
सामन्तवाद अझै हटेको छैन । तराईमा हेर्ने हो भने जमिनदारहरुले गरिव किसानहरुको खुन–पसिना चुसिरहेका हुन्छन् । भित्री मधेशमा होस् या त पहाडी भागमा आफु मालिक बनेर गरिबहरुलाई दास बनाइरहेका हुन्छन् । दाङ र बर्दियामा हेर्ने हो भने कानून तः कमैया प्रथा हटे पनि अझै थारु जातिलाई जमीनदारहरुले कमैया बनाइरहेका छन् ।
चेतनास्तर बृद्धिसँगै पहिले भन्दा कमैंया प्रथा आधाले त घटेको छ तर आर्थिक विपन्नताले थारुहरु जमिन्दारको घरमा काम गर्न विवश छन् । उनीहरुलाई रोजगारी नदिई थारु जातिको उन्मुक्ति हुन सक्दैन । आफन्तहरुले काठमाण्डौमा समेत थारुका छोरा–छारीहरुलाई कमैंयाको रुपमा पठाएका हुन्छन् । यो अर्ध सामन्ती समाज हो यसमा दलाल पुँजीवादले रजाईं गरेको हुन्छ । दलाल पुँजीवादले राष्ट्रियतामा खेलबाड गरेको हुन्छ । यसले गर्दा पुँजीवाद विकसित हुन सक्दैन । यही कारणले समाजवादले गति लिन सकेको हँुदैन ।
समाजवादमा योग्यताअनुुार काम, कामअनुसार माम हुन्छ भने साम्यबादमा योग्यताअनुसार काम र आवश्यकता अनुसार माम हुन्छ । साम्यबादमा सबै किसिमको समानता हुन्छ । चीनमा सबैमा समानता थियो । तर माओको निधनपछि ब्यक्तिगत सम्पत्ति कायम भयो । व्यक्तिगत सम्पत्तिमा धेरै माया हुँदोरहेछ । साम्यवावाद सुदूर भविष्यको कुरा हो । पुँजीवादको रुपान्तरण समाजवाद हो । यसमा शिक्षा–स्वास्थ्य सबै राज्यको जिम्मा हुन्छ । विद्यालय निःशुल्क हुन्छ । अस्पताल जाँदा खेतबारी बेच्नु पर्दैन । निःशुल्क उपचार हुन्छ । रोजगारीको ग्यारेन्टी हुन्छ । अब जनता चलाख र गतिशील हुनुपर्छ । जनता आत्मनिर्भर हुनुपर्छ । यसका लागि मेहनत हुनुपर्छ ।
संस्कृतिमा भनाइँ छ ः ‘अल्छीको भागमा आँसु, उद्योगीको भागमा मासु छ’ । भाग्यमा यही थियो भन्ने हुदैन । भाग्य भनेर चाल्नामा दुध धुएर अड्दैन । भाग्य त आफैले बनाउने हो । उदाहरणका लागि कपिलवस्तु शिवपुरमा नेकपा (माओवादी) नेतृत्वमा विप्लवको कृषि फर्म हेर्न सक्छौं । मागअनुसार आपुर्ति हुन्छ । रोजगारी छ । विभिन्न ठाउँमा तरकारी, फफूल मह र दुध दही तथा छुर्पी बनाइन्छ । खसी–बोका तथा कुखुराहरुको फार्म बनाइएको छ । अण्डा उत्पादन गरेर सप्लाइ गरिन्छ । यो समाजवादको भ्रुण अवस्था हो । हाम्रो गाउँघरमा कतिपय मानिसहरु तास खेलेर समय खेरफालेका हुन्छन् । त्यसै घाम तापेर समय बिताएका हुन्छन् ।
अब समय खेर नफालेर कुनै नकुनै उद्योगको बाटोमा लाग्नुको विकल्प छैन । पहाडी भू–भाग जहाँ पानी र सिचाइँ छैन । त्यहाँ चिउरी रोप्न सकिन्छ । प्रत्येक पालिकामा एक–एक चिउँरी प्रशोधन केन्द्र बनाउन सकिन्छ । डाल्डा भन्दा बर्गेनिक चिउरी हुन्छ । चिउरीको घिउ उत्पादन गरेर बाहिर सप्लाइ गर्न सकिन्छ । यसले विदेशी मुद्रा संचय गर्न सकिन्छ । रोगगारीका लागि नवयुवाहरु विदेश धाउन पर्दैन । नास्पाती, आरु–बखेडा, केरा, उच्च पहाडी भागमा स्याउ आदि उत्पाद गर्न सकिन्छ ।
विदेशको बासी स्याउ भन्दा स्वदेशी नास्पाती धेरै राम्रो हुन्छ । एउटै गुणस्तरमा नागरिकहरुले आफ्नै स्वदेशी उत्पादनलाई ग्राह्यता दिनुपर्छ । उत्पादनलाई राजनीति र राज्यले पनि फरक पार्छ । दलालको रुपमा बिचौलिया पनि लागेका हुन्छन् । राजनीति राम्रो नभएमा राज्य पनि बिचौलियासँग मिलेको हुन्छ । कमिशन खान्छ । यसप्रकार जनविरोधी सरकारलाई सुशासनमा रुपान्तरण गर्नुपर्छ । यसका लागि दलाल सरकारलाई रुपान्तरण गरी जनसरकार स्थापना गर्नुपर्छ । यो सिधै आउन सक्दैन । यसका लागि सडक तताउनुको विकल्प छैन ।
यहाँका जनताको विरोध विपरित कम्युनिष्ट नामधारी नेताहरुले केही पैसाको प्रलोभनमा एमसीसी पास गरिछाडे । एमसीसीको विरोधमा नेकपा माओवादी विप्लवले खुला मञ्चमा ऐतिहासिक विरोधसभा गरेको थियो । तर अरु पुराना दलका नेताहरु भने अरबौंको लोभ लालसामा लागेर व्याख्यात्मक स्विकृतीको नामले अमेरिकाको शरणमा परेका हुन् । परिणामस्वरुप अमेरिकाले एमपीए खोलेको छ । दशौं हजार अमेरिकी सेना ठाउँ ठाउँमा तैनाथ गरेको समाचार आएका छन् ।
वास्तवमा भारत र अमेरिकाले नेपाललाई सहराज्य गराएको अनुभूत हुन्छ । प्रधानमन्त्री भएसँगै.प्रधानमन्त्री भारत भ्रमण गर्ने चलन छ । केपी वलीले भारत भ्रमण गर्न चाहना राखे पनि भारतले बोलाएन । त्यसैले उनी प्रम भएको पहिलो पटक चीनमा गएका हुन् । पछि थाईल्याण्ड भ्रमण गरेपछि उनी अमेरिका गएका हुन् । जहाँ गए पनि राज्यको ढुकुटी रित्याएका हुन्छन् ।
प्रधानमन्त्रीले पाँच जना सल्लाहकार नियुक्ति गरेको हुन्छ । सचिव हुन्छन् । सबभन्दा खतरा त औषधी उपचार भनेर राज्यको सम्पति लुटेका हुन्छन् । यता युवाहरु अरबको खाडीमा ५० डिग्रीको तापक्रममा काम गरिरहेका हुन्छन् । उनीहरुले पठाएको विप्रेषणले यहाँ नेताहरुले धुवाँ उडाएका हुन्छन् । अहिले जेन्जी आन्दोलनमा प्रमुख नेताहरुको घरमा नोट जलेको खरानी देखिएको हो । यसलाई लाज पचाउन एआईको करामत हो भनेका छन् । राजदूत होस् वा न्यायाधीश अथवा, प्रथम श्रेणीका कर्मचारी हुन् । सबैले पैसा तिरेर जागिर खाएका हुन्छन् । यसले गर्दा प्रशासकहरुले अरुबाट कमिशन खाएर आफूले खर्च गरेको उठाएका हुन्छन् । यसले गर्दा देश बिकासमा पछि पर्दै आएको छ ।
अब दलाल सरकारको मुख ताकेर हुँदैन । सरकारबाट रोजगारीको माग गर्दै सडक तताउनु पर्छ । अर्कोपट्टी आफ्नो गाउँ आफै बनाउन देशमा भएको ंंसंसाधन प्रयोग गरी स्टार्टअप शुरु गर्नु पर्छ । घरेलु सामान उत्पादन गरेर आर्थिक अवस्था मजबुत बनाउनु पर्छ । पत्थर घोटेर मूर्ति बनाउनु पर्छ । चोयाचित्रा प्रयोग गरी विभिन्न सामग्री बनाउनु पर्छ । प्रकृतिले हामीलाई सबै चिज दिएको छ । यसलाई उपयोग गर्नुपर्छ । नेपालमा नदी–नाला धेरै छन् । राज्यले विद्युत उत्पादन गर्ने र देश उज्ज्यालो बनाएर बाँकी विद्युत विदेशमा निर्यात गर्नुपर्छ । अहिले केही विद्युत बंगलादेशले लगेको छ ।
एमसीसी संझौतामा विद्युत प्रशारण लाइन भारत निकासी गर्ने भनिएको छ । अमेरिकाले नेपालमा बहुमूल्य खनिज पदार्थ देखेको छ । नेपालमा टेकेर चीनलाई घेर्ने अघोषित योजनाले नेपाल अमेरिकाको आकर्षण केन्द्र बनेको छ । ब्राजिलपछि विश्वमा पानीको धनी देश नेपाललाई विद्युत उत्पादन गरेर सिंगापुर बनाउन सक्नु पर्छ । लि क्वान युले सिंगापुरमा पाँचै वर्षमा विकासको पूर्वाधार बनाएका थिए ।
गरे के हुदैन ? यसका लागि पार्टीमूखी भन्दा जनमूखी सरकार हुनुपर्छ । यसका लागि देशको संरचना बदल्नुपर्छ । देशभक्त जनउत्तरदायी राज्य हुनुपर्छ । जेन्जी पुस्ताका जनप्रतिनिधि हुनुपर्छ । यहाँ त एउटै प्रधानमन्त्री ४, ५ पटक हुने चलन छ । कार्यकर्ता पनि झर्ला र खाउँला भन्ने मनोविज्ञानमा छन् । पार्टी भन्दा देश ठूलो संझनु पर्छ । देश समाजवादमा रुपान्तरण भएपछि मात्र संमृद्ध नेपाल र सुखी नेपाली हुन सक्छन् ।







