
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले अमेरिका र इजरायलले आक्रमण जारी राखे पश्चिम एसियामा ‘एक लिटर तेल’ पनि आपूर्ति हुन नदिने चेतावनी दिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल निर्यात रोकेमा इरानलाई थप आक्रमण गर्ने भन्दै धम्की दिएका थिए । त्यसको प्रतिउत्तरमा इरानले यस्तो बताएको हो ।
ट्रम्पले सोमबार भने ‘इरानको सेनलाई गम्भिर क्षति पुर्याएको छ । अनुमानित ४ साता अघि नै द्वन्द्व अन्त्य हुन सक्छ । यद्यपी विजय कस्तो देखिन्छ थाहा छैन ।’
इजरायलले युद्धको उद्देश्य नै धार्मिक शासन प्रणालीलाई हटाउनु रहेको जनाइएको छ । अमेरिकी अधिकारीले भने इरानको क्षेप्यास क्षमता र न्यूक्लिएर योजनालाई ध्वस्त पार्नु रहेको बताइएको छ । तर ट्रम्पले इरान सरकारले अनुपालन गरे मात्रै युद्धको अन्त्य हुने बताइएको छ ।
इरानले स्ट्रेट अफ हर्मुजबाट आवतजावत हुने ट्यांकरलाई रोके अमेरिकाले आक्रमण थप तीव्र रूपमा बढाउने ट्रम्पले बताएका थिए । आईआरजीसीले इजरायल र अमेरिकाले आक्रमण जारी राखेको अवस्थामा यो क्षेत्रबाट कुनै तेल बाहिर नजाने दाबी गरेको हो ।
लगत्तै ट्रथ सामाजिक सञ्जालमा ट्रम्पले ‘यदि इरानले स्ट्रे अप हर्मुजबाट तेल आपूर्ति रोकेमा अमेरिकाले पहिलाको तुलनामा २० गुणा बढी आक्रमण गर्नेछ ।’
इरानका विदेशी मन्त्री अब्बास अराक्चीले विगतका वार्ताहरुमा तितो अनुभव रहेको बताउँदै अमेरिकासँगको वार्ता पुन: सुरु हुने सम्भावना नरहेको समेत बताएका छन् ।
‘यसअघि तीन पटकको वार्तामा अमरिकन टोली आँफूहरुले ठूलो प्रगति गरेको दाबी गर्यो भने अझै हामीलाई आक्रमण गर्ने निर्णय गरेको छ, त्यसकारण उनीहरुसँग फेरि वार्ता गर्ने एजेन्डा हाम्रो हुनुपर्छ जस्तो लाग्दैन,’ उनले भने ।
युद्धका कारण स्ट्रेट अफ हर्मुज बन्द छ । भन्डारणहरू भरिएपछि उत्पादकहरू उत्पादन रोक्न बाध्य भएका छन् भने ट्यांकरहरू एक साताभन्दा बढी यात्रा गर्न नसक्ने समेत बीबीसीमा उल्लेख छ ।







