
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सैन्य कारबाहीको निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको बेवास्ता भएको टिप्पणी गरेका छन्।
“संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि गरेका हमला र इरानले सो क्षेत्रमा गरेको प्रतिकारले अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षालाई बेवास्ता गरेको छ,” गुटेरसले एउटा वक्तव्यमा भनेका छन्।
म शत्रुता तथा तनाव तत्काल अन्त्य गर्न आह्वान गर्छु। त्यो गर्न विफल भएमा त्यसले नागरिक तथा क्षेत्रीय स्थिरतामा गम्भीर असर पुर्याउने गरी व्यापक क्षेत्रीय द्वन्द्वको जोखिम निम्त्याउने छ।”
शनिवार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा अमेरिकी राजदूत माइक वाल्ट्जले आक्रमणहरू “निश्चित र रणनीतिक कुराहरूप्रति लक्षित” रहेको बताए।
“साझेदारहरूलाई खतरा निम्त्याउने क्षेप्यास्त्र सामर्थ्यलाई नष्ट गर्न, अन्तर्राष्ट्रिय जलक्षेत्रमा अस्थिरता निम्त्याउने जलसैनिक सामग्रीहरूलाई कमजोर पार्न र मिलिशिआहरूलाई अस्त्र उपलब्ध गराउने संयन्त्रलाई अवरुद्ध पार्न तथा परमाणुअस्त्रको कहिल्यै धम्की दिन नसक्ने इरानी सत्ता सुनिश्चित गर्न चाहिएको” उनले दाबी गरे।
इजरेली राजदूत ड्यानी डेननले भनेः “संयुक्त राज्य अमेरिकासँग मिलेर इजरेलले आफ्नो, हाम्रा साझेदार र वैश्विक स्थिरताका लागि रहेको खतराविरुद्ध कदम चालेको छ।”
“जब सत्ताले ‘इजरेलको मृत्यु, अमेरिकाको मृत्यु होओस्’ भनी नारा लगाउँछ, तब हामी त्यसलाई गम्भीर रूपमा लिन्छौँ। हामी त्यसमा विश्वास गर्छौँ र कदम चाल्छौँ। हाम्रा उद्देश्यहरू स्पष्ट छन्।”







