
सिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए ।
रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए ।
एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई भेटेका थिए । उनले एकतामा आएका विवेकशील साझाका नेताहरूलाई हिजोसम्म पाहुनाका रूपमा हेरिएको भए पनि अबदेखि एउटै घरको सदस्यसरह भएको सन्देश प्रवाह गरेका थिए ।
सहकारी ठगी मुद्दामा आठ महिनादेखि रवि पुर्पक्षका लागि थुनामा छन् । तर पार्टीका धेरैजसाे निर्णय उनीबाटै हुने गरेका छन् । अर्थात् कारागारभित्रैबाट उनले पार्टी चलाएको चर्चा भइरहेको छ । कार्यवाहक सभापति अर्याल, उपसभापति वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन कुमार आचार्यलगायत सचिवालयका सदस्यहरू पालैपालो कारागार पुगेर पार्टी निर्णयको ब्रिफिङ गर्ने तथा आगामी योजनाका लागि सभापतिको सहमति लिने काम गरिरहेका छन् ।
२०८१ चैत २२ गते उच्च अदालत बुटवल इजलासले पुर्पक्षका लागि रविलाई जेल पठाउन आदेश दिएको थियो । तर रवि स्वयंले तत्कालीन केपी ओली सरकारले आफूमाथि राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् । उनकै आदेशमा रास्वपाले सरकारलाई दबाब दिन देशभर हस्ताक्षर अभियान नै चलायो । हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले ४० लाख मानिसले रविको पक्षमा समर्थन गरेको जिकिर गरेका छन् । रवि जेल गएपछि पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तथा उनका विश्वासपात्र डोलप्रसाद अर्याललाई दिएको छ ।
तर पार्टीको हरेक निर्णयमा रवि नै हाबी हुने गरेको आरोप लागेको छ । सचिवालय बैठकको एजेन्डा सेटिङदेखि केन्द्रीय समिति बैठकका निर्णयसम्म सभापतिको अनुमतिबिना नहुने रास्वपा वृत्तमा चर्चा छ । रास्वपाकै एक नेताले नक्खुको आदेशबिना पार्टीका कुनै निर्णय नहुने आरोप लगाए ।
‘रास्वपामा नक्खुबाट जे आदेश आउँछ, त्यही हुन्छ । पार्टी स्थापनाकालदेखि योगदान गरेका साथीहरूले छोड्दै जानुभएको छ । पार्टी एकता गर्ने विषयमा पनि सभापति र उपसभापतिबिच फरक–फरक इन्ट्रेस्ट देखिन्छ । उज्यालो नेपाललगायत पार्टीसँग एकता रविको चाहनामा नपरेकाले सम्भव हुन सकेन,’ ती नेताले भने ।







