
कम्युनिस्ट क्रान्ति कसरी गर्ने ? कुन बाटो प्रयोग गर्ने ? शान्तिपूर्ण र सशस्त्र संघर्षबारे कुन बाटो प्रयोग गर्ने भन्नेमा मार्क्सदेखि लेनिन र माओसम्म पार्टीभित्र निकैं पेचिला अन्तरसंघर्ष र दुईलाइन संघर्ष चले । शान्तिपूर्ण र सशस्त्र संघर्षलाई बुझ्ने र लागू गर्ने सवालमा विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि निकैं ठूल्ठूला दुईलाइन संघर्ष चल्ने गरे र अहिले पनि चलिरहेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्स एंगेल्स, लेनिन स्टालिन र माओले शान्तिपूर्ण र सशस्त्र संघर्षलाई कहिल्यैं पनि एउटैं कोणबाट हेरेनन् र लागू गरेनन् । कम्युनिस्ट आन्दोलनमा शान्तिपूर्ण र सशस्त्र संघर्ष वा संसदीय संघर्ष र गैर संसदीय संघर्षलाई लागू गर्ने सवालमा मार्क्सवादी लेनिनवादी दृष्टिकोण निकैं सपाट छ । अर्थात् संसदीय संघर्ष र गैर संसदीय संघर्षमा मार्क्स–एंगेल्श, लेनिन–स्टालिन र माओले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर बुझ्ने र लागू गर्ने काम गरे । कुनैं पनि वस्तुलाई एकांगी/अधिभूतवादी कोणबाट होइन वस्तुवादी/द्धन्द्धवादी ढंगबाट हेर्ने र बुझ्ने कोण छन् । मार्क्सवादीहरुले हरेक वस्तुलाई वस्तुवादी/द्धन्द्धवादी ढंगले हेर्छन् भने अमार्क्सवादीहरुले एकांगी/अधिभूतवादी कोणले हेर्ने गर्छन् ।
‘मार्क्सवाद गतिशील विज्ञान हो, ठोस परिस्थितिको ठोस विश्लेषण गर’ भन्ने लेनिनवादी मान्यतालाई आत्मसात् गर्ने हो भने संसदीय संघर्ष र गैर संसदीय संघर्ष अर्थात् शान्तिपूर्ण संघर्ष र हिंशात्मक संघर्षलाई गतिशील र ठोस परिस्थितिको विश्लेषणबाट हेर्न र लागू गर्न आजका क्रान्तिकारी कम्युनिस्टहरु तयार हुनुैपर्छ । यसबारे यस आलेमा छोटो टिप्पणी गर्ने प्रयास गरिनेछ । खासमा के हो मार्क्सवाद ? के हो संसदवाद ? यसबारे केही चर्चा गरिनेछ ।
मार्क्सवाद के हो र संसदवाद के हो ?
सन् १८४८ को कम्युनिस्ट घोषणापत्रलाई मार्क्सवादको उदयलाई मान्ने हो भने संसदीय व्यवस्था (संसद) को इतिहास निकै लामो छ । सामन्तवादको इतिहास तीन हजार वर्षको थियो भने पुँजीवादको इतिहास एक हजार वर्षको छ । त्यसमा विकसित पुँजीवादको इतिहास पााच सय वर्ष मात्र भयो । एक हजार वर्ष र कम्युनिस्ट घोषणापत्रको १७५ वर्षलाई केलाउने हो भने पुँजीवाद जसको राजनीतिक संस्था संसदीय व्यवस्था (संसद) हो, यो व्यवस्था पतनशील व्यवस्था त हो तर तत्काल पतन भइनसकेको व्यवस्था हो । त्यही ससद र संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था निर्माणका लागि कम्युनिस्टहरुले १७५ वर्षदेखि संघर्ष गर्दै आइरहेका छन् । सामन्तवादका विरुद्ध संसदीय व्यवस्था (संसद) प्रगतिशील व्यवस्था हो भने वैज्ञानिक समाजवादी व्यवस्थाको तुलनामा पिछडिएको र लुटको व्यवस्था हो । जसका विरुद्ध मार्क्सवादी र लेनिनवादी कम्युनिस्टहरुले संघर्ष गर्दै आइरहेका छन् ।
सामन्तवादी व्यवस्थाको तुलनामा पुँजीवादी व्यवस्थालाई प्रगतिशील मान्ने मार्क्सवादी दृष्टिकोणअनुसार मार्क्सदेखि लेनिनहरुले संसदलाई ठोस परिस्थितिको ठोस विश्लेषणको रुपमा कहिले उपयोग र कहिले बहिष्कारको रुपमा प्रयोग गर्ने कुरा गरेका छन् । मार्क्सवादी लेनिनवादी सिद्धान्तले मुलतः वर्गसंघर्षलाई जोड दिने कुरा गर्छ भने संघर्षको घनिभूत रुप हिंशात्मक संघर्षलाई लिने गर्छ । बलप्रयोगद्धारा कम्युनिस्ट राज्यसत्ता प्राप्त गर्ने मार्क्सवाद लेनिनवादको मूल आत्मा हो । मार्क्सवादको इतिहासमा बलप्रयोग र हिंशात्मक संघर्षद्धारा कम्युनिस्ट सत्ता प्राप्त गर्ने मुख्य धाराका विरुद्ध एडबर्ड बर्नस्टीन (सन् १८५०–१९३२) ले शान्तिपूर्ण तरिकाले संसदबाट समाजवाद ल्याउन सकिने धारणा ल्याए । यो धाराका विरुद्ध कार्ल काउत्स्की (सन् १८५४–१९३८) र जर्जी प्लेखानोभ (सन् १८५६–१९१८)ले पनि शुरुमा विरोध गरेका थिए तर पछि उनीहरु पनि बर्नस्टीनकैं बाटोमा पुगे ।
संसद र शान्तिपूर्ण संघर्षबारे मार्क्स–एंगेल्सको दृष्टिकोण
विश्व कम्युनिस्ट आन्दोलनमा संसदीय व्यवस्था (संसद)लाई हेर्ने सवालमा मार्क्सवादले गतिशील विज्ञाको कोणबाट हेर्ने गरेको छ । मार्क्सले संसदलाई एउटा कोणबाट व्यापक जनमत प्रयोग गर्न वा विशाल जनपरिचालन गर्नका लागि संसदमा भाग लिनु पर्ने विचार अगाडि सारे । मार्क्सले त यतिसम्म विश्लेषण र भविष्यवाणी गरे कि कुनैबेला संसदबाट वा शान्तिपूर्ण तरिकाले समेत संर्वहारावर्गले राज्यसत्ता लिन सक्ने दाबी गरे । यसबारे एंगेल्स, लेनिन र स्तालिनको पनि यस्तैं यस्तैं धारणा रहेको छ । मार्क्सले एकातिर हिंशात्मक संघर्ष (वा बलप्रयोग) द्धारा सत्ता कब्जा गर्ने कुरा गरिरहे भने अर्कोतिर शान्तिपूर्ण वा संसदीय बाटोबाट पनि कुनैं विशिष्ट परिस्थितिमा सत्ता प्राप्त हुन सक्ने विश्लेषण गरेका छन् ।
मार्क्सवादका संस्थापकहरु मार्क्स–एंगेल्सले संसदीय संघर्ष वा शान्तिपूर्ण संघर्षलाई कुनैं परिस्थितिमा उपयोग वा लागू गर्नुपर्ने बताएका छन् भने मुख्य पक्ष बलप्रयोग वा हिंशात्मक संघर्षलाई जोड दिएका छ्न । सन् १८४७ मा एंगेल्सले ‘साम्यवादका सिद्धान्तहरु’ शीर्षकबारे एउटा प्रश्नोत्तर पुस्तिका लेखे । यसमा एंगेल्स लेख्छन् :
‘प्रश्न १६ : के नीजि स्वामित्वलाई शान्तिपूर्ण उपायहरुद्धारा उन्मूलन गर्न संभव छ ?
उत्तर : हामीले चाहेको कुरा त यही हो र यसको विरोध गर्नेहरुमा कम्युनिस्टहरु सबैभन्दा पछाडि हुनेछन् । कम्युनिस्टहरुलाई के कुरा राम्ररी थाहाा छ भने सबैं षडयन्त्रहरु (यो षडयन्त्र भन्ने शव्द त्यो बेला क्रान्तिकारीहरुका गुप्त संगठन र कार्यवाहीहरुलाई इंगित गर्थे । मार्क्स–एंगेल्स त्यस्ता गुप्त, लुकिछिपी वा छलछाममा आधारित संगठन र क्रियाकलापको विरुद्धमा थिए) प्रयोजनहिन मात्रैं होइनन्, हानिकारक पनि हुन्छन् । र, उनीहरुलाई यो पनि थाहाा छ कि क्रान्तिहरु सुनियोजित र मनमौजी रुपमा तयार गरिन्न बरु सधैं र सबैं ठाउामा निश्चित पार्टी र तिनका वर्गका नेतृत्वका इच्छाबाट स्वतन्त्र परिस्थितिको परिणाम हुने गर्छ ।’ Englels, F.1847. Principle of Communissm in MECW,Vol-6 : 349 .
एंगेल्सका यी भनाईहरु हेर्दा के देखिन्छ भने कम्युनिस्टहरुको चाहना शान्तिपूर्ण तवरले अघि बढ्नुपर्ने रहेको छ । अर्कोतिर पुाजीपतिहरु सर्वहारावर्गकाविरुद्ध हिंश्रक रुपमा आउने हुादा सर्वहारावर्गले हिंशाका विरुद्ध प्रतिहिंशाका लागि तयार हुनुपर्ने बताइएको छ । यसबारे मार्क्स र एंगेल्सद्धारा तयार पारिएको ‘कम्युनिस्ट घोषणापत्र’मा स्पष्ट रुपले उल्लेख गरिएको छ । यो घोषणापत्रमा स्पष्ट रुपले भनिएको छ :
‘आफ्ना विचार र उद्देश्यहरु लुकाउनलाई कम्युनिस्टहरु घृणा गर्छन् । उनीहरु खुल्लमखुला के घोषणा गर्छन् भने वर्तमान सामाजिक अवस्थालाई बलपूर्वक उखलेर मात्रैं उनीहरुको लक्ष्य प्राप्त हुन्छ ।’ Marx-Engels, 1848, Manifesto of The Communist Party,MESW M : 63 .
सो घोषणापत्रमा मार्क्स एंगेल्स एकातिर ‘बलप्रयोगद्धारा वर्तमान सामाजिक अवस्था’लाई उखेल्ने कुरा गरेका छन् भने सोही घोषणापत्रको अर्को ठाउामा ‘मजदुर वर्गद्धारा क्रान्तिको पहिलो कदम सर्वहारा वर्गलाई शासक वर्गको रुपमा उठाउनु, प्रजातन्त्रको लडाइा जित्नु हो’ भनिएको छ । Marx- Engels, Menifesto of Communist Party, lbid.. ।
यहाानेर विरोधाभाषी वा अन्तरविरोधी लाग्ने ती दुई वाक्यांलाई हेर्ने हो भने मार्क्स एंगेल्स एकातिर हिंशावादी देखिएका छन् र अर्कोतिर शान्तिवादी वा संसदवादी जस्तो देखिन पुग्छन् । सारमा मार्क्स एंगेल्स न निरपेक्ष शान्तिवादी थिए न त निरपेक्ष हिंशावादी । त्यो परिस्थितिअनुसार क्रान्तिकारीहरुले ठोस गर्ने कुरा उनीहरुको मुख्य कुरा थियो ।
त्यतिमात्र होइन मार्क्स र एंगेल्सले बेलायत, फ्रान्स र हल्याण्ड अहिलेको (नेदरल्याण्ड) जस्ता देशलाई मूल्यांकन गर्दै ती देशमा कतैं शान्तिपूर्ण तवरले सत्ता कब्जा हुने कुरा गरेका छन् त कुनैं देशमा बल प्रयोग (हिंशात्मक) द्धारा हुने संघर्षमा जोड दिएका छन् । मार्क्सले फ्रान्सको हकमा सशस्त्र संघर्ष वा बलप्रयोगके कुरामा जोड दिएका छन् भने बेलायत, जर्मनी र अमेरिकाजस्ता देशमा शान्तिपूर्ण वा संसदीय संघर्षबाट राज्यसत्ता प्राप्त हुने विश्लेषण गरेका छन् । जस्तो कि मार्क्सले कुगेलमनलाई सन् १८७१ अप्रिल १२ मा लेखेको पत्रमा बलप्रयोग वा सशस्क्र त्रान्तिमा जोड दिएका छन् । सो पत्रमा भनिएको छ :
‘यदि तिमीले मेरो अठारौं ब्रुमेरको अन्तिम अध्याय हेर्यौ भने के देख्नेछौं भने फ्रान्सेली क्रान्तिको अर्को कदम नोकरशाही फौजी संयन्त्रलाई पहिलेजस्तैं एउटा हातले अर्को हातमा दिनु मात्रैं होइन बरु त्यसलाई चकनाचुर पार्नु हुनेछ र यही नैं यूरोपेली महाद्धिपमा कुनैं पनि वास्तविक जनक्रान्ति सम्पन्न हुने कुराको पूर्वशर्त हो ।’ Lenin V.I, 1917, The State & Revolution, LSWM : 228 & Marx, Karl, 1871, Marx letter to Kugelman, MESW.669-70) .
कुगेलमनलाई त्यो पत्र लेखेको डेढ वर्षपछि सन् १८७२ (सेप्टेम्बर) मा मार्क्सले कम्युनिस्ट इन्टरनेशनलको पछिल्लो एम्स्टरडम बैंठकपछि एउटा भाषणमा शान्तिपूर्ण वा बलप्रयोग दुबैं शव्दको प्रयोग गर्न पुगेका छन् । मार्क्सले सो भाषणमा भनेका थिए :
‘श्रमको नयाा संगठन (श्रमिक राज्य) निर्माण गर्नका लागि कुनैं दिन मजदुर वर्गले राजनीतिक सत्ता खोस्नैंपर्छ, उसले पूरानो संस्थालाई आड दिने पूरानो राजनीतिलाई फाल्नैपर्छ …. तर हामीले लक्ष्य प्राप्त गर्नका लागि अपनाइने बाटाहरु सबैं ठाउामा उस्तै हुन्छन् भन्ने दाबी गरेका छैनौं । हामीलाई के थाहाा छ भने अलग अलग मुलुकका संस्कृति, परम्परा र प्रथाहरुलाई ध्यान दिनैंपर्छ र हामी के कुरालाई इन्कार गर्दैनौ भने यहाँ अमेरिका र बेलायतजस्ता मुलुकहरु छन्, यदि तपाईहरुका संस्थाहरुसाग बढी परिचित भएको भए मैले शायद हल्याण्ड पनि थप्थे होला, जहाँ मजदुरहरुले शान्तिपूर्ण माध्यमबाट आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् । …. हामीले कुन तथ्यलाई पनि ध्यान दिनैंपर्छ भने (यूरोपेली) महाद्धिपका धेरैंजसो मुलुकहरुमा क्रान्तिको साधन बल नैं हुनुपर्छ । यो त्यही बल हो जसलाई हामीले कुनैं दिन श्रमिक शासनको निर्माणका लागि आहृवान गर्नैपर्छ ।’ Marx Karl,1872, quoted tucker, RC.1978, The Possibility of Non Violent Revolution, The Marx-Engles Reders, 523 .
मार्क्सले यो भनाईमा एकातिर मजदुरहरुले शान्तिपूर्ण माध्यमबाट आफ्नो लक्ष्य प्राप्त गर्न सक्ने बताएका छन् भने अर्कोतिर बलप्रयोगको चर्चा गरेका छन् । यूरोपेली महाद्धिपको कुरा गर्दा बेलायत र हल्याण्डजस्ता देशमा क्रान्तिको बाटो शान्तिपूर्ण हुन्छ भनेर मार्क्सले किटानी गरेका छन् । अनि फ्रान्समा क्रान्तिको रुप बलप्रयोग हुने बताएका छन् ।
त्यस्तैं एंगेल्सले सर्वहारा वर्गले हिंशात्मक क्रान्तिको बाटो अपनाउनैं पर्नेबारे एक ठाउँमा किटानीका साथ चर्चा गरेका छन् । सन् १८८९ को पत्रमा एंगेल्सले मजदुर वर्गको शर्त नैं सशस्त्र संघर्ष भनेर प्रष्ट रुपले किटानी गरेका छन् । उनी लेख्छन् :
‘सर्वहारा वर्गले हिंशात्मक क्रान्तिबिना राजनीतिक सत्तामा कब्जा जमाउन सक्तैन, जुन नयाँ समाजमा प्रवेशका लागि एउटा मात्र ढोका हो ।’ एंगेल्स, फ्रेडरिख । १८८९, गेर्सन त्रिएरलाई पत्र । मार्क्स–एंगेल्स पत्र व्यहार : २९७ ।
एंगेल्सले योभन्दा अझ बेग्लैं र नयाँ धारणा सन् १८९१ मा व्यक्त गरेका छन् । उनले एउटा महत्वपूर्ण लेख लेख्दैं जर्मनीमा ‘समाजवादी क्रान्ति’ मात्र होइन ‘लोकतान्त्रिक गणतन्त्र’समेत शान्तिपूर्ण रुपमा प्राप्त हुन नसक्ने तर फ्रान्सलगायत कतिपय देशमा समाजवादी क्रान्ति शान्तिपूर्ण रुपमा हुन सक्ने बताएका छन् । यसबारे उनी लेख्छन् :
‘…. ती मुलकहरुमा पूरानो समाज नयाँ समाजमा शान्तिपूर्ण रुपमा रुपान्तरित हुनसक्छ, जहाँ जनताका प्रतिनिधिहरुले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका छन्, जहाा बहुसंख्यक जनताको समर्थन प्राप्त हुादा संवैधानिक हिसाबले सबैं थोक गर्न सकिन्छ : फ्रान्स र संयुक्त राज्य अमेरिकाजस्ता गणतन्त्रहरुमा, बेलायतजस्ता राजतन्त्रमा …. जहाँ जनमतका विरुद्ध राजवंशले केही पनि गर्न सक्दैन ।’ Engels F.1891. A Critique of the Draft- Social Deocartic Programme of 1891.Marxist.org .
यी भनाईहरुलाई सरसर्ती हेर्दा पनि २० वर्ष अगाडि र २० वर्ष पछाडि माार्क्स र एंगेल्सको भनाई आफैंमा ठूलो भिन्नता देखापर्छ । जस्तो कि मार्क्सले २० वर्षअगाडि क्रान्ति सशस्त्र हुनेछ भन्ने कुरा गरेका थिए तर त्यसको २० वर्षपछि एंगेल्स क्रान्तिको शान्तिपूर्ण संभावनाबारे बोल्छन् । सन् १८४८ देखि १८५८ हुादैं ८० सम्म मार्क्सले हिंशात्मक संघर्षबारे दिएको अभिव्यक्तिबारे एंगेल्सले सन् १८८० को अन्त्यतिर वा ९० तिर आएर शान्तिपूर्ण क्रान्तिबारे विश्लेषण गर्न आइपुग्छन् । अझ एंगेल्स आफैंले दुई वर्ष पहिले सशस्त्र संघर्षको संभावनालाई दुई वर्षपछि शान्तिपूर्ण क्रान्ति हुने निचोड निकाल्छन् ।
शान्तिपूर्ण र संसदीय बाटोको बारेमा एंगेल्सले सन् १८९५ मा आएर निकैं विस्तृत विचार प्रकट गरेका छन् । मार्क्सद्धारा सन् १८५० लेखिएको तर १८९५ मा मात्र प्रकाशित भएको ‘फ्रान्समा वर्गसंघर्ष १८४८–१८५०’ नामक पुस्तकको भूमिका लेख्दैं एंगेल्सले जर्मनीको हकमा निकैं किटानीका साथ शान्तिपूर्ण क्रान्तिबारे बोलेका छन् । उनले सो पुस्तकको भूमिकामा लेख्दैं जर्मनमा त्यहााको ‘शासकवर्गले क्रान्तिको कानुनी र शान्तिपूर्ण बाटो बन्द नगर्दासम्म जर्मन सामाजिक जनवादी पार्टीले यही बाटो अवलम्बन गरिरहन्छ र क्रान्ति सम्पन्न गर्छ’ भन्ने सन्देश दिएका छन् । १९ औं शताव्दीका मजदुर आन्दोलनहरुको समग्र मूल्यांकन देखिने यो रचना मार्क्स–एंगेल्सद्धारा लेखिएका अघिल्ला कृतिहरुमा भन्दा यो रचना निकैं विस्तृत र परिपक्व रहेको बताइने गरिन्छ ।
सन् १८४८ को फरवरीमा फ्रान्समा क्रान्ति शुरु भयो । त्यो क्रान्तिकारी आन्दोलन जर्मनी, अष्ट्रिया, इटली आदि मुलुकमा फैलिएको थियो । त्यो क्रान्ति शुरु भएपछि त्यही क्रान्तिबाटैं मजदुरवर्गले निर्णायक विजय पाउनेछ भन्ने सोचाइा मार्क्स र एंगेल्सको रहको थियो । त्यो क्रान्तिको सन्दर्भलाई केलाउादैं उक्त रचनामा एंगेल्सले लेखेका छन् :
‘त्यो परिस्थितिमा हामीलाई निसन्देह रुपले के लागेको थियो भने महान् र अन्तिम लडाइा आरम्भ भइसकेको छ, यो एउटैं, लामो र तुफानी क्रान्तिकारी लडाइाको समय हुनेछ ….. यो सर्वहारा वर्गको अन्तिम विजयमा टुंगिनेछ ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 644 .
सन् १८९५ मा आएर एंगेल्सले मार्क्स र आफ्ना पूराना धारणा अनि सोचहरुको गहिरोगरी समीक्षा गरेका छन् । उनले सन् १८४८ देखि १८५८ हुादैं १८७१–८० सम्म मार्क्स र आफुले व्यक्त गरेका धारणा पूरानो भइसकेको निचोड निकालेका छन् । आफ्ना पूराना धारणाहरुप्रति गंभीर समीक्षा गर्दै एंगेल्सले विगतका आफुहरुको कमजोरीहरुलाई केलाउदैं लेख्छन् :
‘तर इतिहासले हामीलाई गलत भएको पनि देखाएको छ । इतिहासले त्यस बेलाको हाम्रो दृष्टिकोण गलत थियो भन्ने देखाएको छ । …. हामीमा रहेका त्यस बेलाका धारणा र विचार त्रुटिपूर्ण थिए भन्ने देखाएको छ । त्यसले सर्वहारा वर्गले लड्नुपर्ने अवस्थाहरुलाई पूर्णतः फेरबदल गरिदिएको छ । सन् १८४८ को संघर्षको तरिका अहिले हरेक हिसाबले पूरानो भएको छ र यस कुरामा अहिले गंभीर अध्ययन गर्नुपर्छ ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 644-5 .
मार्क्स र एंगेल्सका पुस्तकहरुमा व्यक्त गरिएका भनाईहरुलाई अंश अंशमा बुझ्ने धारणा बेठीक हुन्छन् । किनकि २० वर्ष, १० वर्ष र ५ वर्षको बीचमा परिस्थिति कति छिटो बदलिन्छ भन्ने कुराको हेक्का वैज्ञानिक नेतृत्वले लिन सक्नुपर्छ भन्ने एंगेल्सका पछिल्ला धारणाहरु हेरे पुग्छ । जस्तो कि सन् १८९१ तिर जर्मनीमा ‘बलपूर्वक क्रान्ति हुन्छ’ भन्ने एंगेल्सले चार वर्षपछि अर्थात् सन् १८९५तिर क्रान्तिको संभावना ‘शान्तिपूर्ण’ देख्छन् । यसले जर्मनीको चार वर्षको बीचमा कति धेरैं राजनीतिक परिस्थिति बदलिएको रहेछ भन्ने देखाउछ । सन् १८९५ मा आउँदा एंगेल्स लेख्छन् :
‘इतिहासले ….. के कुरा स्पष्ट पारिदिएको छ भने त्यस बेलाको (यूरोपेली) महाद्धिपको आर्थिक विकासको अवस्था पुँजीवादी उत्पादनलाई उन्मूलन गर्नका लागि परिपक्व भइसकेको थिएन ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 646 .
सन् १८९५ मा जर्मन सामाजिक जनवादी पार्टीले संसदीय निर्वाचनमा भाग लिएपछि प्राप्त गरेको उपलव्धिको चर्चा एंगेल्सले सविस्तार गरेका छन् । जर्मनमा प्राप्त गरेको यो उपलव्धिलाई सबैं देशका मजदुर आन्दोलनकारीहरुले आन्दोलनको नमुना बनाउनुपर्ने धारणा राख्दैं एंगेल्स लेख्छन् :
‘अहिले जब विस्मार्क आम मताधिकार लागू गर्न बाध्य भयो…मजदुरहरुले तत्कालैं त्यसलाई गंभीरतापूर्वक लिए र अगस्त बेबेललाई पहिलो संसद (राइखस्टाग) मा पठाए । र, त्यसै दिनदेखि उनीहरुले आम मताधिकारलाई यसरी प्रयोग गरे कि त्यसले हजारगुणा बढी फाइदा दियो र अरु सबैं देशका मजदुरहरुका लागि नमुना बन्यो । फ्रान्सेली मार्क्सवादी कार्यक्रमको शव्दमा भन्ने हो भने त्यो मताधिकार पुँजीपतिहरुले प्रयोग गर्ने पहिलेको छलकपटको साधनबाट श्रमिक वर्गको मुक्तिको उपकरण बन्यो ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 650 .
क्रान्तिका लागि बलपूर्वक होइन सचेत मानिसको संख्या धेरैं हुनुपर्नेमा एंगेल्सको बढी जोड रहेको देखिन्छ पछिल्ला दिनमा । सानो संख्या र अचेतन जनताको अगुवाई गरेर क्रान्ति नहुने भन्दैं एंगेल्सले पछिल्ला क्रान्तिमा सचेत बहुसंख्या चाहिनेबारे यसरी लेख्छन् :
‘अचेतन जनसमुदायको अगुवाई गरेर थोरैं सचेत अल्फसंख्यक मानिसहरुले आकस्मिक आक्रमण गर्ने त्रान्तिका दिन गए । यदि यो सामाजिक व्यवस्थाको आमुल परिर्वनको प्रश्न हो भने जनसमुदाय स्वयं यसमा संलग्न हुनैपछै । के हुन्छ ? केका लागि उनीहरु अगाडि बढ्दैंछन् भन्ने कुरा (स्वयं उनीहरुले) भौतिक र मानसिक रुपमा बुझिसकेको हुनैपर्छ ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 654 .
जर्मन सामाजिक जनवादी पार्टीले संसदीय निर्वाचनमा हासिल गरेको जीतलाई एंगेल्सले निर्णायक जितका लागि प्रयोग गरिनुपर्ने बताएका छन् । यो जित आफुहरुको मुख्य कार्यभर हुनुपर्ने धारणा राख्दैं एंगेल्सले भनेका छन् :
‘यो (विजय) यसैगरी बढदैं गयो भने यो शताव्दीको अन्त्यसम्ममा (अर्थात् १९०० सम्ममा) समाजको मध्यम तह, निम्न पुँजीपति र साना किसानको ठूलो हिस्सालाई हामीले आफ्नो पक्षमा ल्याऊनेछौं र मुलुकको निर्णायक शक्ति हुनेछौं, चाहेर र वा नचाहेर यसका अगाडि अरु सबैं शत्तिहरु झुक्नुपर्नेछ । यस विकासलाई अहिलेको शासनको नियन्त्रणका सीमाभन्दा बाहिर नपुग्दासम्म निर्वाध रुपमा कायम राखिरहनु, यो दैनिक रुपमा बढिरहेको Shock Force लाई ससाना मामिलामा खर्च हुन नदिनु, बरु निर्णायक दिनसम्म यस बृद्धिलाई कायम राख्नु हाम्रो मुख्य कार्यभार हो ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 655 .
वैधानिक संघर्ष वा कानुनी संघर्षले ठूलो सफलता हात पारेको प्रसाग कोट्याउादैं एंगेल्सले हिंशात्मक संघर्षभन्दा वैधानिक संघर्ष वा संसदीय संघर्ष बलशाली बन्दैं गएकोमा खुशी व्यक्त गरेका छन् । यो संघर्षले विश्व इतिहासमा ठूलो हेरफेर ल्याएको एंगेल्सको दाबी छ । पछिल्ला कम्युनिस्टहरुले यही बाटो पछ्याउनैं पर्नेबारे एंगेल्स यसरी सविस्तार चर्चा गर्छन् :
‘विश्व इतिहासको विडम्बनाले सबैं कुरालाई उलटपुलट पारिदिन्छ । हामी …गैर कानुनी तरिकाभन्दा कानुनी तरिकाले सप्रिरहेका छौं । ती स्वघोषित सुव्यवस्था का पार्टीहरु उनीहरु स्वयंले निर्माण गरेका कानुनी अवस्थाअन्तर्गत नष्ट हुादैछन् । उनीहरु…. हताश भएर रोईकराई गर्दै भन्छन् : वैधानिकता (Legality) नैं हाम्रो मृत्यु हो, जबकि यही वैधानिकताअन्तर्गत्.. अनन्त जीवन पाएजस्तो देखिन्छौं । र, यदि हामी उनीहरुलाई खुशी पार्न सन्किएर सडक संघर्षमा बहकिएनौं भने उनीहरुका लागि अन्ततः यो घातक वैधानिकता तोड्नुबाहेक अर्को चिज बाँकी रहनेछैंन ।’ Engels F.1895. Introduction to Marx’s The Class Struggle in France. MESW : 656 .
सन् १८९५ को संसदीय निर्वाचनमा जर्मन सामाजिक जनवादी पार्टीले प्राप्त गरेको भोट निकैं ठूलो सफलता थियो । जबकि सन् १८८४ मा सोही पार्टीले संसदीय मतको एकतिहाई पनि पाएको थिएन । यी माथिका उपरोक्त सन्दर्भलाई केलाएर हेर्दा मार्क्स र एंगेल्सले आफ्ना पछिल्ला दिनमा श्रमिक जनताको बहुसंख्यालाई जोड दिन थालेका थिए । उनीहरु मजदुर आन्दोलनमा प्रत्यक्ष रुपले संलग्न हुन थालेपछि जीवनभर वैधानिक संघर्ष वा श्रमिक जनताको बहुमत विचारमा कायम रहिरहे । क्रान्तिको वैधानिक स्वरुपबारे मार्क्स एंगेल्सको भनाई छ :
‘पहिलेका सबैं ऐतिहासिक आन्दोलनहरु अल्पमतले वा अल्पमतको हितमा गरिएका आन्दोलन थिए । सर्वहारा आन्दोलन अपार बहुमतको हितका लागि स्वयं सचेत र स्वतन्त्र आन्दोलन हो ।’ Marx-Engels.1848. Manifesto of The Communist Party. MESW : 45 .
सर्वहारा क्रान्तिको वैधानिकता कसरी प्राप्त हुन्छ ? सर्वहाराहरु कसरी संगठित हुन्छन् वा सर्वहारा क्रान्तिको वैधानिकता के हो ? यसबारे मार्क्सको भनाई छ :
‘मजदुरहरुसाग सफलताका लागि एउटा चिज छ, त्यो हो–संख्या । तर त्यो संख्या तब मात्रैं निर्णायक हुन्छ जब जनता संगठनमा एकताबद्ध हुन्छन् र ज्ञानले उनीहरुको नेतृत्व गर्छ ।’ Marx,Karl. 1864. Inaugural Address of the International Working Men’s Association.Marxist.org .
संसद र संसदवादबारे लेनिनवादी दृष्टिकोण
संसदीय संघर्ष, हिंशात्मक संघर्ष वा शान्तिपूर्ण संघर्षबारे लेनिनको पनि मार्क्स र एंगेल्सको जस्तैं उतारचढावपूर्ण विचार देखिन्छ । सन् १९०५ देखि १९१७ सम्म एउटा श्रृंखला देखिन्छ । यो श्रृंखलामा लेनिनले हिंशात्मक संघर्षलाई बढी जोड दिएका छन् । साथैं शान्तिपूर्ण संघर्षलाई पनि छोडेका छैनन् । सामाजिक क्रान्तिको बाटो हिंशात्मक वा शान्तिपूर्ण ? संसदीय संघर्ष वा गैर संसदीय संघर्षमध्ये कसलाई ध्यान दिने ? यसबारे लेनिनको सन् १९२० मा पुग्दा मात्र सपाट धारणा आएको देखिन्छ ।
सन् १९२० मा लेनिनले निकैं बहुचर्चित ‘वामपन्थी साम्यवाद : एक बालरोग’ नामक कृति लेखे । त्यो समय सन् १९१७ देखि १९२० को अवधि विश्व कम्युनिस्ट आन्दोलन निकैं उग्रतामा अघि बढ्दैं थियो । किनकि भर्खरैं मात्र रुसमा अक्टोबर सशस्त्र त्रान्ति सम्पन्न भएको थियो । त्यही समय पहिलो विश्वयुद्धको असान्दर्भिकता, त्यसले निम्ताएको ध्वंशात्मकता र विश्वव्यापी संकटले विश्वभरि सर्वहारा आन्दोलन आकर्षित र उद्देलित हुनु स्वभाविक थियो । रुसको अक्टोबर क्रान्तिबाट उत्साहित भएर विश्वभरका मजदुर आन्दोलनले उत्ताउलो भएर उग्रताहरु प्रदर्शन गर्न थालेका थिए । यसबाट लेनिन निकैं चिन्तित र भयभित थिए । त्यही समय बेलायत, जर्मनी, अमेरिका, इटलीलगायत अन्य देशमा कम्युनिस्ट र मजदुर आन्दोलनले शान्तिपूर्ण बाटोबाट उपलव्धिहरु हासिल गर्ने कयौं बाटाहरु मौजुद रहादा रहादैं पनि मजदुर आन्दोलनकारीहरुले हिंशात्मक संघर्षमा जोड दिन खोजिरहादा लेनिनले शान्तिपूर्ण, कानुनी तथा संसदीय संघर्षलाई प्राथमिकतामा राख्न जोड दिएका थिए ।
लेनिनले सर्वहारा तथा मजदुर वर्गको क्रान्तिको सेवामा शान्तिपूर्ण आन्दोलनहरुलाई प्रयोग गर्न, जनसमुदायसाग व्यापक र गहिरो सम्वन्ध बढाएर लोकप्रिय आन्दोलनको नेतृृत्व गर्न आन्दोलनका लागि उत्साहित भएका देशका मजदुर आन्दोलनकारीहरुलाई गहिरो सन्देश र शिक्षा दिन पनि उनले १९२० मा ‘वामपन्थी साम्यवाद : एक बालरोग’ पुस्तक लेख्नु परेको हो । रुसको क्रान्ति विद्रोह नैं थियो, त्यसमा अझ सशस्त्र विद्रोह नैं थियो । तर त्यो विद्रोहको हुबहु नक्कल गरेर त्रान्तिका लागि उत्ताउलो प्रदर्शन गर्न खोज्नेहरुलाई लेनिनले सन् १९१७ को रुसी सशस्त्र विद्रोह आमभन्दा विशिष्ट विद्रोहको रुपमा बुझ्न सो पुस्तकमा चर्चा गर्न खोजेका छन् । सो पुस्तकमा लेनिन लेख्छन् :
‘परिस्थितिले हतियार उठाउने अनुमति नदिए पनि ….यदि हामीले संघर्षका सबैं तरिका प्रयोग गर्न जानेका छौं भने विजय निश्चित छ । किनकि हामीले सााच्चिकैं अगुवा र क्रान्तिकारी वर्गको प्रतिनिधित्व गरेका छौं । कानुनी क्षेत्रमा पुँजीपति वर्गले मजदुरहरुलाई पटक पटक धोका दिएको छ, छलछाम गरेको छ ….त्यसो हुादा अनुभवहिन क्रान्तिकारीहरुले प्रायः संघर्षका कानुनी तरिका अवसरवादी हुन्छन् भन्ने सोच्छन् । यो गलत कुरा हो । सााचो कुरा के हो भने मजदुरवर्गका लागि ती नेता र पार्टीहरु धोकेबाज र अवसरवादी हुन्, जसले १९१४–१८ को साम्राज्यवादी युद्धको जस्तो अवस्थामा पनि गैरकानुनी तरिका अपनाउन असमर्थ हुन्छन् वा चाहादैनन्….,जतिबेला सबैभन्दा स्वतन्त्र प्रजातान्त्रिक मुलुकका पुँजीपति वर्गले सबैभन्दा निर्लज्जता र निदर्यतापूर्वक मजदुरहरुलाई धोका दिएका थिए र युद्धको लुटाहा चरित्रलाई ढाकछोप गरेका थिए ।’ Lenin,1920. Left Wing Communism : An Infantile Disorder- LSW : 571 .
वास्तवमा लेनिन एक गतिशील र क्रान्तिकारी नेता थिए । उनले नैं भनेका थिए, ‘मार्क्सवाद गतिशील विज्ञान हो’ र ‘ठोस परिस्थितिको ठोस विश्लेषण गर’ । हामीले लेनिनलाई सन् १९०५, १९१२, १९१७ र १९२० को समयलाई एउटैं पाटोबाट हेर्न मिल्दैन । मात्र त्यो बेलाको वस्तुगत परिस्थितिमा लेनिनले चालेका कदमहरु कत्तिको आम र विशिष्ट थिए भन्ने कोणबाट हेर्नुपर्दछ । लेनिन क्रान्तिकारी हुनुका साथैं यति विद्रोही, सिर्जनशील र गतिशील नेता थिए भन्ने कुरा उनका सन् १९०५ देखि १९२० सम्मका विचार र गतिविधिबाट हेरे पुग्छ । लेनिन कतिबेला मार्क्सका भनाईहरुलाई इन्कार गरेर अघि बढ्न खोज्छन्, कतिबेला एंगेल्सका भनाईहरुलाई अति सामान्यकरण गरेर हेर्ने हााट गर्छन् । कुनैबेला उनले आफ्नो हिंशात्मक संघर्षसम्वन्धी विचारलाई आम विचारको रुपमा लिन पुग्छन् त कतिबेला त्यही विचार रुसको सन्दर्भमा मात्र विशिष्ट हो भन्ने निचोडमा पुग्छन् ।
रुसी सन्दर्भमा पनि लेनिनले कुनैबेला गैर संसदीय संघर्षलाई आम मान्यताको रुपमा लिएका छन् त कतिबेला त्यसलाई विशिष्टकृत गर्ने गरेका छन् । जस्तो कि सन् १८९५ देखि १९०५ को चरण सशस्त्र विद्रोहको हुाकार थियो तर त्यही सशस्त्र विद्रोह सन् १९०५ मा असफल भएपछि लेनिनले सन् १९०७ देखि १९१२ सम्म संसदीय वा कानुनी संघर्षलाई जोड दिन्छन् । अर्को तथ्य यो पनि थियो कि लेनिनले सन् १९१७ मा ‘राज्य र क्रान्ति’ नामक कृति लेख्दा संसारभर संसदीय व्यवस्था स्थापना भएपनि त्यसमा आम मताधिकार स्थापित भइसकेको थिएन । त्यसैगरी हामी स्टालिनलाई प्रायगरी सशस्त्र संघर्षमा जोड दिने नेताका रुपमा बुझ्ने गर्छौ । तर तिनैं स्टालिनले ‘लेनिनवादका आधार’ नामक कृति लेखेर संसदीय संघर्षको औचित्यबारे बोलेका छन् । सो पुस्तकमा उनी लेख्छन् :
‘संसदलाई उपयोग गर्ने संघर्षको कार्यनीति अवलम्बन गर्नु नैं दोस्रो अन्तर्राष्ट्रियताको घातक अपराध होइन बरु त्यसले संसदवादलाई अतिरञ्जित गर्नु र वास्तवमा त्यसैलाई संघर्षको एक मात्र रुप मान्नु चााहि घातक अपराध हो ।’ Stalin.J.V. .1924. Foundations of Leninism. Problesms of Leninsism : 70 .
विशाल जनतासाग जोडिएर जाने प्लेटफर्म बन्छ भने कम्युनिस्टहरुले जुनसकैं ठाउालाई उपयोग गर्नु अपरिहार्य हुन्छ भन्नेमा लेनिनको विशेष जोड रहेको छ । उनले जनताको ठूलो पंक्तिलाई पार्टी र आन्दोलनमा जोड्न पनि प्रतिक्रियावादी वा पुाजीवादी मंचहरु प्रयोग गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् । जस्तो कि लेनिनको यो भनाईलाई हेरौं न :
‘कम्युनिस्टहरूले प्रतिक्रियावादी ट्रेड युनियनहरूमा काम गर्नु हुँदैंन भन्ने हास्यास्पद ‘सिद्धान्त’, ‘सामान्य जनता’ लाई प्रभाव पार्ने प्रश्नमा ‘वामपन्थी’ कम्युनिस्टहरूको छुद्र मनोवृत्ति र ‘जनता’ को तिनीहरूको शोरपूर्ण गालीको चर्को आलोचना भएको छ । यदि तपाई ‘जनता’ लाई मद्दत गर्न र ‘जनता’ को सहानुभूति र समर्थन जित्न चाहनुहुन्छ भने तपाईसँग ‘नेताहरू’ आवश्यक छ (जो, अवसरवादी र सामाजिक–अराजकतावादी भएर, कठिनाइहरूसँग डराउाछन् वा चुट्की, छल, अपमान र उत्पीडन छ ) भने धेरैजसो अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुँजीपति वर्ग र प्रहरीसाग जोडिएको हुन्छ तर जहाँ जनता भेटिन्छन्, उनीहरूसाग पूर्ण रूपमा काम गर्नुपर्छ । ती संस्थाहरू, समाजहरू र संघहरू–सबैभन्दा प्रतिक्रियावादीहरू पनि–जसमा सर्वहारा वा अर्ध–सर्वहारा जनता फेला पर्नेछन् । ट्रेड युनियनहरू र श्रम सहकारीहरू (कहिलेकाहीं कम्तिमा) एउटै संस्थाहरू हुन् जसमा जनता भेट्टाउन सकिन्छ । स्वीडिश पेपरFolkets Dagblad Poli Tiken मा १० मार्च, १९२० को उद्धृत तथ्याङ्कअनुसार ग्रेट ब्रिटेनमा ट्रेड युनियन सदस्यता १९१७ को अन्तमा ५,५००,००० बाट १९१८ को अन्तमा ६,६००,००० बृद्धि भयो जो १९ प्रतिशत हो । १९१९ को अन्त्यमा सदस्यता ७,५००,००० अनुमान गरिएको थियो । मसाग फ्रान्स र जर्मनीको लागि सान्दर्भिक तथ्याङ्कहरू छैनन्, तर पूर्ण रूपमा निर्विवाद र सामान्य रूपमा ज्ञात तथ्यहरूले यी देशहरूमा पनि ट्रेड युनियन सदस्यतामा द्रुत वृद्धिको प्रमाण दिन्छ ।’Lenin. V. I. 1920. The Left Wing Communism : An Infantile Disorder-53 : LCW .
लेनिन र स्टालिनपछि विश्व कम्युनिस्ट आन्दोलनमा माओको विचारले विश्वलाई नेतृत्व गर्न र विश्वभरि निकैं ठूलो प्रभावित पार्यो । लेनिनपछि संघर्षका रुप र कार्यक्रम सबैं माओसँग जोडिएर आउने गरे । माओले चीनको सन्दर्भमा विकास गरेका सिद्धान्त र कार्यक्रम निकैं मौलिक भएपनि आजको सन्दर्झमा ती सबैं कार्यक्रमहरु हृाम्रा लागि मार्गदर्शक त छन् तर कार्यदिशा र कार्यत्रमका हिसाबले ती सबैं यान्त्रिक ढंगले हुबहु लागू हुन सक्दैनन् । माओले लेनिनको रुसभन्दा झिन्नैं ढंगले क्रान्तिको कार्यत्रम तय गर्नुपर्यो । चीनमा संसदीय व्यवस्था नभएकोले संसद उपयोगका कार्यक्रम तय हुन सक्दैनथ्यो । चीनमा प्रगतिशील समुहले कम्युनिस्ट पार्टी स्थापना नगर्दै सन् १९१९ तिर जनसंघर्षका कार्यक्रमहरु अगाडि बढाउन खोजिरहादा त्यहाँको सामन्ती राज्यले सशस्त्र दमनको बाटो अपनाएपछि सन् १९२१ म कम्युनिस्ट पार्टी स्थापना भएपछि सशस्त्र सामन्ती राज्य र विदेशी साम्राज्यवादी शत्तिहरुले चीनमा गरेको उत्पीडनका विरुद्ध त्यहाँका क्रान्तिकारी कम्युनिस्टहले संसदीय वा शान्तिपूर्ण बाटो अवलम्बन गर्ने ठाउँ नैं पाएनन् । त्यसैले चीनको कम्युनिस्ट पार्टीको इतिहासमा जनसंघर्ष वा संसदीय संघर्ष भन्दा सशस्त्र जनयुद्ध वा गैर संसदीय संघर्ष प्रधान बन्न गयो ।
चीनमा सशस्त्र जनयुद्धको ऐतिहासिक र तात्कालिक आवश्यकताबारे चर्चा गर्दै माओले सन् १९३८ मा एउटा लेख लेख्दैं भनेका छन् :
‘सकेसम्म धेरैं सहयोगीहरुसँग एकताबद्ध हुनु, सशस्त्र संघर्ष गर्नु र परिस्थितिअनुसार राष्ट्रिय र सामाजिक मुक्तिको निम्ति घरेलु वा विदेशी सशस्त्र प्रतिक्रान्तिको विरुद्ध संघर्ष गर्नु चिनियाँ सर्वहारा वर्गको सामुन्ने झण्डैं यसको जन्मकालदेखि नैं आइलागेको मुख्य अभिभारा हो । सशस्त्र संघर्ष नगरिकन चीनमा सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीको निम्ति कुनैं स्थान रहनेछैन र कुनैं क्रान्तिकारी अभिभारा पूरा गर्न असंभव हुनेछ ।’ माओत्सेतुङ । १९३८ । युद्ध र रणनीतिका समस्याहरु । माओत्सेतुङका चुनिएका रचनाहरु, भाग २ : १९४–१९५ ।
त्यही कार्यदिशा र रणनीति अन्य देशका कम्युनिस्ट पार्टीले जस्ताको तस्तैं अवलम्बन गर्न आवश्यक छ वा छैन भन्नेबारे माओले त्यही लेखमा भनेका छन् :
‘अरु देशहरुमा हरेक पुँजीवादी पार्टीका निम्ति आफ्नो प्रत्यक्ष नेतृत्वमा सशस्त्र सेना हुनु जरुरी छैन । तर देशको सामन्ती विभाजन हुनाले, जमिन्दार वा पुाजीपति वर्गका जुन जुन समुहरु वा पार्टीहरुसाग बन्दुक छन्, तिनकैं हातमा सत्ता रहेकोले र बढी हुनेहरुका हातमा सत्ताको बढी भाग रहेकोले चीनको स्थिति भने बेग्लैं खालको छ ।’ माओत्सेतुङ । १९३८ । युद्ध र रणनीतिका समस्याहरु । माओत्सेतुङका चुनिएका रचनाहरु, भाग २ : १९७ ।
माओको अघिल्लो र पछिल्लो भनाईबीच पनि धेरैं भिन्नता छ । माओको अघिल्लो भनाईमा आफ्नो देशको विशिष्ट अवस्थामा सशस्त्र जनयुद्धको अपरिहार्यताबारे जोड दिइएको छ भने पछिल्लो भनाईमा विभिन्न देशका आ–आफ्नैं ठोस परिस्थितिअनुसार कदम चाल्नु उपयुक्त हुने बताइएको छ । मार्क्स–एंगेल्स, लेनिन–स्टालिन र माओले मार्क्सवादलाई अन्धनक्कल वा रुढीवादका रुपमा होइन सिर्जनशील र गतिशील विज्ञानको रुपमा विकसित गर्ने काम गरे । त्यही भएर उनीहरु आफ्नो युगमा सफल विचारक र राजनीतिज्ञको रुपमा स्थापित हुन पुगे । माओपछि आजको दुनियाामा कुनैं पनि कम्युनिस्ट आन्दोलनहरु किन सफल हुन सकेनन् ? किन लेनिन र माओजस्ता क्रान्तिकारी नेताहरु जन्मन सकेनन् ? यसको जबाफ आजका क्रान्तिकारी नेताहरुले दिनैंपर्ने भएको छ ।
बुर्जुवा संसदको संक्रमणकालिन विकल्प के ?
करिब एक हजार वर्षको इतिहासमा पुँजीवादको राजनीतिक प्रतिनिधि संस्था संसदीय व्यवस्था (संसद) ले जनताको ठूलो पंक्तिलाई जर्बजस्त तान्न सफल भएको छ । तत्कालिन रुपमा कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवादले ठ्याक्कैं निर्विकल्प दिन नसकेको बेला आजको विश्वको ठूलो भूभाग र जनमत त्यही व्यवस्थाबाट संचालित छ । चीन, क्युबा, उत्तर कोरिया, लाओस, भियतनामलगायत देशमा एकखालको व्यवस्थाले काम गरिरहेको बेला विश्वका अधिकांश मुलुक त्यही बुर्जुवा संसदीय व्यवस्थाको जालमा नराम्रोगरी फसेका छन् ।
संसदको उत्पति र विकास
वास्तवमा ‘संसद’ शव्द फ्रान्सेली ‘पार्लर’ बाट आएको मानिन्छ । जसको अर्थ हो ‘बात’– कुरा गर्नु हो । संसद निर्वाचित प्रतिनिधिको एक समुह हो, जसको साथमा कानुन बनाउने शक्ति हुन्छ ।
पूरानो इतिहासमा संस्कृतसम्वन्धी महत्वपूर्ण मामलाबारे चर्चा गर्न र निर्णय लिनका लागि नेताहरुको एक सभा आयोजना हुने गर्थ्यो । यो कुराको प्रमाण प्राचीन मेसोपोटामिया (आधुनिक सिरिया र इराक) मा २५ सय इसापूर्व नागरिकहरुको सभा आयोजना हुन्थ्यो । जो प्रथम सभामा आजको आधुनिक संसद जस्तैं थिए– प्राचीन ग्रीस र रोममा आयोजना हुने संसदजस्तैं ।
त्यसैगरी ५ सय पूसापूर्व प्राचीन युनानले एक एक्लेसिया एसेम्बलीको स्थापना गरेको थियो, जो ग्रीसको मध्य एथेन्सको पहाडी भूभागमा पर्दथ्यो । एक्लेसिया एसेम्बली वर्षमा दर्जनौंपटक बैठक बस्थ्यो र जसमा पुरुष नागरिकले भाग लिन्थे, जहाा उनीहरुले आफ्नो सैन्य प्रशिक्षण समेत लिने गर्थे । निर्णयपछि पत्थर वा माटोको छापद्धारा मतदान गरिन्थ्यो ।
रोमण गणराज्य जसको स्थापना ५०९ इसापूर्व आसपासमा भएको थियो, जहाा दुई निर्वाचित कन्सुलरहरुद्धारा शासन चल्ने गर्दथ्यो । जसले सिनेटको सल्लाहमा काम गर्थे । सिनेटमा धनी र उच्च परिवारका ३ सय सदस्यहरु हुन्थे । कानुनहरुलाई विभिन्न सभाद्धारा अनुमोदन गरिन्थ्यो ।
इंग्ल्याण्डको प्रारम्भिक संसद
ब्रिटिश संसदको उत्पति दुई प्रारम्भिक एंग्लो–सेक्सन विधानसभा (विटान र मुट्स) थियो । विटान (संसद)ले आठौं शताव्दीतिर भूमी, कर, रक्षा र विदेश नीतिबारे सम्राटलाई सल्लाह दिने गर्दथ्यो । विटान एंग्लो–सेक्सन शव्द विटाना जेमोटबाट आएको हो, जसको अर्थ ‘बुद्धिमान पुरुष’को बैंठक मानिथ्यो ।
विटानसाग कुनैं स्थायी सदस्यता थिएन तर राजाले बोलाएपछि भेट्ने सल्लाहकार र कुलीनहरु मिेलेर बनेको थियो । साथैं विटानसाग कानुन बनाउने कुनैं शक्ति थिएन । तर राजा भने त्यो सभासाग परामर्श गर्नका लागि बाध्य हुन्थे, किनभने तिनीहरु शासन गर्नका लागि कुलीनहरुको समर्थनमा भर पर्दथे ।
सन् १०६६ मा विलियम बिजेताले बेलायतलाई आक्रमण गरे । बिलियमले क्युरिया रेजिस किंग्स काउन्सिल भनेर चिनिने सल्लाहकारहरुको सानो तर स्थायी समुहको सहयोगमा शासन गरे । यसमा राजाद्धारा नियुक्त कुलीन र चर्चका नेताहरु थिए । तिनीहरु निर्वाचित हुादैनथे, त्यसैले औपचारिक रुपमा कसैको प्रतिनिधित्व गर्दैनथे ।
विटनजस्तैं जसलाई उसले विस्थापित गर्यो, कुरिया रेजिसले राजाको अनुरोधमा मात्र सल्लाह लिन्थे तर उसलाई सल्लाहका लागि कुनैं आवश्यक थिएन । राजाले कहिलेकााही धनी र चर्चका मान्छेहरुको एक समुहको परामर्शपछि ग्रेट काउन्सिल ‘हाउस अफ लड्स’मा विकसित गरे ।
मुट्सहरु स्थानीय मुद्धाहरु छलफल गर्न र कानुनी मुद्धाहरुको सुनुवाई गर्न प्रत्येक काउन्टी र शायर (प्रान्त) मा आयोजित स्थानीय सभाहरु थिए । तिनीहरु स्थानीय लड्स, विशप शेरिफगरी प्रत्येक गाउाका चार प्रतिनिधिबाट बन्थे । स्थानीय प्रतिनिधिहरुद्धारा आफ्नो समुदायका लागि निर्णय लिने कानुन अन्तत ‘हाउस अफ कमन्स’को रुपमा स्थापना भयो ।
संक्रमणमा रहेको संसद
१३ औं शताव्दीको शुरुवातमा इंग्लाण्डका राजा जोनले फ्रान्ससाग एक लामो युद्ध छेडे । युद्धपछि फ्रान्सका सामन्ती ब्यारेनमाथि कर लगाएर अर्थतन्त्र व्यवस्थित गर्ने गरे । सामन्ती कानुनअन्तर्गत राजाले ब्यारेनहरुलाई जग्गा–जमिनहरु दिए, बदलामा उनीहरुसाग पैसा र सेना मागे । यसको मतलव ब्यारेनहरुले जग्गाका मालिकमाथि कर लगाउन थाले । राजाले आफ्ना विरोधीहरुलाई दबाउन न्याय–प्रणालीको प्रयोगले पनि व्यापक असन्तुष्टी पैदा गर्यो । सन् १२१५ मा राजा र जोनका माग अनि उनीहरुसाग परामर्श गर्नमा असफल भएपछि ब्यारोनहरुले विद्रोह गरेका थिए ।
जुन १२१५ मा विदोह शुरु भएको एक महिनापछि राजा जोनले म्याग्ना कार्टा (महान् बडापत्र)मा सहमत हुन बाध्य भए । यसले राजाको शक्तिलाई कानुनको अधिनमा ल्याएर सीमित गर्यो । म्याग्ना कार्टाले सामन्ती प्रथा र न्याय प्रणालीको संचालनलाई पुष्टि गर्यो र म्याग्ना कार्टालाई सल्लाह दिने र ब्यारेनहरुसाग सल्लाह लिने अधिकार छ भनेर मान्यता दियो ।
म्याग्ना कार्टाको सुधारका बाबजुद राजा र संसदबीचको अन्तरविरोध हल हुन सकेन । ११ औं शताव्दीबाट राजा र संसदबीचको संघर्ष निरन्तर चल्न थाल्यो । त्यो संघर्ष १८ औं शताव्दीसम्म चल्यो । तर आजको आधुनिक दुनियाामा बेलायती संसदको आधुनिक जग १७ औं शताव्दीको उतरार्द्धमा दुई राजनीतिक दल व्हिग्स र टोरिजको उदयका साथ भयो । यी दुई राजनीतिक दल पहिले त्यति संगठित थिएनन् । व्हिृग्सको मान्यता थियो कि ब्रिटिश संसद सम्राटमा अधिक हुनुपर्छ । १९ औं शताव्दीमा आएर व्हिृग्स पार्टी परिवर्तनको पक्षमा आयो, जो पछि लिवरल पार्टी बन्न पुग्यो । आज यो लिवर डेमोक्रेट पार्टीको रुपमा विकसित भएको छ ।
अर्को टोरिज असाध्यैं रुढीवादी थियो साथैं परिवर्तनविरोधी पनि । उनीहरुले सम्राट र इंग्ल्याण्डको चर्चलाई शक्ति दिनुपर्छ भन्दथे, जो ब्रिटीश संसद त्यो माग पूरा गर्न इच्छुक भएन । आज त्यो पार्टी कन्जरभेटिभ पार्टीको रुपमा विकसित भएको छ ।
स्वरुप बदल्दैं आएको संसद
आधुनिक पुँजीवादले संसदलाई थप विकसित गर्दै लैजाने काम गर्यो । प्राचीन संसदमा जतिबेला सामन्ती, धनी र पादरी पुरुषहरुले मात्र भाग लिन वा भोट हाल्ने अधिकार हुन्थ्यो । बेलायतको संसद होस् या फ्रान्सको, ती संसद कुनैबेला राजाको बक्सिसमा चल्ने, चुनिने, निर्वाचित हुने र सीमित नागरिकलाई मताधिकारको हक हुन्थ्यो । पछि आएर जब विश्वमा आधुनिक पुँजीवादी क्रान्ति र अमेरिकाको फ्रान्सेली राज्य क्रान्तिले संसदमा पुँजीवादी प्रतिनिधित्वको थप विकास गर्यो ।
फ्रान्सेली राज्यक्रान्तिले सबैं जनतालाई समान अधिकारको ग्यारेन्टी गरेपनि जनताको परिभाषा सक्रिय नागरिक भनेर गर्यो, अर्थात् २५ वर्ष पुगेको लोग्ने मानिस जसको कुनैं ठाउामा स्थायी बसोबास छ र वर्षमा तीन दिनको कामबापत प्राप्त हुने रकम करका रुपमा सरकारलाई तिर्छ, त्यो माक्रैं सत्रिय नागरिक हुन्थ्यो । यस हिसावले त्यस बेलाको फ्रान्सको जनसंख्या २ करोड ५० लाखभन्दा बढी थियो तर करिब ४३ लाख माक्रैं सत्रिय सदस्यमा पर्दथे । त्यस्तैं अमेरिकी स्वतन्त्रताका शुरुका दिनहरुमा बनाइएको संविधानले स्वतन्त्र जनता को परिभाषा सम्पतिका आधारमा गरेको थियो । मतदाता हुनका लागि सम्पति चाहिन्थ्यो नैं, प्रतिनिधि चुनिनका लागि मतदाताको भन्दा कैंयन गुणा बढी सम्पति हुनुपर्थ्यो ।
बेलायतमा सन् १८३२ को सुधार कानुनपछि मात्रैं राज्यमा पुँजीपतिहरुको प्रतिनिधित्वको व्यवस्था भयो । इतिहासमा यो ठूलो घटना थियो । तर मताधिकार पाएको जनसंख्या जम्मा ७ प्रतिशत मात्रैं थियो । सन् १८६७ मा मजदुर युनियनले मान्यता पाउादासम्म पनि सम्पति नहुनेहरुले मतदानको अधिकार पाएका थिएनन् । सन् १८३६–४८ को विश्व प्रसिद्ध चार्टिस्ट मजदुर आन्दोलनको मागमा सबैं पुरुषहरुले भोट दिन पाउनुपर्ने माग राखिएको थियो, तर महिला मताधिकारको माग समेत थिएन ।
आधुनिक विश्वमा प्रजातन्त्रको जननी भनिने बेलायतमा सन् १९१८ मा पुगेर मात्रैं सबैं पुरुषले मताधिकार पाए, तर महिलाले त्यही अधिकारका लागि अरु एक दशक पर्खिनुपर्यो । सन् १८४८ मैं सबैं पुरुषले मताधिकार पाएको स्विट्जरल्याण्डमा सबैं महिलाले मताधिकार पाउन सन् १९७१ सम्म पर्खिनुपर्यो । सन् १९२० मा सबैं गोरा महिला–पुरुषले मताधिकार पाएको अमेरिकामा सबैं कालाहरुले त्यही अधिकार सन् १९६४ मा मात्रैं प्राप्त गरे । सन् १९१८ मा सोभियत रुसमा सबैंले मताधिकार पाएपछि पुँजीवादी दुनियाँमा मताधिकारका लागि ठूलो दबाब शुरु भएको थियो । अहिले प्रजातन्त्र र स्वतन्त्रता विश्वव्यापी मावनीय सांस्कृतिक दुनियााको अभिन्न अंग बन्न पुगेका छन् ।
अन्त्यमा,
मार्क्सवाद र संसदवादबीच निकैं ठूलो अन्तर छ । नेपालमा कम्युनिस्ट पार्टीको नाममा संसदवादको वकालत एमाले, माओवादी केन्द्रलगायत पार्टीहरुले गर्छन् भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत केही क्रान्तिकारी पार्टीहरुले संसदवादको घोर विरोध गरिरहेका छन् । तर कच्चा वामपन्थीहरुले संसदको उपयोगलाई नैं संसदवाद देख्ने ठूलो रोग पाल्ने गरेका छन्, जुन सोह्रै आना बेठीक हो । आजको विश्व वा आजको भूमण्डीलकृत पुँजीवाद (साम्राज्यवाद) ले खडा गरेका चुनौतीहरुलाई सामना गर्न आजका क्रान्तिकारी कम्युनिस्टहरुले नयाा शिराबाट त्रान्तिकारी कार्यदिशा, कार्यक्रम र कार्यनीतिको विकास गर्नुपर्ने भएको छ ।
यो लेखकका नीजि विचार हुन् ।







