नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीले अहिले नेपालमा जारी गरिएको संघीयता नक्कली संघीयता भएको बताउँदै यो संघीयताले देशको समग्र समस्याको हल गर्नै नसक्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको जातीय/क्षेत्रीय केन्द्रीय भेला/बैठकलाई संबोधन गर्दै महासचिव विप्लव सीले समाजवादी संघीयताले मात्र देशको सबै समस्याको हल गर्ने दाबी गरे ।

समाजवाद स्थापनापछि बन्ने समाजवादी संघीयताले अहिले देशमा पहिचानका लागि चलिरहेका आन्दोलनलाई पनि संबोधन गर्ने महासचिव विप्लव सीको भनाई थियो ।

रुसको तत्कालीन सोभियत समाजवादी संघीयताले रुसका सबै जाती र क्षेत्रहरुको समस्या हल गरेको दृष्टान्त पेश गर्दै महासचिव विप्लव सीले स्तालिनको निधनपछि ख्रुश्चोभहरुले उत्पीडित जातिर क्षेत्र समुदायमाथि गरेको विभेदका कारण सोभियत संघ विघटन भएको दाबी गरे।

नेपालमा तत्कालिन माओवादी जनयुद्धकालमा उठाइएका जातीयर क्षेत्रीय मुद्दाहरु सही भएको र त्यसले सिंगो नेपालका उत्पीडित जाति र क्षेत्रहरुलाई उचित संबोधन गरेकै कारण तत्कालीन जनयुद्धले सफलता प्राप्त गरेको महासचिव विप्लव सीले बताए ।

अहिले देशमा नेपाल कम्युनिस्ट पार्टीले नक्कली संघीयताको विरोध गरेको र समाजवादी संघीयताको स्थापनामा जोड दिइएको बताउँदै विप्लव सीले समाजवादी संघीयताविना देशका कुनै पनि जातीय क्षेत्रीय मुद्दाहरुले हल नहुने जिकिर गरे ।

आफ्नो पार्टी कुनै पनि हालतमा संघीयताविरोधी नभएको तर फेक संघीयता भने आफूहरुले नचाहेको महासचिव विप्लव सीले बताए ।पार्टीको जातीय/क्षेत्रीय भेला/बैठकमा विभिन्न जातीय/क्षेत्रीय मुक्ति मोर्चाका अध्यक्ष तथा संयोजकहरुले आफ्नो मोर्चाको रिपोर्टिङ तथा पार्टीलाई सुझाव राखेका थिए ।

मगर मुक्ति मोर्चा नेपालला अध्यक्ष सुदर्शन सी, थारु मुक्ति मोर्चा नेपालका अध्यक्ष संघ प्रसाद सुनिल सी, तामाङ मुक्ति मोर्चा नेपालका संयोजक प्रेरक सी, नेवा मुक्ति मोर्चा नेपालका अध्यक्ष सुरेन्द्र सी, लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष गजेन्द्र सी, किरात मुक्ति मोर्चा, नेपालकी सुनिता सी, तमु मुक्ति मोर्चा नेपालबाट काजी सीलगायतले रिपोर्टिङ तथा सुझाव राखेका थिए।

त्यसैगरी अन्य क्षेत्रीय मोर्चाहरुको तर्फबाट पनि रिपोर्टिङ तथा सुझाव राखिएको थियो। मधेसी मुक्ति मोर्चा, नेपालका संयोजक विनोद सी, मुश्लिम मुक्ति मोर्चा नेपालका संयोजक, कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक विराट सी, सेती महाकाली मुक्ति मोर्चा नेपालका संयोजक रंगनाथ सीले पनि आफ्नो मोर्चाको रिपोर्टिङ तथा सुझाव राखेका थिए।

दुई दिन गरेर सम्पन्न भएको सो जातीय क्षेत्रीय मोर्चाको भेलाबैठकको अध्यक्षता तथा संचालन पार्टीका स्थायी समिति सदस्य कमरेड सन्तोष बुढा (विषम सी)ले गर्नु भएको थियो ।

भेला/बैठकले समाजवादी संघीयतालाई नेपाली विशेषताको समाजवादसंग एक अर्कामा समायोजन गरेर लैजाने निर्णयसहित सबै जातीय क्षेत्रीय मोर्चाहरुको केन्द्रीय भेला सम्मेलन एक वर्षभित्र सम्पन्न गर्ने भएको छ ।

महासचिव विप्लव सीले ३ घन्टा लामो प्रशिक्षण मन्तव्य दिइसकेपछि भेलामा उपस्थित मोर्चाका नेतृत्व तथा प्रतिनिधिहरु स्पष्ट भएका थिए। सो भेला बैठकमा मोर्चाका अध्यक्ष तथा संयोजक, मोर्चाका पदाधिकारीहरु मात्र उपस्थित भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार