
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) १८ वर्षपछि निर्वाचनमा फर्किएका छन् ।
प्रचण्ड नेतृत्वको नेकपाबाट महेन्द्रबहादुर शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् ।
पूर्व माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कालीकोट–१ बाट २७ हजार ६ सय २९ मत ल्याएर विजयी भए प्रकाण्ड । उनी २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याण र ०६७ मा पर्यटन तथा नागरीक उड्डयनमन्त्रीसमेत बने । तर पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०६९ असारमा पूर्वमाओवादी विभाजन भयो । विभाजनपछि प्रकाण्ड मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीतिर लागे ।
संविधानसभाको दोस्रो निर्वाचन २०७० मा उक्त पार्टीले निर्वाचन बहिष्कार गरेपछि विश्वकर्माको संसदीय यात्रा टुंगियो । लगत्तै २०७१ मंसिरमा वैद्य समूह पनि फुटेपछि विश्वकर्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ता बने । उक्त पार्टीले यसबीचमा भएका सबै निर्वाचन बहिष्कार गर्यो ।
प्रकाण्डले बहिष्कार गरेपछि दोस्रो संविधानसभा निर्वाचनमा पूर्वमाओवादीबाट महेन्द्रबहादुर शाही विजयी भए । उनी ऊर्जामन्त्रीसमेत बने । शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा १ ९१० बाट १२ हजार १ सय ५३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको पहिलो मुख्यमन्त्री बने । त्यसबेला पूर्वमाओवादी र एमालेबीच गठबन्धन थियो । फेरि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भए । त्यसबेला भने कांग्रेस र पूर्वमाओवादीले गठबन्धन गरेका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रकाण्ड १८ वर्षपछि पुनः ‘व्यालेट’ यात्रामा फर्किएका छन् भने शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् ।
८४ हजार ६ सय ४६ मतदाता रहेको कालिकोटमा धेरै दलित समुदायको भोट छ । जहाँ २९ दशमलव १५ प्रतिशत दलित समुदायको बसोबास रहेको राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक छ । दलित समुदायको भोट पनि यो निर्वाचनमा निर्णायक हुने नागरिक अगुवा हरिलाल विश्वकर्माले बताए ।
प्रकाण्ड १८ वर्षपछि निर्वाचनमा फर्किएपछि कालिकोटको निर्वाचन प्रतिस्प्रर्धा रोचक बन्दैं बनेको छ । कुनैं स्वार्थ र लोभमा नफसेकाले यो निर्वाचनमा प्रकाण्डको जित निश्चत भएको स्थानीयहरु बताउँछन् ।







