नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी शक्तिहरूको भूराजनीतिक चलखेल नेपालमा पनि देखिन थालेको बताएका छन्।

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा गरिने स्टन्टकै भरमा विभिन्न देशमा विश्व साम्राज्यवादले हस्तक्षेप र चलखेल गरिरहेको र त्यसको असर नेपालमा पनि परेको दाबी गरे।

प्रचण्डले विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतविनाका व्यक्तिहरू सामाजिक सञ्जालको लोकप्रियतामात्रैका आधारमा अगाडि आउन खोजिरहेको टिप्पणी गरे। यस्ता प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प, गम्भीर समीक्षा र राष्ट्र तथा जनताको पक्षमा समर्पित भएर लाग्ने सामूहिक शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो। यही शक्तिको सिर्जना गर्ने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर अघि बढिरहेको उनले स्पष्ट पारे।

उनले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक विभेदको अन्त्य, सामाजिक न्यायको स्थापना तथा आर्थिक विकास, उत्पादन र रोजगारी सिर्जनाजस्ता एजेन्डामा नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकपटक आशा र भरोसा बढ्दै गएको दाबी गरे। उनका अनुसार जनताको वास्तविक समस्या समाधानमा केन्द्रित राजनीति नै अहिलेको आवश्यकता हो।

प्रचण्डले अहिलेको युग सामाजिक सञ्जाल र सूचना प्रविधिको भए पनि घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने राजनीतिक शैलीभन्दा प्रभावकारी अर्को कुनै माध्यम नरहेको धारणा राखे।

उनले नेकपालाई अहिले नयाँ विचार, नयाँ सोच र स्पष्ट राजनीतिक एजेन्डा बोकेको पार्टीको रूपमा प्रस्तुत गर्दै जनतामा यसको प्रभाव विस्तार हुँदै गएको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार