नवउदारीकरण, उपभोक्तावाद र भूमण्डलीकरणको वर्तमान यो युगमा सरकारहरू सामाजिक वा आर्थिक रूपमा पुँजीपति मालिकको सेवामा छन् । नागरिकलाई आफ्नो नियतिमा छाडिएका छन्, जो गल्ती र दुः खको जिम्मेवारी उसकै हो । सामाजिक समस्याहरूको न्यूनिकरण गरेर व्यक्तिका समस्याहरू बनेका छन् । यसखाले नयाँ आर्थिक व्यवस्थामा अभिजात वर्ग, तलब खाने वर्ग, पुरानो श्रमिक वर्ग, रोजगारदाता र स्वरोजगार (उद्यमी) को छेउमा नयाँ वर्गको जन्म हुदै गएको छ । त्यो हो- ‘प्रेक्यारिट।’

यो वर्ग नवउदारवादी र पपुलिस्टिक राजनीतिको सन्तान हो । प्रेकारियट वर्गमा अस्थिर काम गर्ने अवस्था भएका व्यक्तिहरू मात्र समावेश छैनन् । थप रुपमा तिनीहरूमध्ये धेरै उच्च शिक्षित छन्, तर तिनीहरूसँग आफ्नो जीवनमा सुरक्षा निर्माण गर्ने क्यारियर वा अर्को सामाजिक तहमा पहुँच छैन । यस वर्गको मुख्य विशेषता भनेको सामाजिक आर्थिक असुरक्षा हो । यो वर्ग एकरूप छैन । यस वर्गमा समाजको मार्जिनमा बाँच्ने गरिब युवाहरू, भर्खरका स्नातकहरू जसले उचित काम पाउन सकेका छैनन् वा पूर्ण रूपमा बेरोजगार वा जो राम्रो मौकाको लागि विदेशमा भाग्नु परेकाहरु समावेश छन् । पूर्वाधारमा रहेका सबैजना पीडित वा महसुस गर्दैनन्, तर तिनीहरू वास्तवमा राज्यद्वारा सीमान्तकृत भएका छन् ।

भर्खरै नेपालको चुनावी नतिजा हेर्दा केही युवा उम्मेदवारहरूको उदय र यो नयाँ वर्ग ूप्रेकारियटू बिच सम्बन्ध देख्न सकिन्छ । यो वर्गमा कुनै न कुनै कारणले (पूर्ण) राजनीतिक, नागरिक, सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नभएका मानिसहरू समावेश हुन्छन् । यस वर्गका मानिसहरूले प्रतिनिधित्व महशुस गर्दैनन । तिनीहरूसँग आफ्नो लागि आफै क्रोधित हुनु बाहेक अर्को विकल्प छैन । आफ्नो अधिकार र (आमूल) परिवर्तनको लागि अगाडि बढिरहेको यो वर्ग आफैमा समस्याग्रस्त छन् । यसले राजनीति गर्ने परम्परागत तरिकालाई चुनौती दिन्छ र प्रचलित राजनीतिक परिदृश्यलाई एक किसिमले बाधा पुर्‍याउँछ । केही हदसम्म, प्रचलित प्रणालीलाई ध्वस्त पार्छ । यसको सारमा यो उदय आवश्यक छ । यो नयाँ राजनीतिक लहरको उदय प्रायः भाषामा, क्रान्तिसँग जोडिएको हुन्छ तर क्रान्ति यो होइन । देखाउनको लागि मात्रा गरिने विद्रोह र क्रान्ति बीचको भिन्नता छुट्याउन जरुरी छ।

अवज्ञा भनेको के हो ? ‘नो’ ले त्यहाँ सीमा छ भनेर संकेत गर्छ । एक विद्रोहीले एकै समयमा दमनकारीलाई हो र होइन भन्छ । उसले सिमाना पुष्टि गर्छ र एकै समयमा उसलाई शंका लाग्छ र सीमाको त्यस छेउमा रहेको सबै कुराको सुरक्षा गर्दछ । ऊ उत्पीडन पूर्ण रूपमा बन्द होस् भन्ने चाहँदैन, तर उसले आफूले अनुमति दिएको भन्दा बढी उत्पीडन हुन चाहँदिन भन्ने मात्रै संकेत गर्छ । विद्रोह आक्रोश भन्दा फरक छ, विद्रोहीले आफू जे हो त्यसको रक्षा गर्दछ । उसले आफूसँग नभएको वा आफूबाट बन्चित गराइएको सहि कुराको मात्र माग गर्दैन। उसले आफ्नो स्वामित्वमा रहेको कुराको पहिचानको लागि लड्ने प्रयास गर्छ । विद्रोही मानिस आफू अहिले जे छ त्यो भन्दा फरक हुन चाहन्छ । यस अर्थमा यो भन्न सकिन्छ कि विद्रोही सामान्यतया व्यक्तिगत क्रोधबाट सुरु हुन्छ, तर त्यो रिस सामाजिक असन्तुष्टिले पनि उत्तेजित हुन सक्छ । जब कसैले महसुस गर्छ कि उसले अनुभव गरेको वियोग अन्य सँगी-मानवहरु संग पनि समेटिएको छ । मानव वास्तविकताको रूपमा, सम्पूर्णरूपमा आफै र संसार देखि एउटा दुरीमा छ (एलिनिएटेड भएको) भने निश्चय पनि विद्रोह गर्न बाध्य महसुस गर्दछ । ‘प्रेकारियट’नयाँ वर्गले आफू र संसारसँग अलगाव भएको भावना महसुस गर्छ, सीमान्तकृत भएको महसुस गर्दछ । यो घटना एउटा राष्ट्र वा देशको मात्र नभएर विश्वव्यापी घटना हो ।

यस्ता विद्रोहीको खतरा भनेको विद्रोहबाट निस्कने तर्कहीन जोश हो । यस्तो विद्रोहको रोमान्टिक व्यक्तिवादले मानिसलाई चीजहरूमा परिणत गरिदिन्छ । तिनीहरूको कालो पक्ष यो हो कि तिनीहरू आफुलाई कमजोर र दोषी महसुस गर्दैनन्, त्यसैले यस्ता खाले झुन्डले पीडितलाई नै दोषारोपण गर्दछ । ताकि सामान्य अपराध वा समस्याको रोकथामकोलागि हिंसाको प्रयोग बाहेक अरू केहीलाई जायज ठहराउँदैन र कुनै पनि हालतमा सफलता हासिल गर्न चाहन्छन् ।

अर्कोतर्फ, क्रान्तिकारीहरू सबै दोष लिन्छन् । क्रान्ति भनेको एउटा सर्कलको पूर्ण गर्ने आन्दोलन हो । राज्यसत्ता परिवर्तनबिना कानुन परिवर्तन भनेको क्रान्ति होइन, सुधार मात्र हो । क्रान्तिको कट्टरपन्थी राजनीतिक पक्ष माथि बहस आवश्यक छ । क्रोधको आन्दोलन भनेको दिशा परिवर्तन हो । अर्कोतिर क्रान्ति विचारबाट सुरु हुन्छ । अझ स्पष्ट रूपमा, यो इतिहासको अनुभवमा विचारको प्रत्यारोपण हो, जबकि विद्रोह व्यक्तिगत अनुभवबाट विचारमा लैजाने आवेग मात्र हो । इतिहासमा फर्केर हेर्दा विद्रोही आन्दोलन प्रायः अस्पष्ट विरोध हो जसको हामीले मानव मृत्युको संख्या मात्र सम्झन्छौं तर वास्तविक महत्त्वपूर्ण परिवर्तनहरू सम्झन सक्दैनौ । क्रान्ति भनेको कार्यलाई विचारमा ढाल्ने प्रयास हो । त्यसैले क्रान्तिले दमनकारी र तिनीहरूको सिद्धान्त दुवैलाई नष्ट गर्छ । यस आधारमा भन्न सकिन्छ संसारमा अहिलेसम्म कुनै पनि क्रान्ति भएको छैन जस्ले सर्कललाई समाप्त गर्न सफल भएको छ।

धेरैजसो क्रान्तिहरूले आफ्नो स्वरूप र मौलिकताको हत्याबाट निकाल्छन् । मानिसहरु ईश्वरलाई मार्न तयार हुन्छन् तर ईश्वरत्वको शाश्वत सिद्धान्तलाई नष्ट गर्ने हिम्मत गर्दैनन् । दास प्रथामा पनि त्यस्तै छ । किसान र विद्यार्थी आन्दोलन आदि। क्रान्तिकारी सिद्धान्तविना कुनै क्रान्तिकारी आन्दोलन पनि हुन सक्दैन, अर्थात् संरचनात्मक (आमुल) परिवर्तन रोमान्टिक व्यक्तित्वबाट होइन, सक्रियताबाट होइन तर संरचना परिवर्तन गर्ने उद्देश्यले अभ्यास र (आत्म)समिक्षा गर्ने माध्यमबाट प्राप्त हुन्छ । कुनै पनि वास्तविक क्रान्तिको लागि जनतासँगको संवाद अनिवार्य आवश्यकता हो ।

यो जनताको नयाँ क्रोधको उदयले अहिले मुख्यतस् शहरमा केन्द्रित परम्परागत दलहरूमा पक्कै पनि विनाशकारी प्रभाव पारेको छ र तिनीहरूको राजनीति गर्ने पुरानो तरिकामाथि प्रश्न उठाइरहेको छ । यसले पुरानो राजनीतिक संरचना भत्काउने छैन, मात्र केही नयाँ मोड तर्फ लैजान्छ । यो आफैमा राम्रो त छ तर संदिग्ध रहन जरुरी पक्कै पर्छ । विभिन्न सामाजिक मुद्दाका पक्षहरू अडान लिन आवश्यक हुँदा, आशा गरौं पितृवादको झूटो उदारतामा ढाकेको अहंकार ओढेर, उत्पीडकको स्वार्थको रक्षा गर्ने कबच नबनोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार