अबको बाटो के त ? के कम्युनिस्ट आन्दोलनको भविष्य अन्धकार छ ? वा फेरि एकता र पुनर्गठनको सम्भावना छ ? 

अहिले तत्काल कम्युनिस्ट पार्टीहरूको बिचमा एकता हुने सम्भावना म देख्दिनँ । तर, विभिन्न विषयमा मोर्चा बनाएर कार्यगत एकता गर्न सकिन्छ, र त्यो हामीले गरिरहेका पनि छौँ । जस्तो, २०६२/६३ को आन्दोलनमा, ओलीले संसद् विघटन गर्दा र अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रश्नहरूमा हामीले संयुक्त सङ्घर्ष गरिरहेका छौँ । यो राजनीतिक परिपक्वता हो ।

२०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी स्वतन्त्र रूपमा नै भाग लिन्छौँ । हाम्रो लागि जित–हारभन्दा पनि राजनीतिक भण्डाफोर गर्ने र आफ्नो शक्तिको भूमिका स्थापित गर्ने कुरा महत्त्वपूर्ण हो ।

कम्युनिस्ट आन्दोलनको भविष्यको कुरा गर्दा, यो जनतामा निर्भर छ । निर्णायक शक्ति भनेको जनता हुन् । जबसम्म जनतामा चेतना आउँदैन, के सही र के गलत भनेर उनीहरूले छुट्याउन सक्दैनन्, तबसम्म देशको अवस्था यस्तै रहन्छ । यदि जनताले पैसा, रक्सी र झूटा आश्वासनको आधारमा भोट दिने हो भने, देश झन्झन् बर्बादीको दिशामा जान्छ ।

  • एउटा जीवन्त इतिहासको रूपमा रहनुभएका तपाईंले भोगेको, देखेको र सिकेको कुरालाई कसरी संक्षिप्तमा व्यक्त गर्नुहुन्छ ? 

मेरो जीवनको सार भनेकै निरन्तर सङ्घर्ष हो । मैले सुरुदेखि नै सैद्धान्तिक निष्ठा र इमानदारितालाई महत्त्व दिएँ । हामीले कयौँ पटक फुटको सामना गर्‍यौँ, तर त्यो सधैँ गलत थिएन । कयौँ पटक सिद्धान्तको रक्षाको लागि फुट आवश्यक पनि हुन्छ । हामीले रायमाझीको अवसरवादविरुद्ध सङ्घर्ष गर्‍यौँ, झापालीहरूको उग्रबामपन्थविरुद्ध सङ्घर्ष गर्‍यौँ र माओवादीको भड्कावविरुद्ध पनि सङ्घर्ष गर्‍यौँ ।

अहिले पनि कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । तर, म निराश छैन । जबसम्म समाजमा वर्गसंघर्ष रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि रहन्छ । यो आन्दोलनको भविष्य जनताको चेतना र उनीहरूको सही निर्णयमा निर्भर गर्छ । मेरो आग्रह के हो भने, सबैले, विशेषगरी नयाँ पुस्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नुपर्छ । त्यसो भयो भने मात्र देशको भविष्य उज्ज्वल हुन सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार