
भदौ २४ गतेको ‘जेन जी विध्वंश’मा घुसपैठ र विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई नेपाल प्रहरीले प्राप्त प्रमाणका आधारमा पक्राउ गर्न थालेपछि नेपाल र चीनविरोधी गतिविधिमा संलग्नहरुको पहिचान खुलेको छ । प्रमाण संकलनको क्रममा सबैको ध्यान ‘टिबेटन ओरिजिनल ब्लड’ (टिओबी) समूहतिर सोझिएको छ ।
तिब्बती मूलका युवाहरू संलग्न उक्त समूहमाथि नेपालभित्रै चीनविरोधी गतिविधि गरेको,नेपालको हितविपरीत चलेको प्रमाण फेला परेको बताइएको छ । भीड उक्साएको आरोप लागेका ‘टिओबी’नेता तेन्जिन दावा लामाले नक्कली बाबुआमा खडा गरी नेपाली नागरिकता लिएकोसमेत यसवीच प्रमाणित भैसकेको छ । यही घटनापछि नेपालमा तिब्बती मूलका कति जनाले यसरी नागरिकता लिएका रहेछन् भन्नेबारे सुरक्षा निकायले गोप्य अनुसन्धान थालेको बुझिन्छ ।
त्यसो त दलाई लामाका नेपाल प्रतिनिधि कालु लामा र ‘टुल्कु’ नामले चिनिने तिब्बती मूलका नवाङ छोक्डुप शेर्पाले पनि सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको छ। दलाई लामाको ‘छायाँ सरकार’का प्रतिनिधि तथा सांसद तथा नेपालस्थित प्रतिनिधिहरूले समेत नेपाली नागरिकता लिएको देखिएको छ।
‘कथित तिब्बती निर्वासित सांसद’ भनिने टासी ढुन्डुप लामा सेर्ता नामले चिनिन्छन् । मुस्ताङको खम्पा क्याम्पमा जन्मिएका भए पनि उनले नागरिकता काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका रहेछन् । उनको नागरिकता नम्बर ५२७२ हो ।
भारतको धर्मशालास्थित ‘छायाँ सरकार’मा कार्यकारी सदस्यसमेत रहेका उनी पहिले पोखराको होटल माउन्ट अन्नपूर्णमा छद्म नामबाट कार्यरत थिए। त्यहाँबाट पोखराका तिब्बती समुदायलाई उक्साउने र संगठित गर्ने काममा संलग्न रहे । पछि काठमाडौंको लाजिम्पाटस्थित होटल ग्वाङ्गजोंगको महाप्रबन्धक बने । उक्त होटल नजिकै तिब्बतीहरुको सम्पर्क कार्यालय पनि छ । सुरक्षा निकायका पुराना दस्तावेजअनुसार उक्त होटल तिब्बत विरोधी गतिविधिका लागि प्रयोग हुने गरेको थियो ।
होटल बिक्रीपछि बौद्धमा आफ्नै होटल सञ्चालन गर्दै आएका छन् । अहिले पनि युरोपेली र अमेरिकी नागरिकलाई नेपालमा रहेका तिब्बती नागरिक र शरणार्थी शिविर तथा गुम्बामा भ्रमणको संयोजन गरिदिने काममा उनी संलग्न रहने गरेको स्रोतको दावी छ।
भक्तपुरको एक गुम्बामा ध्यान शिविर सञ्चालन र प्रदर्शनीमार्गस्थित संस्कृत क्याम्पसमा विदेशी (चिनियाँ र पश्चिमा) नागरिकलाई अध्ययनका लागि भर्ना गराउनेजस्ता क्रियाकलापमार्फत् उनले तिब्बती गतिविधि विस्तार गर्न नयाँ उपाय खोजेको बताइन्छ।
चाणक्य नीतिमा भनिएको छ, ‘जब देश कंगाल बन्छ,तब शासक लोभी,पापी र अविवेकी बन्छ।’ पुस्तौँदेखि वैदिक सनातन संस्कृतिमा आस्था राख्ने नेपाली नागरिकलाई नै संस्कृत उच्चारण गर्न कठिन छ । तर फरक भाषा–संस्कृति भएका विदेशी नागरिकलाई केही डलरमा संस्कृत अध्ययनका लागि भिसा उपलब्ध गराइदिने अध्यागमन विभागका कर्मचारीहरू पनि हास्यास्पद पात्र भएका छन् ।
टासी ढुन्डुप लामाले नेपालबाट ०९४१५७९३ र पिए २९४८७१५ नम्बरका राहदानी लिएको सरकारी अभिलेखबाट पुष्टि हुन्छ ।
त्यस्तै,दलाई लामाको नेपालका लागि अर्का प्रतिनिधि तथा ‘कथित निर्वासित सांसद’ सोनाम नोर्बु (रात्साको नामले चिनिने) भारतको हिमाञ्चल प्रदेश, सिमला निवासी हुन् । उनी तिब्बती चोग्याल समुदायका हुन् । तर तिब्बती परिचय नखुलोस् भनेर आफ्नो नाममा ‘नोर्बु’ थर थपेका छन् । भारतीय निर्वाचन आयोगमा उनको मतदाता दर्ता नम्बर एनइसी २२५००७४ र भारतीय राहदानी नम्बर यु ३१२०७५९ रहेको स्रोतले जनाएको छ। उनी भारतीय नागरिक भए पनि प्रायः नेपालमै बसोबास गर्दै आएका छन् ।







