
नेकपा (माओवादी)का महासचिव विप्लवले सविधान संशोधन र प्रत्यक्ष राष्ट्रपतिको मुद्दा लिएर जनतामा जान निर्देशन दिएका छन् ।
विप्लवले आफ्नो पार्टीका उम्मेदवारलाई राज्य पुनःसंरचनाको मुद्दा समेत लिएर जनताका घरदैलोमा जान निर्देशन दिएका हुन् ।
साविक लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मङलबार बुटवलमा प्रशिक्षण दिदै विप्लवले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनता प्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको जिकिर समेत गरेका छन् ।
जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रुपमा समेत हेरेको दाबी गरेका छन् ।
पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै उक्त खेलमा देश भित्र गम्भीर चलखेल भईरहेको समेत बताएका थिए ।
महासचिव विप्लवले शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी गरेका छन् । उनले कार्की सरकार रास्वपाको सरकार भएको समेत बताए । चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरु जिम्मेवारी छाडेर रास्वपाको उम्मेदवार बन्दै हिड्नुले अस्वभाविक डिजाइनको संकेत समेत गरेको बताए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पिविएम वसन्त श्रेष्ठ, बाला थापा यस्तै केन्द्रीय सदस्य संगम पुन,धिरज राना,सरद ओली लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने उम्मेदवारहरु सबैले जिल्ला र निर्वाचन क्षेत्रको वस्तुस्थिति बारे रिपोर्टिङ गरेका थिए ।
माओवादीले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्र मध्य २३ वटा क्षेत्रमा उम्मेदवार दिएको छ । रोल्पामा पार्टीका प्रभावशाली नेता चुडामणि वलीलाई उम्मेदवार बनाएको छ ।
साबिक लुम्बिनी अञ्चल अन्तर्गतका महत्त्वपूर्ण जिल्ला रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार बनाएको छ ।







