
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले नेपाली विशेषताको समाजवाद निर्माण गर्नका लागि दलाल एनसेल जस्ता दलाल कम्पनीहरुलाई नेपालबाट लखेट्नु पर्ने बताएकी छन् ।
सोमबार नेकपा उपत्यका ब्युरो अन्तर्गतका संयुक्त जनवर्गीय संगठनद्वारा आयोजित काठमाडौँको लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालय घेराउ कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै आफ्नो पार्टी नेपाली विशेषताको समाजवाद निर्माण गर्न अघि बढेको बताउदै एनसेल जस्ता दलाल कम्पनीहरु बाधक बन्ने भन्दै नेपालबाट लखेट्नु पर्ने बताएकी हुन् ।
उनले यो सबैको मूल कारण दलाल संसदीय व्यवस्था भएकाले नेकपाका महासचिव विप्लव सीले प्रतिपादन गरेको एकीकृत जनक्रान्तिमार्फत नेपाली विशेषताको समाजवाद प्राप्तिको आन्दोलनमा एकाकार भएर दलाल, भ्रष्ट, घुसखोरी, तस्कर, माफियाहरुको विरुद्ध भिषण प्रतिरोधमा उत्रिनुपर्ने बताइन् ।

आफ्नो पार्टीले राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल उठाउँदै आम जनताहरुलाई सुसज्जित गरिराख्दा एनसेल एमसीसीको विरुद्ध धावा बोलिरहदा, साम्राज्यवादको डिजाइनमा अदालतलाई प्रयोग गर्दै नेकपाका शिर्षस्थ नेताहरुमाथि प्रक्राउ पुर्जी जारी हुनु चानचुने षड्यन्त्र नभएको भन्दै अब यो देशमा दलाल पुजिवादी व्यवस्थालाई पराजित गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा एक्लै नभएर यो देशलाई माया गर्ने देशभक्त लोकतन्त्रवादी, कम्युनिस्टहरुको संयुक्त मोर्चा बनाएर समाजवाद निर्माणका निम्ति एकाकार हुनुको विकल्प नभएको जिकिर गरिन् ।
एनसेल केन्द्रिय कार्यालय घेराउ कार्यक्रम काठमाडौँ सोह्रखुट्टे चोकबाट सुरु भएर अमृत साइन्स क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो । घेराउ कार्यक्रममा स्थायी समिति सदस्य शिलु सी, पोलिट ब्युरो सदस्य माइला सी, केद्रीय सदस्यहरु भृकुटी सी, पाटन सी, विपिन सी, आरोह सी लगायत नेकपा सम्वद्ध विभिन्न जनवर्गीय संगठनहरुको सहभागिता रहेको थियो ।
एनसेल कार्यलय घेराउ गर्न गएको प्रदर्शनकारीहरुलाई प्रहरीले बिचैमा रोक्न खोज्दा नेकपाका युवाहरु र प्रहरीबीच झडप समेत भएको थियो ।







