
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए ।
प्रेस सेन्टरले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘यो सरकार कसरी बनेको रैछ त्यो त केपीजी र शेरबहादुरजीले आफैं ओकलिरहनु भएको छ । यो सरकार असंवैधानिक हो ।’
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका थिए । काठमाडौंमा शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन् ।
माओवादी अध्यक्ष दाहालले पार्टीको नेतृत्व टिको लगाएर दिने र लिने पद नभएको बताए । पार्टी नेतृत्व आन्दोलन, इतिहासको मूल्यांकनबाट तय गरिने कुरा उनको भनाइ छ ।
पार्टीको प्रशिक्षणका क्रममा नेपालगन्ज आइपुगेका दाहालले सधैं आफू नेतृत्वमा रहरले भन्दा पनि आफूलाई नेतृत्वबाट उम्किने छुट नभएको स्पष्ट पारे ।
‘जनभावनाले गर्दा मैले नेतृत्व गरिरहेको छु। अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ अध्यक्ष दाहालले भने। उनले माओवादी फुट्दैछ भन्ने हल्ला निराधार रहेको बताए । उनले अहिले पार्टीलाई सुदृढ गर्दै समाजवादी मोर्चालाई बलियो बनाएर विचार मिल्नेसँग एकता गर्ने जिकिर गरे ।







