यो सत्ता जनताको मुहार फेर्ने सत्ता होइन कि पूरानै जनता मारा सत्ता थियो । त्यसकारण प्रचण्ड÷बाबुराम पनि विस्तारै जनतामारा सत्तामा लिप्त हुन पुगे र जनताको मुहार फेर्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
त्यसपश्चात् विस्तारै माओवादी आन्दोलनबाट मुल नेतृत्व पूरानै प्रतिक्रियावादी संसदीय सत्तामा फस्यो । कार्यकर्ताहरुको बिचल्ली हुन थाल्यो । मुल नेतृत्व र उसको वरिपरिका सीमित कार्यकर्ताबाहेक अरु सबै सामान्य जीवन जिउँनका लागि पनि अरबको खाडी जानुपर्ने बाध्यता आइलाग्यो । जनयुद्धमा रगत बगाएको योद्धाको परिवारजन, आफन्त, घाइते, अपाङ्ग र युद्धकालभरी खाइँ-नखाइँ जीवनलाई मृत्युको हत्केलामा राखेर माओवादीलाई साथ÷सहयोग गरेका जनताहरु निराश हुनथाले । प्रचण्ड-बाबुरामहरु प्रतिकृयावादी सत्ताको रङ्गमंचमा लिप्त भए र जनता र कार्यकर्ताको बिचल्ली भयो । यही निराशाको परिवेशमा कमरेड विप्लवद्धारा माओवादी पार्टी पुनर्गठन गरिएको थियो । प्रचण्ड-बाबुरामले सहिदको सपनालाइँ बेँचेर खाए ।हाम्रो क्रान्ति अधुरो रह्यो भनी विप्लवले देश भरि अपिल गर्दाखेरि लाखौं जनताहरुमा ठूलो आशाको किरण पैदा भयो । त्यही दिनदेखि अब अरु सबै उस्तै भए अब केही गर्यो भने विप्लवले गर्छ भन्ने जनमानसमा स्थापित हुँदै गयो । कारण थियो जनयुद्धमा सहिद भएका सहिदको सपना र नेपालका उत्पीडित निमुखा जनताको उत्पीडन र जन्जिरबाट सदाका लागि मुक्ति पाउने सपना अधुरो थियोे । जे गर्छौ भनेर जनयुद्ध लडिएको थियो, त्यो प्राप्त भएको थिएन । त्यसकारण विप्लवको नेतृत्वमा क्रान्ति बढ्यो भने त्यो सबै अधुरो सपना पुरा हुन्छ भन्ने ठूलो आशा र भरोसा थियो । त्यही आशा र भारोसालाइ मध्यनजर गरेर कमरेड विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् यात्रा तय गरिएको थियो ।
के हो एकीकृत जनक्रान्ति ?
२०५२ सालमा जनयुद्ध सुरु गर्दा नेपालको राजनितिक सत्तामा निरङ्कुश राजतन्त्र र दलाल संसदीय पार्टीका दलाल नेताहरु थिए । उत्पदन प्रणाली पछौटे थियो । ८० प्रतिशत जनतालाई अफ्नै जमिनमा बाली लगाएर वर्षभरि खान पुग्ने थिएन । त्यसकारण किसानले सामन्त-जमिन्दारको जमिन कमाउनु पर्ने बध्याता थियो । किसानका छोराछोरी स्कुल जाने होइन कि जमिन्दारको घरमा हरूवा, चरुवा, हली बस्नु पर्ने अवस्था थियो । गाउँमा मुख्य अन्तर्विरोध किसान र सामन्त-जमिन्दार को थिया े । युवाहरु बिरोजगार थिए । अशिक्षित थिए । विभेद र भेदभाव तथा असमानता थियो । जनतालाई राज्यसत्ताले दमन गरेको थियो । गरिबी, भोकमरीले जताततै आक्रान्त थियो । यी सबै प्रकारका दासताबाट मुक्त हुन चाहान्थे जनताहरु । त्यही कारण तत्कालीन समयमा गाउँका किसानलाई साथमा लिएर ग्रामिण वर्गसंघर्षलाई उत्थान गरेर गाउँले सहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यदिशा तर्जुमा गरिएको थियो । त्यतिखेरको तत्कालीन समएमा त्यो कार्यदिशा सही, वस्तुवादी र वैज्ञानिक थियो, त्यस्कारणले नै जनयुद्ध सफलताको चुलीमा पुगेको थियो ।
अब १९ वर्षपछि पनि त्यही दीर्घकालीन जनयुद्धको कार्यदिशा बोकेर लडाइँ लडियो भने विजय होइन खरानी भइनेछ । किनकि १९ वर्षको अन्तरालमा नेपालका सबै क्षेत्रका अवस्था तुलनात्मक रूपमा फेरबदल भएको छ । हिजो सत्तामा निरङ्कुश राजा थियो भने आज दलाल पुँजीपति वर्ग छ । हिजो गाउँ र शहरको भेद थियो भने आज नजिकिएको छ । हिजो गाउँ–घर पूरै सूचना-सन्चारबिहिन थियो भने आज जताततै पहुँचमा छ । हिजो सहरिया मध्यम वर्ग औंलामा गन्न सकिने थियो भने आज लगभग २५ प्रतिशातको हाराहारीमा पुगेको छ । हिजो विज्ञान र प्रविधि सम्भ्रान्त शासक वर्गको हातमा मात्र थियो भने आज जनताको हातमा पनि त्यो उपलब्ध छ । हिजोको लडाइँ सामन्ती निरङ्कुसताका विरुद्ध थियो भने आजको लडाइँ देश बेच्ने दलाल पुँजीपति वर्गविरुद्ध हो । त्यसकारण आजको लडाइँ किसानको मात्र होइन देशभक्त, राष्ट्रवादी र राष्ट्रिय पुँजीपति वर्गको पनि हो । यो सबै फेरिएको वस्तुस्थितिलाई संश्लेषण गर्दाखेरी आजको नेपालको दलाल पुँजीवादलाई परास्त गर्ने वैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति हुन्छ ।
एकीकृत जनक्रान्ति गाउँले सहर घेर्ने नभई गाउँ र सहरलाई एकैपटक हमला गर्ने कार्यदिशा हो । एकीकृत जनक्रान्ति भरुवा बन्दुक बोकेर होइन कि अटोमेटिक बन्दुकद्वारा लडिने लडाइँ हो । एकीकृत जनक्रान्ति किसान र मजदुरले मात्रै होइन कि सहरिया मध्यमवर्गको विशेष सहभागितामा गर्ने क्रान्ति हो । यो कार्यदिशा थाल ठटाएर नभइ सशस्त्र संघर्षद्वारा राज्य सत्ता कब्जा गर्ने क्रान्ति हो । यो कार्यदिशा दुर्गम बस्तीका प्रहरी चौकीमाथि हमला गरेर प्रहरी र आर्मीसङ्ग लडिने होइन कि ब्यारेकभित्र रहेको आर्मी र प्रहरीसँगै मिलेर दलाल पुजीवादकाविरुद्ध लडिने क्रान्ति हो । यो कार्यदिशा कम्युनिस्ट क्रान्तिकारीले मात्र गर्ने होइन कि देशभक्त, राष्ट्रवादी, प्रगतिशील व्यक्तिहरुद्वारा मिलेर लडिने क्रान्ति हो । यो कार्यदिशा शक्तिशाली छिमेकी देशसङ्ग पौंठेजोरी खेलेर गरिने होइन कि तिनलाई सन्तुलनमा राखेर गरिने क्रान्ति हो । यो कार्यदिशा मोबाइल फोन फालेर होइन कि मोबाइल फोनको स्विच दबाएर दुस्मनलाई हमला गर्ने क्रान्ति हो । यो कार्यदिशा जनयुद्ध लडेबापत व्यक्तिगत पद÷पैसा नपाएर भागेको भगौडाहरुले लड्ने होइन कि यो त क्रान्तिप्रति समर्पित भाव बोकेका असल क्रान्तिकारी कम्युनिस्ट युवाहरुद्वारा गरिने क्रान्ति हो । एकीकृत जनक्रान्ति लम्बेतान थकित हुने लडाइँ होइन कि यो त मध्यम दुरीको हिँड्डा हिँड्दै उत्कर्षमा पुगेर सम्पन्न हुने लडाइँ हो ।
तर बिडम्बना व्यक्तिगत पद र पौसा नपाएर लखतरान्न परेर हिँडेका केही थान भगौडाहरुले एकीकृत जनक्रान्तिको मर्मलाई उल्टो ढङ्गले बुझेर अपब्याख्या गरी भ्रम सिर्जना गरिरहेका छन् । एकीकृत जनक्रान्तिप्रति समर्पित, प्राविधिक ज्ञानले सुसज्जित, इमान्दार निष्ठावान क्रान्तिकारी कम्युनिस्ट युवाहरुको निरन्तर लामो कष्टमय संघर्षमार्फत् सम्पन्न हुने क्रान्ति हो । तर यहाँ आजै खाउँ-राती नै खाउँ-भोलि बिहानै खाउँ भन्नेजस्तो पद र पैसा नपाएर हिँडेको केही थान जमातले कार्यदिशाको मुल भावलाई नबुझेर आज अनेकथरिका भखेडा झिकेर दुनियाँलाई रमिता देखाइरहेका छन् । हाम्रो पार्टी बन्दाखेरी ३ थरिका मान्छेहरु भित्रिएका रहेछन् ।
पहिलो प्रचण्ड-बाबुरामको बिचलनबाट आक्रोश भएको जुनसुकै मुल्यमा पनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने र सहिदको सपना पूरा गर्ने महान् सपना बोकेको लाल योद्धाहरुको जमात थियो । माओवादी आन्दोलनबाट आएको मुल नेतृत्वको प्रतिकृयाबादी संसदीय भाषमा पतन भएपछि त्यो पतनबाट नेपाली जनता र राष्ट्रलाई पर्न गएको ठूलो क्षति र जनताको जीवनमा आइपरेको भयङ्कर सङ्कटको समाधान एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याइ छड्ने प्रण भएका योद्धाहरु थिए ।
दोस्रो हिजो जनयुद्धमा लामो समय कष्टकर दुख गरेका तर व्यक्तिगत जीवनमा केही पनि लाभ नपाएका तर प्रचण्ड-बाबुरामको बिचलनपछि हिजो हामीले सोझो र इमान्दार भएर गल्ती गरिएछ भनि पश्चाताप गरेको अब केहीगरी युद्ध भइहालेमा पहिला आफ्नो नीजि जीवनका लागि जोहो गर्ने मानसिकता भएका व्यक्तिहरु ठूलै सङ्ख्यामा भित्रिएका थिए । तर आज उनीहरुले भनेजस्तो बम–बारुद-हतियारको घमसान लडाइँ पनि भएन र उनीहरुको कथित लुट्नु पर्छ र नीजि जीवन बनाउनु पर्छ भन्ने धन्दा पनि पूरा भएन त्यसकारण आज हाम्रो पार्टीबाट केही थान क्रान्तिविरोधी तत्वहरु भागेर गएर लुट्न नपाएको झोकमा एकीकृत जनक्रान्ति गलत भएको स्वाङ पारी नांगो नाँच प्रहसन गरिरहेका छन् ।
तेस्रो हिजो जनयुद्धमा असाध्यै दुख कष्ट गरेको पार्टीको ठिकै तहमा पुगेको तर सरकारी सेवा–सुविधा-पद धारण गर्न नपाएका ब्यक्तिहरु पनि भित्रिएका थिए । उनिहरुले के देखेका र बुझेका थिए भने हिजो जनयुद्ध सुरु गर्दा एउटा जिल्लाको सामान्य कार्यकर्ता भएको अनन्त, पासाङ, प्रभाकर, वल्देवहरु आज एकाएक यत्रो डेपुटी कमान्डर भएर राज्यको अर्थमन्त्री, उपराष्ट्रपति, गृहमन्त्री भएभने हामी पनि लडाइँ भयो भने छिट्टैं नै कमान्डर बनेर राज्यसत्ता कब्जा गरेपछि सांसद मन्त्री सजिलैंसँग भइहाल्छ भन्ने ठूलो सपना देखेर यो पार्टीमा आएको थिए । त्यो सपना देख्नेमा हिजो जनयुद्ध लडेको र नलडेको फ्रेस युवाहरू बराबरी नै थियो । तर एकीकृत जनक्रान्ति उनीहरुले भने जस्तो रातारात लडाइँ लडेर सत्ता कब्जा गरेर सांसद–मन्त्री बनी हाल्ने कार्यदिशा थिएन । यो टिम तुलनात्मक रुपमा दोश्रोखाले ब्यक्तिहरु भन्दा क्रान्तिकारी थियो तर क्रान्ति भनेको एउटा लडाइँ जितेर कमान्डर बनेर राज्यसत्ताको स्वाद चाख्ने कुरा होइन यो त समाज रुपान्तरणको लामो ऐतिहासिक प्रक्रिया हो । यहाँ त जित्नु नि सकिन्छ हार पनि हुन सक्छ । हार मात्र होइन सिङ्गो टिम खरानी भएर अर्को पुस्ताले क्रान्तिको थालनी गर्नु पर्ने पनि हुन सक्छ । त्यसकारण आज हिजो हामी संगै भएका धेरै साथीहरु मोर्चा छोडेर भाग्नु भयो र आज हामी सङ्गैं छैनौं । यसको मुल कारण एकीकृत जनक्रान्तिको कार्यदिशालाई सहि ढङ्गले नबुझेर आफ्नो नीजि जीवन सपार्ने सुत्रको रुपमा बुझेको हुँदा आज धेरै साथीहरु एकीकृत जनक्रान्तिको रिङ्ग बाहिर गएर तान्डब नाँच देखाइरहनु भएको छ ।
अन्तमा जो जो साथीहरु एकीकृत जनक्रान्तिको रिङ्ग बाहिर जानू भएको छ सबैजनाले एकचोटी पुनः एकीकृत जनक्रान्तिको कार्यदिशालाई राम्रोसङ्ग पिधमा गएर अध्ययन गरौ र एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादको निर्धारित यात्रा गरौ । एकीकृत जनक्रान्ति नै त्यस्तो हतियार हो जसको माध्यमबाट आजको भुमन्डलीकृत दलाल पुँजीवादलाई परास्त गरी नेपालमा वैज्ञानिक समाजवादको स्थापना गर्न सकिन्छ ।







