
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिकाे संकटको निकास पुरानोतिर फर्किएर नभई समाजवादतिर फर्किनुको विकल्प नभएको बताएका छन् ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठानद्वारा बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव विप्लव सीले समाजवादी यात्रा कम्युनिष्ट एकता विना असम्भव भएको ठोकुवा गरे ।

महासचिव विप्लव सीले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो सपना भएको बताउदै त्यो त्यति सजिलै होला जस्तो नलागेको बताए । उनले भने- ‘अब बुटवलबाट त्यो अभियानको सुरुवात भएको छ, समाजवादी यात्रामा कम्युनिष्ट पार्टीहरुको एकता विना सम्भव छैन ।’
उनले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने शक्तिको आवश्यकता भएको भन्दै आफूहरूले थालेको बहस व्यक्ति विशेषको नभएको दाबी गरे ।
महासचिव विप्लव सीले नेपालमा असल कम्युनिष्ट पार्टी बनाउने चाहना रहेको समेत बताए ।
महासचिव विप्लवले भने,‘ हाम्रो सपना असल कम्युनिष्ट पार्टी बनाउने छ, विगतमा कम्युनिष्ट नेता र पार्टीहरुले गरेका कमजोरीहरु सच्चाएर अगाडि बढनु पर्छ, नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन अहिले दिग्भ्रमित छ । रनभुल्ल जस्तो भएको छ । दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । त्यो नेपाली विशेषताको समाजवाद हो । नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्छ ।’
महासचिव विप्लवले कानुनहरू पुराना रहेको, नेपालको अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा परेको, भ्रष्टाचार बढेको भन्दै यो समग्र सङ्कट आउनुमा गणतन्त्रको ढाँचाको आर्थिक व्यवस्था नभएर भएको बताए ।
उनले कम्युनिष्ट आन्दोलनका पुनर्गठन गरी वास्तविक समाजवादको अभ्यास गर्न चाहेको बताए ।







