
नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले १८ वर्षपछि पनि माओवादी विचार, कार्यक्रम र क्रान्ति जीवित रहेको दाबी गरेका छन् ।
कालिकोटको घरदैलो क्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै प्रवक्ता प्रकाण्डले जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभा र पछिल्ला राजनीतिक उतारचढावबारे स्पष्ट धारणा राखेका हुन् ।
उनले जनताको प्रतिनिधित्व नगर्ने, व्यक्तिगत स्वार्थ ,भ्रष्टाचार, कमिसन र दलालीमा फसेका उम्मेदवारहरूलाई अस्वीकार गर्न आग्रह समेत गरेका छन् ।
“हामी काठमाडौं गएपछि यस ठाउँमा त्यस्ता नेताहरूको आगमन भयो जुन् देश र जनताको कुरा बिर्सेर व्यक्तिगत स्वार्थ, कमिसन र भ्रष्टाचारको खेलमा लाग्ने प्रवृत्तिका भए ती अन्त्य गर्नु पर्छ ।”
प्रवक्ता प्रकाण्डले जनयुद्ध इतिहास मात्र नभई स्पष्ट लक्ष्यसहित सुरु भएको आन्दोलन भएको उल्लेख गर्दै त्यसको उद्देश्यअनुसार देशलाई अगाडि नबढाउने हो भने संघर्षको अर्थ नै समाप्त हुने बताए ।
उनले संविधानसभा निर्वाचनको समयमा जनताले संविधान निर्माण, राज्य परिवर्तन र जनमुखी राजनीति स्थापनाको जिम्मेवारी दिएर आफूहरूलाई पठाएको स्मरण गरे । “काठमाडौंको लडाइँ जनयुद्धको समयभन्दा पनि कठिन रहेछ,” उनले भने , “व्यवस्थाभित्रको संघर्ष झनै जटिल भयो, तर संविधानसभाको लडाइँ जनहितका लागि अपरिहार्य थियो।”
उक्त कार्यक्रमका क्रममा प्रकाण्डले कालिकोट कर्णाली प्रदेशकै महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँको निर्णयले राष्ट्रिय राजनीतिमा असर पार्ने दाबी गरे । “कालिकोट हार्यो भने देश हार्छ” “यो व्यक्तिगत हार–जित होइन, साझा संघर्षको मुद्दा हो।”
उनले जनताको विचार, भावना, वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवार आवश्यक रहेको बताउँदै केही पार्टीहरू समयमै योग्य उम्मेदवार अघि सार्न असफल भएको आरोप लगाएका छन् ।







