नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदी किनारमा भइरहेको तटबन्ध निर्माण कार्य भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अवरोधपछि रोकिएको छ।

स्थानीय जनप्रतिनिधि र सरोकारवालाका अनुसार आइतबार साँझ निर्माणस्थलमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी प्रवेश गरी काम रोक्न चेतावनी दिएपछि निर्माण कार्य स्थगित भएको हो।

सुस्ता गाउँपालिका–५ मा करिब १४ करोड रुपैयाँ लागतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत तटबन्ध निर्माण भइरहेको थियो। नारायणी नदीको कटान र बाढीजन्य जोखिमबाट बस्ती जोगाउने उद्देश्यले सुरु गरिएको उक्त परियोजना हाल करिब ८० प्रतिशत पूरा भइसकेको अवस्थामा रोकिएको बताइएको छ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि निर्माण कार्य रोकिएको पुष्टि गरेका छन्। उनका अनुसार आइतबार साँझ करिब ४० देखि ५० जनासम्म भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम तत्काल रोक्न चेतावनी दिएका थिए। “घटनापछि निर्माण कार्य अन्योलमा परेको छ,” उनले भने।

स्थानीय सरोकारवालाहरूले यो घटनालाई सुस्ता क्षेत्रको पुरानो सीमा विवादसँग जोड्दै व्याख्या गरेका छन्। ‘सुस्ता बचाउ अभियान’ का प्रतिनिधिहरूका अनुसार भारतीय सुरक्षाकर्मीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न दबाब दिएका हुन्।

अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले सीमा विवाद समाधानका लागि केवल प्रशासनिक छलफल पर्याप्त नहुने बताएका छन्। उनका अनुसार ऐतिहासिक नक्सा, अभिलेख र तथ्यका आधारमा दीर्घकालीन समाधान खोजिनुपर्छ। उनले स्थानीय, प्रशासन र केन्द्र सरकार सबैको सहभागितामा स्पष्ट सीमा निर्धारण आवश्यक रहेको बताए।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दीपक नेपालले निर्माणस्थलमा भएको गतिविधिबारे गृह मन्त्रालयलाई जानकारी गराइएको बताएका छन्। उनका अनुसार निर्माण कार्य भइरहेको स्थानभन्दा केही दूरीमा नयाँ ठेक्काअन्तर्गत काम सुरु गर्दा भारतीय पक्षले चासो देखाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रशासनले घटनाबारे नेपाल–भारत दुवै पक्षबीच छलफल गरी समाधान खोज्ने तयारी भइरहेको जनाएको छ। सुरक्षा निकायका अनुसार सोमबार भारतीय समकक्षीसँग पनि समन्वयात्मक छलफल गर्ने प्रयास भइरहेको छ।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा नियमित रूपमा हुने संयुक्त अनुगमनका क्रममा दुवै देशका सुरक्षा निकाय घटनास्थल पुगेका थिए र आवश्यक जानकारी संकलन गरिएको छ।

ऐतिहासिक रूपमा सीमा विवादको केन्द्रमा रहेको सुस्ता क्षेत्र नारायणी नदीको धार परिवर्तन र सीमास्तम्भको अभावका कारण लामो समयदेखि विवादित रहँदै आएको छ। स्थानीयका अनुसार नदी कटानका कारण सुस्ताको भू–भाग क्रमशः खुम्चिँदै गएको छ भने विभिन्न समयमा सीमा अतिक्रमणको आरोप–प्रत्यारोप पनि हुँदै आएको छ।

२०२२ सालतिर सरकारले करिब ४ सय परिवारलाई बसोबास गराएको यो क्षेत्रमा अहिले पनि बस्ती जोगाउने चुनौती कायम छ। स्थानीय बासिन्दाले तटबन्ध निर्माणलाई आफ्नो जीवन र जमिन जोगाउने महत्वपूर्ण परियोजना भन्दै तत्काल पुनः सुरु गर्न माग गरेका छन्।

यता, निर्माण कार्य रोकिएपछि स्थानीयवासीमा चिन्ता बढेको छ। उनीहरूका अनुसार वर्षायाम नजिकिँदै गर्दा काम रोकिँदा बाढी र कटानको जोखिम थप बढ्नेछ।

सरकारले भने सीमा विवाद र सुरक्षा संवेदनशीलता दुवै पक्षलाई ध्यानमा राख्दै कूटनीतिक माध्यमबाट समाधान खोजिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार