
पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।
वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका हुन् ।
आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको दुईवटा गाडीमा क्षति पुगेको छ ।







