झापास्थित रास्वपाको सम्पर्क कार्यालयमा पुरानो रास्वपा संस्थापन भने लगभग अनुपस्थित देखिन्छ ।बालेनको टिम नै हाबी देखिन्छ यो कार्यालयमा, जहाँ सभापति रवि लामिछानेको तस्बिर देखिँदैन ।

स्मरण रहोस्, रास्वपाका सबै कार्यालयमा रविको तस्बिर राख्ने चलन छ । अनि सबै कार्यक्रममा रविको तस्बिर तथा स्ट्यान्डी राख्ने यसअघिको प्रचलन यो रास्वपा सम्पर्क कार्यालयमा देख्न पाइँदैन ।

बालेनको टिमका एक सदस्यले अनलाइनखबरसँग भने, ‘संगठनका साथीहरु हुहुनुहुन्छ, तर सोसल मिडियाकै बलमा सबै भइरहेको जस्तो लाग्छ । हामीले प्रचार गरेको पनि होइन, मान्छेहरु स्वतस्फुर्त आउँछन् त हामीले कसरी रोक्ने ?

तीन घण्टासम्म बालेन कुरेर भेट्न नपाएका एक आगन्तुक भन्दै थिए, अरु उम्मेदवार घरदैलो गर्दैछन् । यहाँ चाहिँ घरदैलो नै यहीँ आएर लाइनमा बसेछ ।

बालेनको टिमको बुझाइमा खासमा यसरी पालो कुरेर बालेन भेट्नुभन्दा खुला प्रचारमा शुभेच्छुक जाँदा बढ्ता फाइदा हुन्छ । नत्र बालेन भेट्न पाउने र नपाउनेबीच नै दूरी बन्ने, प्रकारान्तरले चुनाव प्रचारलाई त्यसले बेफाइदासमेत गर्न सक्ने टिमको बुझाइ छ ।

तर रास्वपाका पुराना कार्यकर्ता भने बालेन पक्षको यो प्रचार शैलीसँग क्षुब्ध देखिएका छन् ।

एमाले अध्यक्ष केपी ओली त्यसरी नै प्रचारमा गइरहेका छन् । स्कुले केटाकेटी, बुढाबुढी सबैलाई पालो मिलाएर भेटिरहेका छन् । भेटेकामध्ये उल्लेख्य तस्बिर सोसल मिडियामा पोस्ट गर्ने अभियान नै चलेको छ ।

स्थानीयलाई भने ओलीको सञ्जाल क्याम्पेनले छोएको छैन, बरु विगतमा एमाले कार्यकर्ताहरुले गरेको तितोपिरो व्यवहारसमेतलाई जोडेर तिनीहरु टिप्पणी गरिरहेका छन् ।

ओली र बालेनबीच झापाको चुनाव प्रचारमा एउटा सामानता देखिएको छ, ओली पनि पार्टीको औपचारिक इकाइबाट कम, आफ्नै सर्कलबाट बढ्ता घेरिएका छन् । बालेन पनि रास्वपाको औपचारिक संगठनभन्दा आफ्नै सर्कलमा रहेर प्रचार अघि बढाइरहेका छन् ।

फागुन ४ पछि बालेन भने देशदौडाहामा सक्रिय हुने, खासगरी प्रदेश स्तरका चुनावी अभियान अघि बढाउने तयारीमा छन् ।

ओलीले स्थानीय किसान, महिला, बुढापाका भेट्दैगर्दा बालेन कन्टेन्ट क्रियटरहरु, विज्ञान प्रविधि र इन्जिनियरिङमा केही गरिरहेका व्यक्तिहरु, बढ्ता युवाहरु भेटिरहका छन् । बालेन भेट्न रास्वपा सम्पर्क अफिसमा पुग्नेमा युवामात्रै थिएनन्, बुढाबुढीहरुको पनि उल्लेख्य संख्या देखिन्थ्यो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार