तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाइसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन् । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका छन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्तर्गत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण लिएपछि उनी ढलाकी बजाउन निपूण बनेका हुन् ।

‘सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ’, उनले भने, ‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’ लामिछानेजस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटाले टेम्पो बजाउन सिकेका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, ‘सुरुमा डर लागे जस्तो भए पनि अहिले मज्जाले बजाउन सकिन्छ ।’

विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरूका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक ध्रुव भण्डारीले जानकारी दिए । ‘पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ,’ उनले भने, ‘वाद्यवादन र पञ्चे बाजा बजाउन सके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।’

विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, व्रतबन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा वाद्यवादनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए ।

समाजमा चलिआएका पुर्ख्यौली सीपहरूसमेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुर्ख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ । पुर्ख्यौली सम्पत्तिको संरक्षण एवं सम्बर्द्धन गर्न पनि विद्यालयले यसलाई प्राथमिकता दिएको हो ।

कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाइमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए । ‘नाचगानलगायत सिपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरू उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्’, उनले भने ।

‘सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ,’ उनले भने, ‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदावहार जीवन्तता दिन लागिएको छ ।’ कक्षा १० मा अध्ययनरत विद्यार्थी एसईईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ ।

विद्यालयको भावी योजनामा प्लम्बिङ र वायरिङलगायतका सीपमूलक र आयआर्जनमूलक तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् ।

कक्षा १ देखि ५ सम्म स्मार्ट टीभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ । समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल ३ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार