
ललितपुरको मंगलबजारमा भएको छुरा प्रहार घटनामा संलग्न २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. ९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जु भन्ने संजिव नेपाली र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. १ घर भई ललितपुर महानगरपालिका वडा नं. ८ वस्ने २२ वर्षीय गगन सुनार रहेका छन् ।
उनीहरुले हिजो साँझ मंगलबजारमा छुरा प्रहार गरी कमल गाउँपालिका वडा नं. ४ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ ईमाडोल बस्ने ३३ वर्षीय को सुमित नेम्वाङ र उनको भाइ २५ वर्षीय सृजन नेम्वाङका हत्या गरेका थिए ।
हिजो साँझ साढे ७ बजे मंगलबजार कृष्ण मन्दिर अगाडि दुई पक्षबीच कुटपिट एवं चक्कु प्रहार भएको सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । चक्कु प्रहारबाट नेम्वाङदाजुभाइ घाइते भएका थिए ।
उनीहरुलाई तत्कालै उद्धार गरी प्रहरीको गाडीमा राखी ग्वार्कोस्थित रहेको बीएण्डबी अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा सोही राति २ बजेको समयमा डाक्टरले दुबै जनालाई मृत घोषण गरेको हो ।
घटनास्थलमा तत्काल विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीले संलग्न व्यक्तिलाई चारैतिरवाट घेरा हाली खोजतलास गर्ने क्रममा घटनामा प्रयोग भएको छुरासहित भागिरहेको अवस्थामा ८ बजे सञ्जु भन्ने संजिव नेपालीलाई छुरासहित नियन्त्रणमा लिन सफल भएको र उनीसँगै आएका सहयोगी गगन सुनार समेतलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सुमित नेम्वाङले फोन गर्ने क्रममा झुक्किएर अपरिचित नम्वरमा फोन गएको र फोन रिसिभ गर्ने व्यक्तिले गाली गलौज गरे पश्चात फोनमा भनाभन उत्पन्न भई दुवै पक्ष मंगलबजार कृष्ण मन्दिरमा भेट्ने सहमति भई सुमित नेम्वाङ आफ्नो भाई सृजन नेम्वाङ र साथीहरूसहित दिउँसोदेखि घुम्न मंगलबजारमा नै थिए ।
अर्को पक्ष समेत तत्काल कृष्ण मन्दिर अगाडी आई भेटघाट गरी कुराकानी गर्ने क्रममा संजिव नेपालीले आफ्नो साथमा ल्याएको मासु काट्ने छुराबाट सुमित नेम्वाङमाथि प्रहार गरेको र उनको भाइले बचाउन जाँदा भाइलाई समेत घाँटी र पेटमा छुरा प्रहार गरी छुरासहित घटनास्थलबाट भागेको देखिएको उनले बताए ।
सामान्य विषयमा अपरिचित युवाहरूले आफ्नो क्षणिक आवेगलाई नियन्त्रणमा लिन नसक्दा र छुरा प्रहार गर्ने व्यक्ति संजिव नेपालीले नियोजित तरिकाले छुरा साथमा बोकेर आई आक्रमण गर्दा उक्त घटना भएको देखिएको उनको भनाइ छ ।
उनीहरुको साथबाट धारिलो हतियार थान छुरा, फलामे नक, स्कुटर बरामद भएको थियो । संलग्न व्यक्तिहरूलाई तत्काल भागिरहेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको उनले बताए ।







