
बालेनमाथि लगानी,उठाउन थाले मालपानी ! प्रसंग आठ करोड रुपैयाँ पर्ने गाडीको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई गाडी उपहार दिएका व्यापारी कमलकिशोर मालपानीले लगानी उठाउन थालेका छन् । सूर्तीजन्य पदार्थ उत्पादन गर्दै आएको मालपानीको कम्पनीले भोलाको भाउ ह्वात्तै बढाएको छ । एकैचोटि बोरामा दुई हजार रुपैयाँ वृद्धि गरिएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बालेन यतिबेला आठ करोड रुपैयाँको गाडीमा सवार भएर देश दौडाहामा छन् । बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्ड रोभर डिफेण्डर गाडी मालपानीको हो । मालपानीले केही महिनाअघि मात्र भन्सार छुटसहित दुईटा गाडी खरिद गरेकोमा एउटा बालेनसँग छ । बालेन आफैं सो गाडी चलाएर चुनाव प्रचारप्रसारमा हिँडेका छन् ।
बालेनलाई आठ करोडको गाडी दिएर मालपानी अर्बौंको आम्दानी गर्ने बाटोमा लागेका छन् । मालपानीको कम्पनी श्रीराम टोबाको उद्योग प्रालिले एक साताअगाडि भोलाको भाउ बढाएको छ । भोला सबैभन्दा बढी खपत हुने सूर्तीजन्य पदार्थ हो । त्यसको भाउ बोरामै दुई हजारले बढाइएको छ । श्रीराम टोबाको उद्योगले दैनिक १३ सय बोरा भोला उत्पादन गर्छ ।
एक बोरा भोलामा साढे १६ किलो हुन्छ । जसको मूल्य ३५ हजार रुपैयाँ पर्छ । बोरामा दुई हजार रुपैयाँ बढाएर हाल ३७ हजार पुर्याइएको छ । त्योसँगै मालपानीको आम्दानी दैनिक २६ लाखले बढेको छ ।
स्रोतले भन्यो,‘एक साताअघि भोलाको भाउ बढाइएको छ । एक बोरामा दुई हजारले बढ्दा मालपानीको दैनिक २६ लाख रुपैयाँ कमाइ बढ्छ । आठ करोडको गाडी दिएर मालपानीले अर्बौंको आम्दानी गर्ने भए ।’
जनआस्थाबाट ।







