नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर मरिने हो कि भन्दैं चिन्ता र चासो व्यक्त गरेका छन् ।

एक भिडियो सन्देश जारी गरेर उनले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने र इतिहासको पानामा हराउन नचाहेको समेत बताए ।

आइतबार नयाँ पुस्ता र राष्ट्रको नाममा सम्बोधनको एक भिडियो सन्देश जारी गर्दै उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिंडेको यात्री रहेको बताए ।हार नमान्ने र आफ्ना काम अझै नसकिएको उनले बताएका छन् ।

‘यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन,’ प्रचण्डले भनेका छन्, ‘तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ । म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन ।’

प्रचण्डले सम्बोधनको क्रममा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।

‘तपाईँहरूले आज जे मागिरहनुभएको छ भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा हुन् । मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौं । त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार