
नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि पारित गरेको छ ।
यसअघि सामूहिक रूपमा कृषि सहकारी, पशुपालन र गार्मेन्ट उद्योग सुरु गरेको नेकपाको केन्द्रीय समिति बैठकले कृषिमा उत्पादनको विशेष प्रस्ताव पारित गरेको हो ।
महासचिव विप्लवको राजनीतिक प्रस्तावमा आर्थिक उत्पादनको विषय प्रमुखताका साथ उठाइएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा भएको केन्द्रीय समितिमा राजनीतिक र आर्थिक क्रान्ति सँगसँगै अघि बढाउनुपर्ने प्रस्ताव पारित भएको छ ।
२०७७ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपाले कपिलवस्तुलगायत केही जिल्लामा भाडामा जग्गा लिएर सामूहिक खेती सुरु गर्दै आएको छ ।
पार्टी, नेता–कार्यकर्तालाई आत्मनिर्भर बनाउने आर्थिक अभियान सोचेभन्दा प्रभावकारी र परिणाममुखी देखिएको नेकपाको दाबी छ । उसले प्रचारात्मक रूपले मात्र नभई परिणामका दृष्टिले समेत अरूले अनुमान गर्ने स्तरभन्दा धेरै सफल भएको जनाएको छ । ‘यो समयमा पार्टीको पहिचान र प्रतिष्ठा नै उत्पादन बन्न पुगेको छ’ विप्लवले प्रतिवेदनमा भनेका छन्, ‘यो नेकपा र नेता कार्यकर्ताका लागि सुखद अनुभूति हो ।’
आर्थिक मोर्चाले राजनीतिलाई डोर्याउन उत्पादनमा जोड दिने महासचिव विप्लवले जनाएका छन् । ‘समयले आर्थिक मोर्चाबाट राजनीतिक कमान्ड गर्नुपर्ने आवश्यकता बनेको छ । क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रामकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थ सम्बन्धमा नयाँ विकास अझै आवश्यक बनेको छ’ विप्लवको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘नेकपाले यो बुझेर पनि आर्थिक विषयमा दीर्घकालिक महत्त्वका संश्लेषण गर्दै अगाडि बढिरहेको छ । परिणाम पनि सकारात्मक आइरहेका छन् ।’
नेकपा नेता सन्तोष बुढाले आर्थिक उत्पादनलाई मुख्य जोड दिएको बताए । ‘केन्द्रीय समितिले आर्थिक उत्पादनलाई बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ’ उनले भने । नेकपाले हिमाल, पहाड र तराईमा १ सय २० बिघामा धान, दाल, तेलजन्य तथा फलफूल खेती सुरु गरेको जनाएको छ ।

‘असारदेखि भएको उत्पादन गत वर्षभन्दा माथि पुगेको छ । १२० बिघामा धान खेती र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरियो । यसबाट दुई हजार क्विन्टल धानलगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको छ,’ राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘नेकपाको उत्पादन कार्य नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको छ र विगतमा केही प्रयत्नहरू भएको पाइन्छ तर ती आन्दोलनका रूपमा उठ्न सकेनन्, न त टिक्न नै सके ।’
माओवादी जनयुद्धका बेला रोल्पा, रुकुममा सामूहिक खेती गरे पनि शान्ति प्रक्रियामा आएसँगै बन्द भइसकेको छ । माओवादीको २०६९ माघमा भएको हेटौंडा महाधिवेशनले उत्पादन बिग्रेड घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।
विप्लवले उत्पादन सुरु गरेपछि सफल परिणाम पाइएको उल्लेख गर्दै राजनीतिक रूपमा सकारात्मक सन्देश गएको दाबी गरेका छन् । ‘यसले पार्टीको ओज, गरिमा र सारतत्त्वलाई नयाँ उचाइमा पुर्याएको छ । हाम्रो उत्पादन अभियानमा कैयौं व्यवसायी, बुद्धिजीवी, कर्मचारी र पार्टी प्रतिनिधिहरूको सकारात्मक सहयोग रहेको छ’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार मोरङ र कलिपवस्तुमा भएको गाईपालनले आम्दानी दिन सुरु गरेको छ । उत्पादनका क्षेत्रमा नयाँ प्रयोग गर्दै दुईवटा गाईपालन मोरङ र कपिलवस्तुमा सुरु गरेको र कपिलवस्तु गाई फार्मले २ लाख आम्दानी गरी केन्द्रीय कार्यालयमा पठाएको विवरण छ । त्यस्तै काठमाडौं उपत्यका क्षेत्रमा स्थापना भएको हार्पिक तथा फिनेल उद्योगले आम्दानी दिन थालेको छ ।
‘नेकपाले आर्थिक क्षेत्रमा आत्मनिर्भरताको विचार लागू गरेपछि पार्टीलाई मात्र होइन देशलाई नै प्रभावित पारेको छ’ विप्लवले भनेका छन्, ‘सबै क्षेत्रमा रहेका सकारात्मक सोच भएका नागरिकले सक्दो सहयोग गरिरहेका छन् । सबै शक्तिलाई युद्धस्तरमा परिचालित गर्ने हो भने कसैले अनुमान नगरेको परिणाम हासिल गर्न सकिन्छ ।’

‘श्रमबाट समृद्धिका लागि उत्पादन’
नेकपाले सुरु गरेको उत्पादन कार्यले नयाँ समाजवादी आर्थिक सम्बन्ध विस्तार गर्ने र त्यसले समाजवादको आधार तयार गर्ने जनाएको छ ।
‘हामीले अनुसरण गरेको उत्पादन कार्य केवल नेकपालाई आत्मनिर्भर गराउनुसँग मात्र पनि सम्बन्धित छैन’ प्रतिवेदन भन्छ, ‘यसको दीर्घकालिक सम्बन्ध, पुरानो आर्थिक आधारलाई भत्काउने र समाजवादी प्रकारको आर्थिक सम्बन्धको निर्माण गर्ने र आम नागरिकलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास दिनेसँग पनि छ । तसर्थ यसको महत्त्वलाई विशेष रूपले ग्रहण गर्नुपर्छ ।’
आर्थिक उत्पादनलाई नयाँ ढंगले परिमार्जन गरी अघि बढेमा मात्र सफल हुने नेकपाको विश्लेषण छ । पुरानो तरिकाले राजनीतिक र आर्थिक क्रान्ति पूरा नहुने भएकाले सामूहिक उत्पादनमा जोड दिएको छ ।
‘आर्थिक क्षेत्रमा विकास गरेको एकीकृत स्वामित्वको मौलिक दृष्टिकोण तथा व्यवहारमा लागू गरेको आत्मनिर्भरतालाई नयाँ उचाइ दिन आवश्यक छ । यसका लागि आर्थिक कार्य र व्यवहारमा नयाँ र फरक मार्ग अपनाउन जरुरी छ’ प्रतिवेदनमा महासचिव विप्लवलेख्छन्, ‘यसलाई एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नयाँ मार्ग भन्नु उचित हुन्छ । यसले पार्टीभित्र समाजवादको प्रयोगलाई व्यक्त गर्नेछ भने उत्पादनले आत्मनिर्भरता र समृद्धितिर बढाउनेछ ।’

नेताका आर्थिक जीवनको लेखाजोखा आवश्यक
नेपालका कम्युनिस्ट पार्टीका नेता धनी र पार्टी गरिब हुने अवस्था देखिँदै आएको छ । आर्थिक उत्पादनलाई पार्टीसँग जोड्न नसक्दा नेताहरू धनी हुने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा पार्टी र नेताको आर्थिक उत्पादनलाई महत्त्वका साथ हेर्नुपर्ने बताइएको छ ।
‘हरेक नेताले आफ्नो निजी आर्थिक कार्य र पार्टीको आर्थिक कार्यलाई तालमेलमा राख्न सिक्नु हो । नेताका आर्थिक जीवन कसरी चलेको छ या नेताले गर्ने कार्यबाट पार्टीको आर्थिक कार्यलाई कसरी मद्दत पुगेको छ भन्ने विषय ज्यादै महत्त्वको छ’ विप्लवले राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘यो मिलाउन सकिएन भने समाजवाद फेरि पनि उत्पादनबिनाको वितरणको कुहिरोमा हराउनेछ ।’
नेकपाले उत्पादनमा मौलिक विशेषता अपनाएर नेता कार्यकर्ताको सहभागिताले सफलता पाएको दाबी गरेको छ । ‘यो योजनाबाट थप विकास गर्दै पार्टीबाट नेता कार्यकर्तालाई होइन, नेता कार्यकर्ताको उत्पादन पार्टीलाई भन्ने विचार र नीति प्रयोग गर्नु हो ।’ उसले पार्टीको उत्पादन गर्ने नीतिलाई कडाइपूर्वक लागू गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
‘यो नीति प्रयोग गर्यो भने आफूलाई चाहिनेभन्दा कैयौं गुणा बढी उत्पादन गर्न सकिन्छ र पार्टीलाई पनि सबल बनाउनेछ । केन्द्रीय समिति, प्रतिनिधि समितिसम्म उत्पादनमा अनिवार्य सहभागी बन्नुपर्छ’ विप्लवले भनेका छन्, ‘नेता र कार्यकर्ता एकीकृत स्वामित्वबाट सामूहिक स्वामित्वतिर र जनता निजी स्वामित्वबाट एकीकृत स्वामित्वतिर अगाडि बढ्ने विधि अवलम्बन गर्न सकिन्छ । यसो गर्न सक्दा कम्युनिस्ट आन्दोलनले नै युगान्तकारी मार्ग निर्माण गर्नेछ ।’








