धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न संसदीय चुनाव बहिष्कारका कार्यक्रमलाई थप तीव्र बनाउन फागनु ५ गते नेपालबन्दको घोषणा गरेको छ ।

सो पार्टीको सचिवालय बैठकपछि जारी गरिएको प्रेस वक्तव्यअनुसार केन्द्रीय समितिको चौथो बैठकले तय गरेका राजनीतिक, संगठनात्मक तथा संघर्षका कार्यक्रम देशभर उत्साहजनक रूपमा अघि बढिरहेको बताइएको छ ।

वक्तव्यमा छ वटा कम्युनिस्ट पार्टी आबद्ध संयुक्त संघर्ष समितिले तय गरेका कार्यक्रमहरूमा पार्टीको सक्रिय सहभागिता रहेको उल्लेख गरिएको छ । यस क्रममा पुष २५ गते घोषणा सभा, २८ गते मशाल जुलुस, माघ २९ गते उपत्यका बन्द, माघ २१ गते अन्तरक्रिया तथा माघ ५ गते जिल्लाव्यापी जनप्रदर्शन सम्पन्न भइसकेका छन् ।

ती कार्यक्रमहरूमा जनताको सक्रिय सहयोग र समर्थन प्राप्त भएको भन्दै पार्टीले आभार व्यक्त गरेको छ । संयुक्त संघर्ष समितिमा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड पूर्ण बहादुर बुढालाई शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन गरेकै क्रममा पक्राउ गरिएकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

पार्टीले यसलाई दमनकारी र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै पक्राउ परेका नेता–कार्यकर्ताको अविलम्ब रिहाइको माग गरेको छ ।

वक्तव्यमा जनजी विद्रोह अपहरण गरिएको आरोप लगाउँदै वर्तमान राजनीतिक अवस्था अगमन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणमा असफल भएको उल्लेख गरिएको छ । पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्वाचनले देशका विद्यमान समस्या समाधान गर्न नसक्ने पार्टीको ठहर छ ।

नेकपा (बहुमत) ले विकासविहीन चुनाव स्थगित गरी स्वाधीन संयुक्त सरकार गठन र जनसंविधान निर्माणका लागि राष्ट्रिय सहमतिको कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । पार्टीले चुनाव बहिष्कारको कार्यक्रमलाई निरन्तर अघि बढाउने निर्णयसमेत सार्वजनिक गरेको छ ।

पार्टीका अनुसार संघर्षको दोस्रो चरण अन्तर्गत माघ २० गतेदेखि फागुन ४ गतेसम्म व्यापक घरदैलो कार्यक्रम र फागुन ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । नेपाल बन्द सफल पार्न आम जनसमुदाय तथा सम्पूर्ण मित्र शक्तिहरूलाई आह्वान गरिएको छ

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार