राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज दिनभरि राजनीतिक भेटघाटमा सक्रिय रहे । उनलाई भेट्न दिनभर उपत्यकाका तीनवटै जिल्लाका रास्वपा उम्मेदवारहरूको ताँती लाग्यो ।

साह हिजो झापाबाट काठमाडौं फर्किएका हुन् । उनी भोली सुदूरपश्चिम जाने तालिका छ । आज उनले आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा बसेर रास्वपा उम्मेदवारहरु भेटेका थिए ।

रास्वपा पार्टी कार्यालय वनस्थलीमा छ । घन्टीघर नाम दिइएको पार्टी कार्यालयमा बालेनको कार्यकक्ष पहिल्यै तयार गरिएको थियो, जहाँ उनले पदभार ग्रहण समेत गरिसकेका छन् । उनले गत ४ गते जनकपुर जानुअघि पार्टी कार्यालयमा गएर हतारमा आफ्नो कार्यकक्ष छिरेका थिए । त्यसबेला मुस्किलले १० मिनेट पार्टी कार्यालयमा बिताएका बालेन त्यसपछि फर्केर गएका छैनन् ।

काठमाडौं आएपछि उनी घन्टीघरमा भेटिने रास्वपाका नेता कार्यकर्ताहरूको अपेक्षा थिए । तर, बालेनले यसअघि जस्तै कुमार बेनको घरलाई नै आफ्नो ‘मुकाम’ बनाए । उनले यही घरमा बसेर रास्वपा सभापति रवि लामिछानेसँग निर्णायक वार्ता गरेका थिए ।

आज मात्रै बालेनले काठमाडौंका रास्वपा उम्मेदवार रञ्जु दर्शना, गणेश पराजुली, पुकार बम, सुनिल केसी, राजु पाण्डे, भक्तपुरमा उठेका राजीव खत्री, ललितपुरकी उम्मेदवार डा. तोसिमा कार्की, धादिङमा उठेकी आशिका तामाङ, काभ्रेमा उठेका बदन भण्डारीलगायतसँग भेटघाट गरे । भेटवार्तामा बालेनले उम्मेदवारहरूका कुरा सुन्नुका साथै आफ्नो राय सुझावहरू पनि दिएका थिए ।

बालेनसँग भेटेका राजीव खत्रीले चुनावको प्रतिवद्धतापत्रबारे छलफल भएको बताए ।

उनले भने, ‘प्रतिबद्धतापत्रमा पूरा गर्न नसकिने ठूला कुराभन्दा सम्भव हुने र व्यवहारिक कुराहरू समावेश गर्न सुझाव दिनुभयो ।’

कुमार बेनको घरमा जानेबेला पत्रकारले बालेनलाई पछ्याएर प्रश्न सोध्न खोजेका थिए । आज केपी ओलीको पोस्टमा गरेको कमेन्टका विषयमा पत्रकारले जिज्ञासा राख्दा उनले प्रतिप्रश्न गरे- कुन कमेन्ट ? पत्रकारले केपी ओलीको पोस्टमा गरेको कमेन्ट भन्दा उनले कुनै जवाफ दिएनन् । बरु कुरा बटार्दै पत्रकारलाई भने- तपाईँहरूले खाना खानुभएको हो ? यहाँ त खाने व्यवस्था छैन नि ।

अपराह्न कुमार बेनको घरबाट निस्किँदा पनि पत्रकारले उनलाई पछ्याए । एक पत्रकारले गाडीको प्रसंग निकालेर सोधे, त्यो गाडीको कुरा खास के हो ? बालेनले अगाडि रहेको गाडी देखाउँदै भने, यहीँ छ त गाडी ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार