
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल कुनै पनि दलसँग सत्ता समीकरण वा चुनावी गठबन्धन नबन्ने स्पष्ट पारेका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित निर्वाचन परिचालन समितिको कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै दाहालले नेकपा एमालेसँग सहकार्य हुन लागेको भन्ने चर्चा निराधार रहेको बताए। ‘अहिले हाम्रो कसैसँग पनि समीकरण हुने वाला छैन,’ उनले भने, ‘एमालेसँग मिल्यो भनेर अनौठो मान्न पर्दैन भन्ने चर्चा सुनेँ, तर अर्थ लगाउने पनि एउटा सीमा हुन्छ। यस्तो अति गर्नु हुँदैन।’
संयोजक दाहालले गत २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गरिरहेको दलका शीर्ष नेताहरूले लिनुपर्ने धारणा राखे। उनका अनुसार सो दिन भएको नरसंहारका लागि सरकार सञ्चालनमा रहेका दल र सरकारको नेतृत्व गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी वहन गर्नुपर्छ। जिम्मेवारीबाट पन्छिनु अनुचित भएको उनको टिप्पणी थियो।
यद्यपि, २४ गते भएका आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।
दाहालले संविधान, शान्ति सम्झौता र गणतन्त्रको रक्षाका सवालमा भने पूर्व सहयात्री दलहरूसँग सहकार्य सम्भव रहेको संकेत गरे। २ बुँदे समझदारी र शान्ति सम्झौतामा हस्ताक्षर गरेका शक्तिहरू संविधान र उपलब्धि संकटमा परे एक ठाउँमा उभिनु स्वाभाविक हुने उनको भनाइ थियो।
उनले २३ गतेको घटनाका सन्दर्भमा ती दलहरूलाई तत्काल सहयात्रीका रूपमा लिन नसकिने स्पष्ट पार्दै आवश्यक परे परिवर्तनका एजेन्डा जोगाउन सहकार्य हुन सक्ने उल्लेख गरे। तर त्यसलाई अहिले नै चुनावी तालमेलका रूपमा व्याख्या गर्नु गलत हुने उनको भनाइ थियो।







