
काठमाडौँ उपत्यकामा आज हुरीबताससहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो मेघगर्जनसहित काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘साथै उपत्यकाका एक-दुई स्थानमा हुरीबतास पनि चल्ने सम्भावना देखिएको छ’, उनलेे नेपालखबरसँग भने।।
देशभर आज कहाँ-कहाँ वर्षा-हुरीको सम्भावना छ भन्ने प्रक्षेपणचाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्नेछ।
यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.१ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।







