इरानविरुद्ध अमेरिका–इजरायलको सैन्य कारबाही दोस्रो सातामा प्रवेश गरेको छ । तर, इरान युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निम्ति महँगो साबित भइरहेको छ ।

अमेरिकी नागरिकमा देशव्यापी विरोध प्रदर्शन, आर्थिक चिन्ता र ट्रम्पको आफ्नै समर्थकमा बढ्दो दरारसहित व्यापक असन्तोष फैलिरहेको छ । जनमत सर्वेक्षण र स्थलगत रिपोर्टले ट्रम्पको इरान युद्ध नीतिप्रति जनताको भरोसा तीव्र गतिमा घटिरहेको देखाउँछ ।

आलोचकले ट्रम्प प्रशासनमाथि युद्धका कारण र लागतका बारेमा जनतालाई भ्रममा पारेको आरोप लगाएका छन् । फेब्रुअरी २८ मा सुरु यो संघर्षलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको छ । यसअन्तर्गत गरिएका संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको हत्या गरिएको छ ।

इरानका सैन्य ठेगानालाई निसाना बनाउँदै सत्ता परिवर्तन गर्ने उद्देश्य राखिएको थियो ।१० दिन बितिसक्दा पनि त्यो लक्ष्य पूरा हुन सकेको छैन । युद्धको १०औँ दिनमा इरानले आफ्नो नयाँ सर्वोच्च नेता समेत चयन गरिसकेको छ

ट्रम्पको ‘अप्रुभल रेटिङ’मा भारी गिरावट
अमेरिकामा हालै गरिएका सर्वेक्षणमा ट्रम्पको इरान युद्ध नीतिप्रति असन्तुष्टि प्रस्ट देखिएको छ । सीएनएन एसएसआरएस पोलका अनुसार, ५९ प्रतिशत अमेरिकी यी आक्रमणको विपक्षमा छन् । जबकि, कुल असन्तुष्टि –१८ अंकमा पुगेको छ ।

एनबीसी न्युज पोलमा ट्रम्पको कुल ‘अप्रुभल रेटिङ’ ४४ प्रतिशत छ भने ५४ प्रतिशत असन्तुष्टि रेकर्ड गरिएको छ । यो मुख्यतया युद्धसँग जोडिएको तथ्यांक हो ।

युद्ध सुरु भएयता ट्रम्पको रेटिङ ऐतिहासिक न्यूनस्तरमा पुगेको छ । विदेशी मामिलामा नअल्झने वाचा पूरा नभएकामा मतदाताहरू आक्रोशित छन् । विश्लेषकका अनुसार, यो एक ऐतिहासिक असामान्यता हो । विगतका युद्ध वा संघर्षमा राष्ट्रपतिहरूलाई व्यापक जनसमर्थन मिल्ने गर्थ्यो । तर, ट्रम्पको कार्यकालको यो युद्धमा त्यो समर्थन कतै देखिएको छैन ।

रिपब्लिकन पार्टीको आधार हल्लियो
ट्रम्पको आफ्नै रिपब्लिकन आधारमा पनि दरार देखिन थालेको छ । यद्यपि, ७७ प्रतिशत रिपब्लिकन मतदाताले आक्रमणको समर्थन गरेका छन् । तर, ‘मागा विद्रोह’का सुरुआती संकेत देखिन थालेको छ । टकर कार्लसनजस्ता प्रभावशाली व्यक्तिहरूले यो युद्धलाई घृणित र खराब भनेका छन् ।

सामाजिक सञ्जाल एक्समा पूर्वसमर्थकले निराशा व्यक्त गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “ट्रम्प सधैँ आफ्नै खुट्टामा बन्चरो हान्छन् ।”

अन्धाधुन्ध बमबारीले अमेरिका समर्थक इरानीलाई पनि टाढा बनाइदिएको छ । रिपोर्टका अनुसार, सन् २०२४ मा ट्रम्पका मुख्य मतदाता – जो पहिले नै अर्थतन्त्रलाई लिएर चिन्तित थिए, युद्धमा मात्र ध्यान केन्द्रित हुँदा उनीबाट टाढिँदै छन् ।

गाडीबाट स्टिकर हटाउँदै ट्रम्प समर्थक
ट्रम्पप्रतिको समर्थनका सांकेतिक चिह्न हटाइँदै छ । एउटा भिडियोमा एक ट्रम्प समर्थकले आफ्नो गाडीबाट ‘ट्रम्प २०२४’ को स्टिकर हटाउँदै ग्यास (पेट्रोल)को बढ्दो मूल्यप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियोमा ती व्यक्ति चिच्याउँछन्, “जब यी मानिसले हामीलाई सहयोग नै गर्दैनन् भने हामी कसरी अमेरिकालाई फिर्ता लिन सक्छौँ ?” उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको छ ।

‘स्ट्रेट अफ हर्मुज’मा अवरोधका कारण ग्यासको मूल्य आकाशिएको छ । तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको छ, जसले व्यापक आर्थिक संकटको आशंका बढाएको छ ।

अमेरिकामा देशव्यापी विरोध प्रदर्शन चर्किएको छ । वासिङटन डीसी, न्युयोर्क, लस एन्जलस र स्याक्रामेन्टोजस्ता प्रमुख सहरमा हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

विभिन्न संस्थाद्वारा आयोजित प्रदर्शनमा ‘जमिनमा कुनै बुट नहोस्, हावामा कुनै बम नहोस्, अमेरिका जताततैबाट बाहिर निस्कियोस्’जस्ता नारा लगाइएको छ । उनीहरूले युद्धलाई अवैध र बिनाउक्साहट गरिएको बताएका छन् ।

डीसीमा युद्धविरोधी र समर्थकबीच झडप समेत भएको छ । नर्स र सेवा कर्मचारी युनियनले यो युद्धलाई साम्राज्यवादी कार्य भन्दै निन्दा गरेका छन् ।

महँगीको डरले मानिस चिन्तित
आर्थिक डरले ट्रम्पविरोधी भावनालाई अझ तीव्र बनाइरहेको छ । महँगीको चिन्ता सबैभन्दा अगाडि छ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी क्रिस्टालिना जर्जिएभाले तेलको मूल्यमा व्यापक वृद्धिले विश्वव्यापी मुद्रास्फीतिको जोखिम रहेको भन्दै नीति निर्मातालाई अकल्पनीय धक्काका निम्ति तयार रहन सल्लाह दिएकी छन् ।

अमेरिकी अर्थशास्त्रीको अनुमान के छ भने, यदि तेल १०० डलरमै टिकिरहे महँगी ३.७ प्रतिशतसम्म पुग्न सक्छ । र, स्थिर विकास तथा बढ्दो मूल्यको खतरा बढ्नेछ । लामो युद्धले जीडीपी वृद्धि ०.१–०.२ प्रतिशतसम्म घटाउन सक्छ ।

डेमोर्क्र्याटले यो युद्धलाई अधिकारविहीन र अन्तर्राष्ट्रिय कानुनविपरीत भनेका छन् । रिपब्लिकन धेरैजसो ट्रम्पको साथमै छन् । केहीले भने मध्यावधि चुनावअघि राजनीतिक जोखिम हुन सक्ने चेतावनी दिइरहेका छन् । ट्रम्पले बिनासर्त आत्मसमर्पणबाट युद्ध छिट्टै समाप्त हुने दाबी गरिरहेका छन् । तर, लक्ष्यमा भइरहेको परिवर्तन — परमाणु खतरादेखि सत्ता परिवर्तनसम्मले सर्वसाधारणमा सन्देह पैदा गरिदिएको छ ।

युद्धमा हताहत हुनेको संख्या बढ्दै जाँदा र अमेरिकी आक्रमणमा एउटा इरानी विद्यालयका १६८ बालबालिकाको मृत्यु भएको रिपोर्टसँगै विश्व बजार हल्लिरहेको छ । यसले युद्धको घरेलु क्षतिलाई बढाउँदै लगेको छ, जसले ट्रम्पको नेतृत्व क्षमता र राष्ट्रको दृढताको कडा परीक्षा लिइरहेको छ । एजेन्सीहरूको सहयोगमा

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार