
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। स्रोतका अनुसार निर्वाचन केन्द्रित छलफलका लागि प्रधानमन्त्री कार्कीसँग छलफल गर्न पूर्वप्रधानमन्त्री ओलीले पुगेका थिए।
उनीहरूबीच फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन, समसामयिक राजनीति विषयमा केन्द्रित भएपनि दुई पक्षबीच भएको ठोस कुराकानी सार्वजनिक गरेका छैनन्। स्रोतका अनुसार ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन अहिले पनि सुरक्षा चुनौती कायमै रहेको बताएका थिए। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन बुधबारबाट सेना परिचालन गरिसकेको र राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको सरकारको तर्फबाट बताइएको छ।
यस अगाडि प्रधानमन्त्रीसहित राजनीतिक दल, निर्वाचन आयोगसँगको छलफलमा एमालेले मौसमका कारण फागुनमा निर्वाचन प्रतिकूल हुने र निर्वाचन सार्नुपर्ने, संसद पुनर्स्थापनाको विषयमा अदालतले निर्णय गरेपछि मात्र निर्वाचनको विषय अगाडि बढाउनुपर्ने एजेन्डा अगाडि सार्दै आएको थियो। तर सरकार र आयोगले निर्वाचन नसर्ने अडान लिएका थिए।
सरकारको गतिविधिलाई लिएर एमालेले तीव्र असन्तुष्ट व्यक्त गरिरहेको समयमा भएको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ। मंगलबार प्रधानमन्त्री कार्कीले मंगलबार मौसमको कारण निर्वाचन दुई चरणमा हुन सक्ने अभिव्यक्ति दिएलगत्तै एमालेले त्यसको प्रतिवाद गरेको छ। बुधबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले मिति सारेर भएपनि एकै चरणमा निर्वाचन हुनुपर्ने टिप्पणी गरेका थिए।
यसैबीच एमाले उपाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ले प्रायोजित ढंगबाट गठन भएको सरकारले मौसमको बहानामा निर्वाचन सार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। ‘अहिलेको सरकार निर्वाचन सार्ने र नगर्ने बहाना खोज्दैछ। प्रधानमन्त्री सुशिला कार्कीको अभिव्यक्तिले त्यो देखाइरहेको छ। एमालेले त अहिलेको सरकारले चुनाव गराउँदैन भनिरहेका नै थियौं। अहिले हिमपात र मौसमको बहानामा दुई चरणमा गर्ने सरकारले भनिरहेका छन्।’ बुधबार एमालेको पत्रकार सम्मेलनमा बादलले भने, ‘निर्वाचन सार्न पनि खोजिरहेको छ। यो अवैध सरकार हो, प्रायोजित ढंगले गठन गरिएको हो। सरकारले पुराना स्थापित पार्टी र दलका नेतालाई सखाप पार्ने र नयाँ पार्टीका नाममा देश जलाउनेलाई स्थापित गर्ने मिसन दिइएको थियो। तर त्यो पूरा नहुने देखिएपछि मौसम र हिमपातको बहानामा चुनाव सार्ने षडयन्त्र भइरहेको छ।’
यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि विशेष परिस्थितिमा हुन लागेको निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएका छन्। निर्वाचनकै विषयलाई लिएर केहि दिन अगाडि ओली, प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाबिच पनि छलफल भएको थियो।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। अहिले दलका उम्मेदवार मत माग्न व्यस्त छन्।







