
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दक्षिण एशियाको युक्रेन नेपाललाई बनाउने साम्राज्यवादी षड्यन्त्र विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी काठमाडौं १ नम्वर जिल्लाले शनिवार काठमाडौको महाराजगंजमा आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन ।
प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादले नेपाललाई युक्रेन बनाएर चीन विरुद्ध जाने सपना देख्दै एमसीसीका माध्यमबाट नेपाल आएको दाबी गरे ।
उनले नेपालमा दलाल संसदीय व्यवस्थाका कारण अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढेको ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले भने ‘ दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट सिंगो देश असन्तुष्ट छ, युवाहरु विदेशीले क्रम वढ्को छ,नेपालबाट भविष्य देखेको छैन । संकट निम्त्याएर साम्राज्यवादले फाईदा लिन चाहेको छ । हामी सबै सचेत हुनुपर्छ । भारतीय साम्राज्यवादी हस्तक्षेप त नेपालमा छदै थियो तर अहिले तत्काल मुख्य गरी अमेरिकी साम्राज्यवाद एमसीसीबाट नेपालमा हस्तक्षेप गर्दै आईसक्यो । यो साम्राज्यवादी षड्यन्त्र बुझने सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिन्छ र संघर्षको नेतृत्व गर्नुपर्छ ।’
प्रवक्ता प्रकाण्डले साम्राज्यवादी षड्यन्त्र एकै पटक जनताले बुझने गरी नआउने भन्दै त्यसको लागि जनताको पार्टी र जनताको नेताले बुझाउन आवश्यक भएको बताए । उनले साम्राज्यवाद राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृति र धार्मिक रुपमा नेपाल छिरेको टिप्पणी गरे ।
उनले भने ‘साम्राज्यवादले नेपालका सबै कम्युनिष्टहरु विरुद्ध षड्यन्त्र गरेको छ, सबैलाई सिध्याउने योजना बनाएको छ । साम्राज्यवादका विरुद्ध सवै क्रान्तिकारी कम्युनिष्ट,लोकतन्त्रवादी,गाणतन्त्रवादी तथा देशभक्त शक्तिहरु एकभएर लड्नु पर्छ ।’
उनले कम्युनिष्टहरुले– कम्युनिष्टहरुलाई दुश्मन देख्ने प्रवृति माक्र्सवादी नभएकाले जिकिर गर्दै सबै कम्युनिष्टहरुको मुद्धा मिले सम्म सहकार्य तथा एकता गर्न आवश्यक भएको बताए ।
‘क्रान्तिकारीहरुले पहल लिनुपर्छ कम्युनिष्टहरुले पहल लिनुपर्छ’ प्रवक्ता प्रकाण्डले भने, ‘दृष्टिकोण बदल्नु पर्यो,मुद्धा मिल्नेसंग एकता,सहकार्य र मोर्चा बनाउनु पर्छ । कम्युनिष्ट –कम्युनिष्ट लड्ने,एकले अर्कालाई दुश्मन देख्ने नगरौं । उता साम्राज्यवादले कम्युनिष्टहरु विरुद्ध ढडिया थाप्ने काम गरेको छ र कम्युनिष्ट सक्ने योजना बनाएको छ ।’
प्रवक्ता प्रकाण्डले दलाल पुँजीवाद चौतर्फि नाङ्गेझार भएकाले नेपाली जनताले दलाल पुँजीवादी व्यवस्थाबाट निकास चाहेको र त्यो निकास नेपाली विशेषताको समाज अथवा वैज्ञानिक समाजवादबाट मात्र सम्भव हुने ठोकुवा गरे ।







