१४ माघ २०८२, बुधबार

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
मुस्ताङ, माघ १४ गते । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो ।
यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।
हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो । रासस








