
चीनबाट निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग निकट एक जना पात्र बौद्ध घ्याङ गुठी व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएका छन् ।
एक चीन नीतिविरुद्ध अभियान चलाइरहेका खड्गजित लामालाई भर्खरै समितिको अध्यक्ष बनाइएको हो । त्यसैगरी, टासी लामालाई सचिव, शैलेन्द्र लामालाई कोषाध्यक्ष, किशोर लामा र निर्मला लामालाई सदस्य तोकिएको छ ।
पदेन सदस्यमा गुठी संस्थान, काठमाडौं महानगरपालिका–६, बौद्ध तथा मेलम्ची घ्याङ गुठी, जिल्ला प्रशासन कार्यालय रहेको छ । सो गुठी बौद्ध घ्याङ राजगुठीभित्र छुट गुठीमा सञ्चालन भइरहेको छ । गुठीयार र पुजारीको रूपमा चिनियाँ लामाले काम गर्दै आएका थिए । तत्कालीन चिनियाँ लामा भूपतिबज्र लामालाई नियुक्त भएको दिनदेखि नै दुःख दिइयो । उनलाई लखेट्न निरन्तर प्रहार गरियो ।
गुठी संस्थान नै उनलाई हटाउन लागिपरेको थियो । बौद्ध घ्याङ गुठीको जग्गा अतिक्रमण भएको विषयमा चासो देखाएका उनी पदमा हुञ्जेल निशानामा परिरहें । रोचक प्रसंग के भने, जग्गा संरक्षण गर्न जोड दिने व्यक्तिलाई हटाएर अतिक्रमण गर्नेलाई नियुक्ति दिइएको हो । ‘श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको गठन आदेश, २०८३’ बमोजिम नियुक्त भएका खड्गजित विवादित पृष्ठभूमिका हुन् ।
मुलुकको परराष्ट्र नीतिविपरीत दलाई लामाको अभियानमा लागेका उनीमाथि बौद्धनाथ स्तुपाभित्र कानुनविपरीत संरचना खडा गरी भाडामा लगाएर कमाइ गरिरहेको आरोप छ । स्रोतका अनुसार आफू अध्यक्ष रहेको श्री बौद्ध तामाङ कल्याण गुठीको नाममा उनी बौद्ध घ्याङ गुठी र विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाको महिमा गिराउन लागिपरेका छन् । ‘उनी फ्रि तिब्बत अभियानसँग जोडिएका छन्’, स्रोतले भन्यो । सो गुठीले दियो बाल्न बौद्धनाथ स्तुपाभित्र घर बनाएको छ । भक्तजनले दियो बाल्नका पनि शुल्क बुझाउनुपर्छ ।
उक्त दियो घरमा केही वर्षअघि आगलागी भएको थियो । सो घरका कारण स्तुपालाई जोखिम भएपछि भत्काउन माग गर्दै स्थानीय, पर्यटन व्यवसायी, समाजसेवीहरूले २०७५ भदौ २१ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनले कारबाहीमा चासो नदेखाउँदा विश्व सम्पदा सूचीमा उनको रजाइँ चलिरहेको छ । ‘विश्व सम्पदा सूचीमा परेको संरचना जोगाउन सरकारलाई ध्यान छैन । पहिले पनि त्यहाँ आगलागी भइसक्यो । फेरि सोही किसिमको घटना दोहोरिन सक्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । यत्तिका वर्ष बितिसक्दापनि कुनै कारबाही भएको छैन’, स्रोतले भन्यो । सो गुठी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।
पुरातत्व विभागले २०७६ भदौ ८ गते बौद्धनाथ संरक्षित स्मारक क्षेत्रभित्र व्यापारिक प्रयोजनले निर्माण गरिएको अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो । गुठीले स्तुपासँगैको फूलबारी चोकस्थित बौद्ध घ्याङ गुठीको जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस बनाउन खोजेको थियो । तर, पार्टी प्यालेसको सपना पुरा नभएपछि त्यहाँ गुठीले टहरा निर्माण गरेर बेच्न थाल्यो । यता, चिनियाँ लामा भूपतिलाई हटाउन जोडबल गरेको संस्थानले कुटपिटको अभियोग लागेकालाई अध्यक्ष बनाएपछि जानकारहरूले शंका व्यक्त गरेका छन् ।
खड्गजितले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको परिसरमा एक व्यक्तिमाथि कुटपिट गरेका थिए । त्यसपछि उनीविरुद्ध अपराधिक उपद्रवमा जाहेरी दर्ता भयो । उनले गल्ती स्वीकार गरेपछि तत्कालीन प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा समेतको रोहबरमा मिलापत्र गरी छुट्याइएको हो ।
खड्गजित दलाई लामा भक्त हुन् । उनी दलाई लामा उपस्थित कार्यक्रममा सहभागी हुन्छन् नै । अरुलाई समेत कार्यक्रममा जान आह्वान गर्दै उनले गुठीको लेटरप्याडमै पत्र काटेको भेटिएको छ ।
वि.सं.२०७३ को पुस १९ देखि माघ २ गतेसम्म भारतको बोधगयामा कालाचक्र वाङमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा दलाई लामा प्रमुख अतिथि थिए । उनले अरुलाई पनि सो कार्यक्रममा उपस्थित जनाउन भन्दै पत्र लेखेका थिए ।
(जनआस्था साप्ताहिकको बैशाख १६ गते बुधबारको अंकमा प्रकाशित)







