
गुण्डागर्दीविरुद्ध सरकार आक्रामक बनेको छ। गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत प्रहरीले राजधानीका विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालेको हो। “नागरिक राज” र “कानुनी राज” स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानलाई राज्यको कडा कदमका रूपमा हेरिएको छ।
प्रहरीले पछिल्लो अपरेसनमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सक्रिय गु#ण्डा समूहविरुद्ध सर्च अभियान चलाउँदै १८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा परेकामध्ये ‘किमजोङ बोस’ भनेर चिनिने सुरेश गुरुङ पनि रहेका छन्, जो लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको थियो।
सुरक्षा निकायका अनुसार पक्राउ परेकाहरू विभिन्न प्रकारका धम्की, असुली, झै-झगडा तथा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले उनीहरूको सञ्जाल, आर्थिक गतिविधि र राजनीतिक संरक्षणसमेतको पाटोबाट गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।
गृहमन्त्री सुदन गुरुङले देशलाई डनमुक्त बनाउने अभियानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नमानिने स्पष्ट सन्देश दिएका छन्। उनले कानुनभन्दा माथि कोही पनि नरहने भन्दै अपराधमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।
यस अभियानसँगै राजधानीमा त्रास फैलाउने गु#ण्डा समूहहरू कमजोर पर्ने अपेक्षा गरिएको छ। सर्वसाधारणमा सुरक्षा अनुभूति बढाउने र विधिको शासन स्थापित गर्ने लक्ष्यसहित सुरु गरिएको यो अपरेसन आगामी दिनमा अझै व्यापक बनाइने प्रहरीले जनाएको छ।