
वाशिङ्टनले नेपालसँगको आफ्नो सम्बन्धलाई ‘शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको लेन्स’ बाट हेर्ने गरेकोले नयाँ सरकारले चीनसँग अवलम्बन गर्ने नीतिप्रति अमेरिकी सरकारको चासो रहन सक्ने एक जना अमेरिकी विज्ञले बताएका छन्।
ती विज्ञले अमेरिकाका लागि दक्षिण एशियाका भारत र पाकिस्तान जस्तो रणनीतिक महत्त्व नेपालको नभएको उल्लेख गर्दै चिनियाँ महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिशटिभलाई लिएर नेपालले चाल्ने कदमहरूलाई पनि अमेरिकाले ध्यान दिनसक्ने विचार व्यक्त गरेका छन्।
कतिपय भारतीय विश्लेषकहरूले ट्रम्प प्रशासनले ‘कारोबारी’ विदेश नीति अवलम्बन गर्दै आएको भन्दै त्यो ‘अप्रत्याशित’ र भारतले नेपालबारे लिने गरेको नीतिभन्दा पृथक् पनि हुनसक्ने सम्भावना पनि देखिएको बताएका छन्।
नेपालमा चिनियाँ भूमिकालाई कम गर्ने सवालमा भारत र अमेरिकाको दृष्टिकोण मेल खान सक्ने उल्लेख गरेका अमेरिकी विज्ञले आफ्नो देशका बाँकी रहेका विकास परियोजनाहरूप्रति नेपालले राख्ने धारणालाई पनि अमेरिकाको चासो रहने उल्लेख गरेका छन्।







