एसिया र अफ्रिकाका विकासशील देशहरू पछिल्लो दशकभर चीनमाथिको बढ्दो निर्भरताबारे चिन्तित रहँदै आएका थिए।

ऋणपासो, लुकेका लागत र नीतिगत जोखिमका कारण आफ्नो अर्थतन्त्र संकटमा पर्न सक्ने आशंका व्यापक थियो। तर हाल इरान युद्धले त्यो धारणा उल्ट्याइदिएको देखिएको छ।

अमेरिका र इजरायलले इरानमा युद्ध सुरु गरेको ६ हप्तापछि ऊर्जा र आपूर्ति संकटबीच चीनमा आधारित आपूर्ति शृंखलामा निर्भर देशहरू अपेक्षाभन्दा स्थिर देखिएका छन्। पाकिस्तान यसको प्रमुख उदाहरण बनेको छ। विगतमा इन्धन मूल्यवृद्धिले गम्भीर संकट भोग्ने पाकिस्तान अहिले तुलनात्मक रूपमा सन्तुलित अवस्थामा रहेको छ।

यसको मुख्य कारण चीनबाट आयात गरिएको सौर्य ऊर्जा प्रविधि हो। पछिल्ला वर्षहरूमा पाकिस्तानले ठूलो मात्रामा सोलर प्यानल आयात गरी ऊर्जा निर्भरता घटाएको छ। अहिले त्यहाँ करिब एक चौथाइ घरपरिवारले सौर्य ऊर्जा प्रयोग गरिरहेका छन्, जसले इन्धन संकटको असर कम गराएको छ।

यस्तै, नेपालमा पनि सस्तो चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) र जलविद्युतको प्रयोगले तेल मूल्यवृद्धिको असर कम गरेको देखिन्छ। अन्य केही देशहरूले चिनियाँ सोलर प्यानल रोक्ने प्रयास गर्दा ऊर्जा संकटको प्रभाव झन् बढी भोग्नुपरेको छ।

यद्यपि चीनमाथि निर्भरता पूर्ण रूपमा सुरक्षित विकल्प भने होइन। विगतमा चीनले केही आपूर्ति शृंखला राजनीतिक दबाबका रूपमा प्रयोग गर्ने संकेत देखाइसकेको छ। तर वर्तमान अवस्थामा अमेरिकी प्रभावमा निर्भर देशहरू बढी संकटमा देखिँदा चीनसँग सहकार्य गर्ने देशहरू अपेक्षाभन्दा बलिया देखिएका छन्।

यो घटनाक्रमले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ सन्तुलनको संकेत गरेको छ, जहाँ विकासशील देशहरूका लागि चीन वैकल्पिक शक्ति मात्र नभई व्यावहारिक समाधानका रूपमा उदाउँदै गएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार