
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का ले निर्णायक बैठक बोलाएका छन्। धुम्बाराहीस्थित स्मार्ट होटलमा आइतबार सवा १२ बजेका लागि बैठक तय गरिएको छ।
खड्काको सचिवालयका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको विवादबारे गम्भीर छलफल गरिनेछ। उपत्यकामा उपलब्ध नेताहरूलाई विशेष रूपमा बैठकमा बोलाइएको छ।
यसैबीच सर्वोच्च अदालत ले शुक्रबार दिएको फैसलाले कांग्रेसको आधिकारिकता विवादमा नयाँ मोड ल्याएको छ। अदालतले निर्वाचन आयोग को निर्णय सदर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको छ।
अदालतको यही निर्णयपछि खड्का पक्ष दबाबमा परेको देखिएको छ। शनिबार पनि गोल्फुटारस्थित खड्कानिवासमा छलफल बसेको थियो, जहाँ शीर्ष नेताहरूबीच रणनीति तय गर्ने प्रयास भएको छ।
बैठकमा विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको सहभागिता रहे पनि शेखर कोइराला पक्ष भने अनुपस्थित रहेको छ, जसले पार्टीभित्रको विभाजन अझ स्पष्ट पारेको छ।