चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा सम्पन्न भएको छ । दुबै मुलुकबाट २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीचको दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा नेपाल ५-१ ले विजयी भयोे ।

नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । यस्तै सञ्जीव विष्टले दोस्रो, छिरिङ लामाले ६३औं र निराजन धामीले ७५ औं मिनेटमा गोल गरे ।

युथ टोली भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेकोले नेपालले विपक्षीलाई पूर्ण रुपमा दबाबमा राखेको थियो ।

यसअघि रंगशालामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रममा नेपाली चिनियाँ कलाकार तथा खेलाडीले आफ्नो कला प्रस्तुत गरेका थिए।

भव्य सांस्कृतिक समारोहमा खेलाडीहरुले उसु र कराँते खेलको कौशल प्रस्तुत गरेका थिए। नेपाली सांगीतिक ब्याण्ड कुटुम्बको लाइभ प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रमपछिको फुटबल प्रतिस्पर्धामा नेपाली र चिनियाँ दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा कलाकारहरुले ड्रागन, लायन र किरिन नृत्य प्रस्तुत गरेका थिए । आजै बिहान राजधानीको दरबारमार्गमा पनि ती नृत्य देखाइएको थियो । हिजो ठमेलमा वसन्त चाडको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चिनियाँ पात्रोअनुसार आजदेखि शुरु भएको नयाँ वर्ष ड्रागन वर्ष हो । आजदेखि चिनियाँहरुको दशैं अर्थात वसन्त चाड शुभारम्भ भएको छ भने आजै तामाङ्ग जातिको ल्होसार पर्व पनि हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र चिनियाँ राजदूत छन सोङ्गसहित समाजका गण्यमान्य ब्यक्तिहरु,सबै उमेर र तप्काका खेलप्रेमीहरुले समेत कार्यक्रममा भव्य सहभागिता जनाएका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार