
एक दशक अघिदेखि निर्माणको चर्चा भएको र ५ बर्षअघि शिलान्यास भएको दक्षिण एशियाकै सबैभन्दा ठुलो भनिएको ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ अहिलेसम्म बन्न नसकेको बिषयमा स्थानीयहरुले प्रश्न उठाएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयले यो बिषयमा जिज्ञासा राखेका हुन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका ओलीलाई स्थानीय युवराज आचार्यले औधोगिक पार्कको बिषयमा स्थानीयको धेरै जिज्ञासा रहेको भन्दै जवाफ मागे ।
अध्यक्ष ओली आइतवार औधोगिक पार्क नजिकको बस्तिमा मतदाताहरुसँग भेटघाट कार्यक्रममा गएका थिए । ओलीले बिभिन्न कारणले औधोगिक पार्कको काम रोकिएको बताए । उनले यहाँ औधोगिक पार्क बनाएर छाड्ने दाबी समेत गरे ।
“हामी बनाउन लाग्छौं तर यसलाई रोक्न लाग्ने पनि धेरै छन्” उनले भने । एक लाखलाई रोजगार दिने उद्देश्यले सुरु गरिएको औधोगिक पार्क निर्माणको काम अघि बढ्ने र बढाइने उनले प्रतिबद्धता जनाए ।
२०७७ साल फागुनमा तत्कालीन अवस्थामा प्रधानमन्त्री रहँदा अध्यक्ष ओली नै यो पार्कको शिलान्यास गरेका थिए। दमक नगरपालिका –१०, गौरादह नगरपालिका –५ र कमल गाउँपालिका –७ को संगमस्थल रतुवा नदी आसपासमा दुई हजार दुईसय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो । त्यसअनुसार जग्गा अधिग्रहण पनि भइसकेको छ ।
पहिलो चरणमा यहाँ बिभिन्न प्रकारका उद्योगहरु स्थापना गर्न लगानी बोर्डले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको थियो । चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने बताइए पनि शिलान्यासपछि केही काम भएको छैन ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको बहुमतको सरकार भएको अवस्थामा यो निर्वाचन लगत्तै काम सुरु हुने बताए । यहाँ औधोगिक पार्क बन्छ भनेर धेरै ठुलो आश बोकेका थियौं, स्थानीय तारा चाम्लिङले भने । ‘अध्यक्ष ओली आफैं आएर बनाउने प्रतिबद्धता जनाउँदा खुशी लागेको छ’, उनले भने ।







