
नेकपा एमालेले चुनावी तालमेल गर्न नेकपालाई प्रस्ताव गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव नेपाललाई फोनमार्फत चुनावी तालमेलको प्रस्ताव गरेका हुन्। फागुन २१ गतेका लागि तोकिएको चुनावको मिति नजिकिएसँगै दलहरुले तयारी तीव्र पारेका छन्।
देशभर एमाले, नेकपा, कांग्रेस र रास्वपाबीच चौपक्षीय प्रतिस्पर्धासँगै केही क्षेत्रमा अरु दलहरूसमेत प्रतिस्पर्धामा रहेका अवस्थामा ओलीले चुनाव तालमेलका लागि हात अघि बढाएका हुन्।
ओलीले प्रस्ताव गरेको पुष्टि गर्दै नेकपा स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले संयोजक र सह-संयोजक दुवै जनालाई चुनावी तालमेल गरौँ भनेर फोन गर्नुभएको थियो।’ नेकपाले भने ओलीको प्रस्तावलाई अस्वीकार गरेको छ।
नेता वर्षमान पुनले नेकपाले अहिले कुनै पनि दलसँग तालमेल नगर्ने बताए। देशसञ्चारसँग पुनले भने, ‘अहिले हामी कोहीसँग पनि तालमेल गर्दैनौँ। त्यसको संभावना छैन। हामीले देशैभर उम्मेदवार उठाएका छौँ। आफ्ना उम्मेदवार जिताउन लाग्छौँ।’
जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र ओलीका अभिव्यक्तिका कारण आउँदा चुनावमा एमालेसँग मिल्ने कुनै संभावना नभएको नेकपाका अर्का नेताले बताए।
नाम उल्लेख गर्न नचाहेका ती नेताले भने, ‘जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण, उहाँका अभिव्यक्ति र व्यवाहार नफेरिएका कारण मिल्ने संभावना छैन। एमालेसँग मिल्यौँ भन्दा हाम्रै कार्यकर्ता र जनताले के भन्छन् ख्याल गर्नुपर्छ।’
एमालेका नेता राजेन्द्र गौतमले पार्टील औपचारिक रुपमा कुनै पनि दलसँग संवाद नगरेको तर नेताहरूबीच भएका कुराकानीबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘औपचारिक रुपमा त कुनै दलसँग कुरा भएको छैन। तर नेताहरुबीच कुरा भएको हुन सक्छ। मलाई त्यसबारे जानकारी छैन।’
एमालेबाट चुनावी प्रस्ताव आएको चर्चाबारे पार्टीमा कुनै छलफल नै नभएको बताए।
उनले थपे, ‘अहिलेसम्म औपचारिक रूपमा कुनै प्रस्ताव आएको मलाई जानकारी छैन। यस विषयमा पार्टीमा कुनै छलफल भएको पनि छैन। तालमेल गर्ने कुनै सम्भावना हामीले देखेका छैनौँ।’







