
राष्ट्रियता र आगामी निर्वाचनमा सहकार्य गरेर जाने विषयमा तीनवटा वामपन्थी शक्ति घनिभूत छलफलमा जुटेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, पुनर्गठित नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका अभियन्ता जनार्दन शर्माबिच एकता, सहकार्य र मोर्चाबन्दी बनाएर जाने विषयमा गम्भीर छलफलमा जुटेका हुन् ।
जेनजी विद्रोहपछि देशमा विकसित राजनीतिक घटनाक्रमले राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार खतरामा परेको निष्कर्ष निकाल्दै उनीहरूले प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग संवाद र सहकार्यको पहललाई तीव्रता दिएका हुन् ।
बुधबार विप्लव, भुसाल र शर्माबिच आगामी फागुन २१ मा हुने निर्वाचनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । विचार मिल्नेसँग एकता र अरु प्रगतिशील देशभक्त शक्तिसँग मोर्चाबन्दी गरेर जानेबारे छलफल केन्द्रित भएको नेता सुदन किरातीले बताए ।
‘विचार मिल्नेसँग एकता, नमिल्नेसँग मोर्चाबन्दी गर्नेगरी हामी अगाडि बढेका छौँ । त्यसका लागि वामपन्थी, देशभक्त, नयाँ वैकल्पिक सबैसँग सहकार्य गरेर जानेगरी ढोका खुला राखेका छौँ । अब देशव्यापी पुनर्गठन अभियान घोषणा गरेर जान्छौँ,’ उनले भने ।

देशमा पुराना राजनीतिक दलहरू, तीनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्ने र आफ्नो वर्चस्व जोगाउन तल्लीन रहेको आरोप लगाएको छ । त्यस्तो अवस्थामा पुरानै बाटो हिडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकालेका छन् । तर विचार मिल्नेसँग एकता, सहकार्य र ध्रुवीकरणको विषयमा स्पष्ट खाका बनिनसकेको नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले बताए । राष्ट्रियता र साझा चुनावी रणनीति बनाउने विषयमा प्रारम्भिक छलफल भएको विरहीले जिकिर गरे । विचार, सिद्धान्त, राष्ट्रियता र जनतन्त्रको विषयमा भुसाल र शर्माले स्पष्ट खाका नै ल्याउन नसकेको उनको बुझाइ छ ।
‘विचार, सिद्धान्त, राष्ट्रियता र जनतन्त्रको विषयमा घनश्याम र जनार्दनको स्पष्ट दस्तावेज आउनुपर्छ । राष्ट्रियताको विषयमा उहाँहरूको दृष्टिकोण के हो ? हामीलाई हेर्ने र अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण के हो ? समाजवादमा पुग्ने कसरी हो, त्यो स्पष्ट हुनुपर्छ । तर उहाँहरूले अहिलेसम्म राजनीतिक दस्तावेज नै प्रस्तुत गर्नुभएको छैन’, उनले भने ।
भुसालले पार्टीको राष्ट्रिय भेलापछि पेस गर्छु भनेको र शर्माबाट स्पष्ट जवाफ नआएको विरहीले बताए ।
‘घनश्यामजीले पार्टीको राष्ट्रिय भेलापछि पार्टीको दृष्टिकोण पेस गर्छु भन्नुभएको छ । जनार्दनजीले प्रगतिशिल वामपन्थी अबको बाटो हुने भन्नुभएको छ,’ उनले भने, ‘त्यो सकारात्मक हो, तर अहिलेसम्म स्पष्ट दस्तावेज ल्याउनुभएको छैन । त्यत्तिकै कुन आधारमा सहकार्य हुन्छ ?’
राष्ट्रिय एजेन्डा, चुनावी मोर्चामा उनीहरूसँगै जान सकिने भएपनि एकताको विषय निकै टाढा भएको भयो विरहीले स्पष्ट पारे । यद्यपि प्रगतिशील वामपन्थी अलाइन्स बनाएर जाने विषयमा छलफल जारी राख्ने सहमति भएको उनको भनाइ छ ।
प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमार्फत ‘नैतिकहीन अहंकारी’ नेताहरूलाई फाल्न आह्वान गरेको छ ।
‘देश र विदेशमा रहेका वामपन्थी प्रगतिशील अभियानमा जोडिन समेत आग्रह गर्दछौँ । जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौँ । जनताको एकताको बलमा अहङ्कारी र असफल नेताहरूलाई सदाका निम्ति बिदा गरौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रगतिशील राष्ट्रिय अभियानले ७ बुँदे धारणा सार्वजनिक गरेको छ । जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पूरा गर्न/गराउन चौतर्फी सक्रिय रहन र सुदृढ राष्ट्र, सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पूरा गर्ने प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । प्रगतिशील राष्ट्रिय अभियानले पूर्वमन्त्री सुदन किराती सहित ३१ सदस्यीय संयोजन समिति बनाएको छ ।

यता एकीकृत समाजवादीका महासचिव भुसालले तीन नेताबिच चुनावी अलाइन्स बनाएर जाने विषयमा छलफल भएको बताएका छन् । विकसित परिस्थिति र आगामी सहकार्यको विषयमा छलफललाई निरन्तरता दिने उनले बताए ।
‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो । हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौं । आगामी निर्वाचनमा सहकार्य गरेर जाने विषयमा पनि छलफल जारी राख्ने सहमति भएको छ’, उनले भनेका थिए ।
विप्लव, भुसाल र शर्माबिच विगत एक वर्षदेखि नै चरणबद्ध रुपमा छलफल हुँदै आएको थियो । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता घोषणा भएपछि भुसाल र शर्मा अलग बाटो लागेका थिए । पार्टीबाट अलग भएपछि पहिलोपटक कात्तिक २१ गते भुसाल र शर्माले विप्लवसँग छलफल गरेका थिए । तीन नेताले प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको निष्कर्ष निकालेका थिए । ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न तीन नेताले संकल्प गरेका थिए । सबै कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि उनीहरूले आह्वान गरेका थिए ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भुसाल नेतृत्वको एकीकृत समाजवादी, प्रगतिशील राष्ट्रिय जागरण अभियानका नेता जनार्दन शार्मसँग सहकार्य र एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा सहमति भएको जिकिर गरे । यीबाहेक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल लगायतका दलहरूसँग मोर्चाबन्दीको प्रयास जारी रहेको स्पष्ट पारे ।
‘घनश्यामजी र जनार्दनजीसँग सहकार्य र एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा सहमति भएको छ । जेनजी विद्रोहपछि देश अहिले गम्भीर संकटमा परेकाले अन्य देशभक्त र प्रगतिशील वामपन्थी शक्तिसँग हाम्रो मोर्चाबन्दीको प्रयास जारी छ । नेपाली कम्युनिस्ट पार्टी निर्वाचनमा केन्द्रित भएकाले अहिले सहकार्य हुँदैन’, विश्वकर्माले भने ।







