
सांसद महावीर पुन ले देशले आज बालेन शाह जस्तो जोशिलो युवा प्रधानमन्त्री पाउने अवस्था बनेको उल्लेख गर्दै सुशासनप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। उनले नयाँ नेतृत्वबाट जनताले ठूलो अपेक्षा राखेको पनि स्पष्ट पारे।
पुनले विगतका नेताहरूको गुटबन्दी, स्वार्थ, भ्रष्टाचार, नातावाद र कुशासनका कारण देशले बारम्बार समस्या भोग्नुपरेको स्मरण गराए। उनले यस्ता प्रवृत्तिले राज्य संयन्त्र कमजोर बनाउँदै जनविश्वाससमेत घटाएको बताए।
उनका अनुसार २००७, २०१७, २०४६ र २०६३ सालमा नेतृत्व र व्यवस्था परिवर्तन भए पनि मूल समस्या भने जस्ताको तस्तै दोहोरिँदै आएको छ। परिवर्तन भए पनि सोच र प्रणाली सुधार नहुँदा विकृति कायम रहेको उनको भनाइ छ।
पुनले अब इतिहास दोहोरिन नदिन चेतावनी दिँदै नयाँ नेतृत्वले कुशासन अन्त्य गरी सुशासन स्थापित गर्नै पर्नेमा जोड दिएका छन्। उनले जनअपेक्षा पूरा गर्ने गरी इमानदार र पारदर्शी शासन आवश्यक रहेको उल्लेख गरे।







