
नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिएको घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) ले कडा आपत्ति जनाएको छ। अध्यक्ष अशोक कुमार राईले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको उक्त कदमलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कतको संज्ञा दिएका हुन्।
पहिचान प्राप्तिको संघर्षका सशक्त व्यक्तित्व चौधरीमाथिको यो कारबाहीले पहिचान पक्षधर शक्तिहरूलाई सशंकित बनाएको जसपाले उल्लेख गरेको छ। विशेषगरी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल मिलेर एकल चुनाव चिन्ह ‘जाँतो’ मा चुनाव लड्ने निर्णय गरेपछि डराएका तत्वहरूले यस्तो षडयन्त्र गरेको जसपाको दाबी छ। अध्यक्ष राईले यसलाई निर्वाचन भाँड्न खोज्ने कुतत्वहरूको खेल भन्दै यसबाट दुर्गन्ध आइरहेको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा निर्वाचन आयोगले आफ्नो निर्णय सच्याएर निष्पक्ष निर्वाचनको वातावरण बनाउने विश्वास व्यक्त गरिएको छ। यदि यो निर्णय नसच्याएमा र यसबाट कुनै गम्भीर परिणाम उत्पन्न भएमा त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समेत दिइएको छ।







