![]()
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा अमेरिका र भारतले विभिन्न एजेण्डा बोकेर नेपालको अस्तित्व समाप्त पार्न खोजेको बताएका छन् ।
। मंगलबार काठमाडौँको बुद्धनगरस्थित पार्टीका केन्द्रिय सदस्यहरुसङ्ग समसामयिक विषयमा कुराकानी गर्ने क्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।
महासचिव विप्लव सीले मुलुकको विद्यमान परिस्थितिबारे संकेत गर्दै अहिले नेपालमा भारतीयहरु हिन्दु राज्य र राजतन्त्रको एजेन्डा बोकेर आइरहेको र पश्चिमाहरु कृश्चियनकरण र पहिचान तथा धर्मनिरपेक्षताको एजेन्डा बोकेर आएको समेत उल्लेख गरे ।
नेपालमा सामाजिक र जातीय विविधताहरु छन्, यसका सबल र राम्रा पक्षहरु पनि छन्, हाम्रो आन्तरिक एकतालाई अझ राम्रो बनाउन समाजवादी संघीयता आवश्यक छ, तर अहिलेको संघीयताले समस्या समाधान गर्ने भन्दापनि सामाजिक विभाजन मात्रै ल्याउने खतरा छ, त्यसैले नेपालमा जुन उद्देश्य र मर्मका आधारमा हामीले संघीयताको मुद्दा उठायौँ, त्यस प्रकारको संघीयता आउन नसकेको र अब समाजवाद र संघीयता सङ्गसङ्गै लिएर अगाडि जानुपर्ने बेला आएको समेत उनको भनाइ थियो ।
नेपाली काङ्ग्रेससहितको सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रचण्डलाई सरकारको नेतृत्व दिएको भएपनि सरकारले जनताका दैनिक समस्या समाधान र रास्ट्रिय स्वाधीनताको सुरक्षा गर्ने भन्दा पनि माओवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुलाई बदनाम र असफल पार्न प्रयास भैरहेको भन्दै महासचिव विप्लवले यसबारे गम्भीर हुनुपर्ने बताए।
‘एकातिर काङ्ग्रेस सत्ता गठबन्धनको प्रमुख साझेदार दल हो भने अर्कोतिर काङ्ग्रेसको हालै सम्पन्न महासमिति बैठकको आधिकारिक दस्तावेजमा जनयुद्धलाई अपराधिक क्रियाकलाप भनेर परिभाषित र व्याख्या गरिएको पाइयो’ उनले भने -‘काङ्ग्रेस स्वयं हिजो युद्धको एउटा हिस्सा हो, त्यसको एउटा कारक हो र शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि हो, जनयुद्ध हुन्थेन भने देश अहिले पनि कहाँ हुन्थ्यो, विचार गर्न जरुरी छ ।’







