
चीनका राष्ट्रपति सी जिन्पिङले चिनियाँ सेनाका वरिष्ठतम जेनरललाई पदबाट हटाउने गरी भएको कारबाहीबारे पहिलो पटक एउटा दुर्लभ सार्वजनिक टिप्पणी गरेका छन्।
गत महिना चीनको जनमुक्ति सेना पीएलएका वरिष्ठतम जेनरल जाङ योशिया बर्खास्त भए। उनलाई सीसँग निकट मानिन्थ्यो। उनीमाथि “अनुशासन र कानुनको गम्भीर उल्लङ्घन” गरेको आरोप लागेको थियो। चीनमा उक्त पदावलीलाई प्रायजसो भ्रष्टाचारको आरोप लगाउँदा पर्यायका रूपमा प्रयोग गरिन्छ।
मङ्गलवार एउटा भर्चूअल भाषणमा सीले गत वर्ष “अस्वाभाविक र असाधारण” रहेको भन्दै सेनाले “भ्रष्टाचारविरुद्धको सङ्घर्षमा क्रान्तिकारी परिष्कार” गरेको बताए।
dir=”ltr”>
मङ्गलवारको भाषणमा सीले पीएलएले “कैयौँ जोखिम र चुनौतीहरू” प्रभावकारी तरिकाले सम्बोधन गरेको अनि सेनामा भएका धेरै जनाको “गहिरो राजनीतिक शुद्धीकरण” भएको बताए।
उनले पीएलएका सैनिकहरू “पार्टीप्रति निष्ठावान्” रहेको र तिनले आफूलाई “सक्षम र विश्वसनीय” प्रमाणित गरेको बताए।
आसन्न चिनियाँ नववर्षका अवसरमा पीएलएलाई दिएको शुभकामना सन्देशमा सीले सेनाभित्र गरिएको कारबाहीबारे अर्थपूर्ण टिप्पणी गरेका हुन्। वार्षिक शुभकामना सन्देशमा सीले सन् २०२२ पछि पहिलो पटक भ्रष्टाचारबारे बोलेका हुन्।
कारबाहीमा परेका ७५ वर्षीय जाङ योशिया चिनियाँ सेनामा निकै शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोग सीएमसीका उपाध्यक्ष थिए। सीएमसीको अध्यक्षता सी आफैँ गर्छन्।
जाङ योशियासँगै अर्का वरिष्ठ सैन्य अधिकारी जेनरल लिउ जेन्लीलाई पदबाट हटाइएको थियो।







