
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई ‘पतन हुँदै गरेको राष्ट्र’ भनेर टिप्पणी गरेका छन् ।
सीको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीको सो अभिव्यक्ति आफ्नो प्रशासनप्रति नभई जो बाइडेन नेतृत्वको अघिल्लो प्रशासनप्रति लक्षित भएको बताएका छन् ।
बिहीबार बेइजिङमा सीसँगको शिखर वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा यस्तो प्रतिक्रिया दिएका हुन् । “जब राष्ट्रपति सीले निकै शिष्टतापूर्वक संयुक्त राज्य अमेरिकालाई सम्भवतः एक पतन हुँदै गरेको राष्ट्रका रूपमा उल्लेख गर्नुभयो, उहाँले ‘स्लिपी’ (सुस्त) जो बाइडेनको चार वर्षीय कार्यकालमा हामीले भोगेको ठूलो क्षतिको सन्दर्भमा भन्नुभएको हो,” ट्रम्पले भनेका छन् ।
ट्रम्पले आफ्नो पोस्टमा बाइडेन प्रशासनका क्रममा अमेरिकाले खुला सिमाना, उच्च कर, सबैका लागि ट्रान्सजेन्डर नीति, महिला खेलकुदमा पुरुषहरूको सहभागिता, डीईआई (विविधता, समानता र समावेशिता), खराब व्यापार सम्झौता तथा अनियन्त्रित अपराधजस्ता समस्याको सामना गर्नुपरेको उल्लेख गरेका छन् ।
तर, त्यसपछि देशमा व्यापक परिवर्तन आएको दाबी गर्दै ट्रम्पले लेखेका छन्, “संयुक्त राज्य अमेरिका अहिले विश्वकै सबैभन्दा उत्कृष्ट राष्ट्र बनेको छ ।”
आफ्नो नेतृत्वमा भएको सुधारको उदाहरण दिँदै ट्रम्पले अमेरिकी सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको, इरानको सैन्य शक्ति कमजोर भएको तथा अन्य देशहरूबाट अमेरिकामा कीर्तिमानी १८ ट्रिलियन डलर लगानी आएको दाबी गरेका छन् ।
ट्रम्पले राष्ट्रपति सीले पनि यी उपलब्धिलाई स्वीकार गरेको बताएका छन् ।







