नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओवाद छाडे पनि माओवादीकै पूर्वनेता नेत्रविक्रम चन्दले त्यसलाई वैधानिक रूपमा ब्यूँताएका छन् । निर्वाचन आयोगमा दल दर्ता गरी आफूले माओवादी धारको ‘असली’ पार्टी बनाउन चाहेको उनले बताए । महासचिव चन्द रहेको नेकपा (माओवादी) लाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ ।

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलगायत करिब एक दर्जन घटकसँग एकता गरेपछि नाम र माओवाद छोडेको हो । यसअघि मार्ग निर्देशक सिद्धान्त मान्दै आएको माओवादलाई उसले करिब करिब विसर्जन गरेको छ । अब दाहाल नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद भएको छ । जुन एमालेले तीसको दशकदेखि अँगाल्दै आएको छ ।

२०७५ जेठमा एमालेसँग एकता हुँदा पनि दाहालले माओवाद छाडेका थिए । सर्वोच्च अदालतले २०७७ मा एक मुद्दामा फैसला गर्दै एमाले र माओवादी अलग हुने फैसला गरेपछि दाहाल फेरि माओवादमा फर्किएका थिए । जेन–जी आन्दोलनपछि भएको उथलपुथलले पार्टीहरू मात्र बदलिएनन्, उनीहरूले विचारधारासमेत बदले । त्यही बाटोमा हिँडेका एक नेता दाहाल पनि हुन् । ‘नेपाली विशेषताको समाजवाद’ स्थापना गर्ने नवगठित नेपाली कम्युनिस्ट पार्टीको प्रमुख उद्देश्य छ ।

दाहालले माओवादलाई ‘बदनाम’ गरेको, संशोधनवादी बाटो लिएको भन्दै माओवादीबाट २०६९ असारमा अलग भएका मोहन वैद्यको नेतृत्वमा ‘क्रान्तिकारी माओवादी’ नामको अर्को पार्टी बनेको थियो । दाहाल नेतृत्वको माओवादी केन्द्रले संसदवादी बाटो लिएको निष्कर्षसहित वैद्य समूहले ‘जनविद्रोह’को कार्यदिशा पास गरेको थियो । जनविद्रोहबाट माओवादको रक्षा हुने विश्वास अहिले पनि वैद्य पक्षको छ । त्यो समूहले पनि दुई वर्षअघि माओवादी नाम छाडेर ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी (क्राकपा) गठन गरे पनि माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै आएको छ । क्राकपाले ‘जनविद्रोह’ को नीतिलाई कार्यान्वयन गर्न सकेको छैन ।

माओवाद माओले चीनमा गरेजस्तै सशस्त्र युद्धबाट गाउँदेखि सहर घेर्दै राज्यसत्ता कब्जा गर्ने सिद्धान्त हो । २०५२ मा नेपालको माओवादीले त्यही नीति लिएर १० वर्ष जनयुद्ध गरेको थियो ।

वैद्य नेतृत्वको माओवादीले जनविद्रोह नगरेको भन्दै नेत्रविक्रम चन्दको नेतृत्वमा २०७१ मंसिरमा अर्को पार्टी निर्माण भयो । नेपाल कम्युनिस्ट पार्टी नाम राखेर मंगलबारसम्म पनि चन्द यही नाम बोकेर अघि बढेका थिए । कात्तिक १९ मा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएपछि चन्द पुरानै नाममा फर्केने निष्कर्षमा पुगेका थिए ।

माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्नुअघि २०५२ मा नेकपा एकता केन्द्रको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाम राखेको थियो । त्यही नामबाट उसले १० वर्षे सशस्त्र युद्ध र १० वर्षे शान्ति प्रक्रिया पूरा गरेको थियो । दुई दशकपछि उसले कात्तिक १९ मा पार्टीको नाम र माओवाद छाड्यो । पुरानै नाममा फर्कनुको कारणचाहिँ माओवादीको विरासत बचाउनु रहेको नेता एवं पूर्वसांसद सन्तोष बुढामगरले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार